हैजा संक्रमण फैलिएको सदा टोल नै शौचालयविहीन

झाडापखालाले अझै ८० जना ग्रसित रहेको टोलमा एउटा पनि शौचालय छैन। त्यहाँका स्थानीयहरू छेउकै पोखरीको डिल र लुकीछिपी अर्काको खेतबारीमा शौच गर्न बाध्य छन् । तर अहिलेसम्म ९ जनाको मात्रै दिसा परीक्षण भएको छ।

कार्तिक १७, २०८२

विद्यानन्द राम

Entire village without toilets as cholera infection spreads

राजविराज — झाडापखालाले तीन जनाको मृत्यु भएको सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ को सदा टोल नै शौचालयविहीन रहेको खुलेको छ । अतिविपन्न ९० परिवारको बसोवास रहेको यहाँका ३३ वर्षीय बुचन सदाले झाडापखालाबाट आठ दिनको अन्तरमा परिवारका तीन सदस्य गुमाएका छन् ।

झाडापखालाले अझै ८० जना ग्रसित रहेको टोलमा एउटा पनि शौचालय छैन। त्यहाँका स्थानीयहरू छेउकै पोखरीको डिल र लुकीछिपी अर्काको खेतबारीमा शौच गर्न बाध्य छन् ।

महिलाले त झन् शौच गर्नका लागि एकाबिहानै उठ्नुपर्ने बाध्यता खेपिरहेकी छन् । ‘कहिलेकाहीँ उठ्न ढिलो हुँदा झाडी खोज्दै भौतारिनुपर्छ,’ २३ वर्षीया रानी सदाले दुखेसो सुनाइन् । बालबालिकाले घर छेउछाउमै शौच गर्छन् । भारतको पञ्जाब र मुम्बईमा कमाएर परिवारको गुजारा चलाउँदै आएका उनीहरूले आर्थिक अभावका कारण शौचालय बनाउन नसकेको ५० वर्षीय घुरन सदाले बताए ।

वर्षाको पानी निकास नहुँदा खानेपानीका लागि जडान गरिएका तीनमध्ये एउटा चापाकल अझै डुबानमा छ । बाँकी दुई वटा चापाकल पनि हिलाम्य छन् । त्यहीँ चापाकलबाट उनीहरू पानी पिउनेदेखि नुहाउने, लुगा धुने र भाँडा माझ्दै आएका छन् । टोलको साँघुरो बाटो हिलाम्य रहँदा हिँडडुल गर्न समस्या छ ।

टोलमा झाडापखालाले तीन जनाको मृत्यु भइसकेपछि गत शुक्रबार मात्रै थाहा पाएको गाउँपालिकाले साबुन, नेल कटर, सेनिटाइजरलगायतका सामग्री वितरण गरे पनि सरसफाइ भने अझै गराएको छैन । टोलका ठाउँठाउँमा फोहोर थुप्रिँदा दुर्गन्धित छ भने वर्षा रोकिएको दुई दिन भइसके पनि केहीका आँगन अझै धान रोप्न ठिक्क पारिएको खेतझैँ छन् ।

सदा टोलदेखि एक किलोमिटरकै दूरीमा रहेको स्वास्थ्य चौकी कोचाबखारी (लोखरम) मा बर्थिङ सेन्टरसम्म सञ्चालनमा त छ तर त्यहाँसम्मको बाटो हिलाम्य रहँदा एम्बुलेन्स पुग्ने अवस्था छैन । हिँडेर पुग्न पनि समस्यै छ ।

‘वार्षिक १८ जनालाई सुत्केरी गराउने हाम्रो लक्ष्य हो तर यहाँसम्म एम्बुलेन्स नआउँदा तीन महिनायता दुई जना मात्र सुत्केरी आउनुभएको छ,’ स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेब आलोक रञ्जन झाले भने ।

Entire village without toilets as cholera infection spreads

ऐलानी जग्गामा बसोबास गरिरहेका सदा समुदायले नै चन्दा संकलन गरेर २०६१ सालमा स्थापना गरेको श्री दलित राष्ट्रिय प्राथमिक विद्यालय लोखरमको अवस्था पनि बेहाल छ । त्यसअघि दुई वटा कोठामै बहुकक्षा (चार वटा कक्षा) सञ्चालन हुँदै आएको त्यहाँ ०८१ मा मधेश प्रदेश सरकारले दुई कोठे विद्यालय भवन बनाइदिए पनि अधूरै छ ।

कक्षा ४ सम्म पठनपाठन हुने त्यस विद्यालयमा सदा समुदायका १ सय ३४ जना बालबालिका अध्ययरत छन् । तर भवन बालमैत्री छैन भने त्यहाँ पनि शौचालय र चापाकल छैन । पुरानो विद्यालय भवनमा रहेको चापाकल पनि हिलाम्य छ । पाँच जना दरबन्दी रहेको त्यस विद्यालयमा राहत, पिसिएफ र बालविकासमा चार जना शिक्षक मात्रै छन् ।

वडा सदस्यसहित ५ जना बिरामी अस्पताल भर्ना

टोलका ८० जना झाडापखालाले प्रभावित हुँदा पनि अहिलेसम्म ९ जनाको मात्रै आरडीटी (र्‍यापिड डायग्नोस्टिक टेस्ट) भएको छ । तीमध्ये ४ जनामा हैजा (कोलेरा Vibrio cholerae) पोजिटिभ देखिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब दिपेन्द्रप्रसाद यादवले बताए ।

‘सरसफाइ र पानी परीक्षण लगायतका काम हामी भोलिदेखि सुरु गर्छौँ,’ उनले भने, ‘प्रभावितले दिसाको नमूना नदिँदा पनि आरडीटी गर्न समस्या भइरहेको छ । अहिलेसम्म हामीले २३ जनालाई बट्टा दिँदा पनि ११ जनाले मात्रै नमूना दिनुभएको छ, अहिले दुई जनाको टेस्ट गर्न बाँकी छ ।’

उनका अनुसार वडा सदस्य ६५ वर्षीया अरहुलियादेवी सदा र आरडीटीमा पोजिटिभ देखिएका सुरज सदाका ३ वर्षीय छोरा मनिष, शिवकुमार सदाका ७ वर्षीय छोरा अमन र सुबोध सदाकी ३० वर्षीया पत्नी रेखादेवी सदा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना छन् ।

पखाला लागेर सिकिस्त भएकी वडा सदस्य अरहुलियालाई आइतबार राति भर्ना गरिएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश साहले बताए ।

Entire village without toilets as cholera infection spreads

गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले पालिकाका अधिकांश सर्वसाधारण आर्थिक र सामाजिक रूपमा पछाडि परेका कारण सबै ठाउँमा शौचालय बनाउन नसकेको बताए । ‘पालिकाका धेरै क्षेत्रमा अझै शौचालय छैन,’ उनले भने, ‘पालिकाको एक्लो स्रोतले सबै ठाउँमा शौचालय बनाउन सकिँदैन । सबै क्षेत्रमा शौचालय बनाउनका लागि दातृ निकायसँग सहकार्य भइसकेको छ, अब बनाउँछौँ ।’

कार्तिक २ गतेबाट सुरु भएको झाडापखालाले ६ गते बुचनका एक वर्षका छोरा सञ्जीव, ११ गते ६६ वर्षीय बुबा लक्ष्मण र १४ गते ४ वर्षकी छोरी राघिनीको मृत्यु भएको थियो ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully