झाडापखालाले एकै परिवारका तीन जनाको मृत्यु

तीन दिन लगातार पखाला लागेका स्थानीय बुचन सदाका एक वर्षीय छोरा संजीव, बुचनका ६६ वर्षीय बुवा लक्ष्मण र ४ वर्षीया छोरी राघिनीको मृत्यु भएको हो ।

कार्तिक १५, २०८२

विद्यानन्द राम

Three members of the same family die of diarrhea

राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलमा दुई सातादेखि फैलिएको झाडापखालाका कारण एकै परिवारका दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको छ । झाडापखालाले टोलका एक दर्जनभन्दा बढी स्थानीय प्रभावित छन् । 

तीन दिन लगातार पखाला लागेका स्थानीय बुचन सदाका एक वर्षीय छोरा संजीवको अघिल्लो बिहीबार मृत्यु भएको हो । संजीवसँगै बुचनका ६६ वर्षीय बुवा लक्ष्मण, २६ वर्षीया पत्नी पार्वतीदेवी र ४ वर्षीया छोरी राघिनी पनि पखालाले ग्रस्त रहेकाले गाउँकै क्लिनिकबाट औषधि ल्याएर खाइरहेका थिए । तर, पखाला भने रोकिएको थिएन । 

‘संजीव र पार्वतीलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पनि लग्यौं तर संजीवको उपचार सम्भव छैन भन्दै चिकित्सकले बाहिर लैजान भने,’ संजीवका काका देवनन्दन सदाले भने, ‘दाजु (बुचन) पञ्जावमा हुनुहुन्थ्यो, भाउजूका माइतीले लहान लगेर उपचार गर्छु भन्न थाले ।’ लहानतिर जाँदै गर्दा संजीवको बाटोमै मृत्यु भएको देवनन्दनले बताए । उनीहरू घर फर्किंदा देवनन्दनका बुवा लक्ष्मण पनि पखालाका कारण सिकिस्त भइसकेका थिए । गत आइतबार उनको पनि दुई–तीन पटक वाकवाकी आएर मृत्यु भएको हो । 

‘दाजुले पठाएको १० हजार र मेरा दुईवटा मोबाइल बेचेर पहिला नै भाउजू र भतिजोको उपचारमा खर्च भइसकेको थियो,’ उनले भने, ‘बुवाको नागरिकता पनि बन्धकी राखेर उठाएको पैसा पनि खर्च भइसकेकाले बुवाको उपचार गराउन सकिनँ ।’ लक्ष्मणको किरिया सुरु भएको एक साता नबित्दै पखाला लागेकी राघिनीको पनि गत शुक्रबार मृत्यु भएको हो ।Three members of the same family die of diarrheaसप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोल । तस्बिरहरू : विद्यानन्द राम/कान्तिपुर

पञ्जावबाट फर्किएका बुचन किरियामा बसिरहँदा नै छोरीको पनि मृत्यु भएपछि विक्षिप्त छन् । उनकी ५ वर्षीया छोरी राधिका पनि झाडापखालाले प्रभावित रहँदा आर्थिक अभावका कारण उपचार गराउन सकेका छैनन् । बुचनका परिवारसहित टोलका शिवशंकर सदाकी छोरी १० वर्षीया करिना, कृष्णा सदाकी पत्नी २५ वर्षीया लिलमदेवी, छोरीहरू ३ वर्षीया गायत्रीकुमारी र ६ वर्षीया सुगन्धाकुमारी, ६० वर्षीय बौकु सदा लगायत एक दर्जनभन्दा बढी स्थानीय झाडापखालाले प्रभावित छन् ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्रप्रसाद यादवले झाडापखालाले मृत्यु भएको घटनाबारे शुक्रबार राति फेसबुकमार्फत मात्रै जानकारी पाएको बताए । ‘अनि बिहान हामीले सबै घर भिजिट गरेर औषधी वितरण गरेका छौं, झाडापखाला नै हो,’ उनले भने, ‘टोलमा सरसफाइको अभाव त छ नै, समयमा उहाँहरू स्वास्थ्य चौकीसम्म आउनु पनि भएन ।’ आइतबार विपद् व्यवस्थापनको बैठक राखेर जनचेतनामूलक लगायतका काम अघि बढाउने उनको भनाइ छ । 

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साहले झाडापखालाका बिरामीलाई ‘रेफर’ गरेको विषयमा जानकारी नरहेको बताए । ‘त्यस्ता बिरामीलाई रेफर नगर्नुपर्ने हो, त्यस विषयमा थप बुझ्दैछु,’ उनले भने । 

स्वास्थ्य कार्यालयका प्रमुख जागेश्वर खड्गाले गाउँपालिकाले आफूहरूलाई शनिबार दिउँसो मात्रै जानकारी गराएको बताए । ‘त्यो केसमा त्यहाँबाट भए गरेका कार्यको रिपोर्ट भने दिएको छैन,’ उनले भने, ‘रिपोर्ट आइसकेपछि हामीले त्यहीअनुसार सहयोग र सहकार्य गर्छौं ।’

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully