९ जना बिरामीको आरडीटीबाट हैजा परीक्षण गर्दा ३ जना पोजेटिभ ।
राजविराज — झाडापखालाले तीन जनाको मृत्यु भएको सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ सदा टोलमा हैजाको संक्रमण फैलिएको आशंका गरिएको छ ।
आइतबार साँझसम्म झाडापखालाका ९ जना बिरामीको स्टुल (दिसाको नमुना) संकलन गरी आरडीटी (र्यापिड डायग्नोस्टिक टेस्ट)बाट हैजा (कोलेरा भिब्रिओ कोलरी) परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको हो ।
आरडीटीबाट ३ जना पोजिटिभ देखिएपछि हैजा यकिन गर्नका लागि दिसाको नमुना प्रादेशिक ल्याब जनकपुर पठाइएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।
उनका अनुसार स्थानीय सुरज सदाकी ३ वर्षीय छोरा मनीष, शिवकुमार सदाका ७ वर्षीय छोरा अमन र सुबोध सदाकी ३० वर्षीया पत्नी रेखादेवी सदाको आरडीटी पोजेटिभ देखिएको हो । ‘तत्काल तीनै जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएका छौं,’ उनले भने, ‘हामी विपद् व्यवस्थापन समितिबाट निर्णय गरेरै स्वास्थ्य चौकी कोचाबखारी (लोखरम) मा २ जना र प्रभावित टोलमा २ जना गरी ४ जना स्वास्थ्यकर्मीलाई २४ सै घण्टा खटाउने निर्णय गरेका छौं ।’
टोलमा साबुन, नेल कटर, सेनिटाइजर लगायतका समान वितरण गरिएको छ भने ती वडाका विद्यालय पनि अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको अध्यक्ष चौधरीले बताए । तर, अझै केही स्थानीयले जनचेतना अभावका कारण स्टुल दिन नमानिरहेको उनले सुनाए ।
अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साहले झाडापखालाले ग्रस्त रहेका बिरामीको उपचार सुरु रहेको बताए । ‘अहिले तीनै जनाको अवस्था सामान्य छ, आत्तिनुपर्ने छैन,’ उनले भने ।
दुई साताअघि सुरु भएको झाडापखालाका कारण कार्तिक ६ गते स्थानीय बुचन सदाका १ वर्षीय छोरा संजीव, ११ गते उनका बुचनका बुवा ६६ वर्षीय लक्ष्मण र १४ गते बुचनकी ४ वर्षीया छोरी राघिनीको मृत्यु भएको थियो ।
बुचनकी ५ वर्षीया छोरी राधिका अझै झाडापखालाले ग्रस्त छन् भने शिवशंकर सदाकी छोरी १० वर्षीया करिना, कृष्णा सदाकी पत्नी २५ वर्षीया लिलमदेवी, छोरीहरू ३ वर्षीय गायत्रीकुमारी र ६ वर्षीया सुगन्धाकुमारी, ६० वर्षीय बौकु सदालगायत एक दर्जनभन्दा बढी स्थानीय झाडापखालाले प्रभावित छन् ।
गत शुक्रबार राति मात्रै त्यसबारे जानकारी पाएको गाउँपालिकाले शनिबार बिहान औषधि र जीवनजल वितरण गरेर आइतबार केहीको स्टुल संकलन गरी आरडीटी परीक्षण गराएको हो ।
