प्रदेश २ मा भएन कांग्रेसको वडा अधिवेशन

भाद्र १८, २०७८

श्यामसुन्दर शशि

जनकपुर — प्रदेश–२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडा अधिवेशन भएन । कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण हाललाई अधिवेशनको कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

कांग्रेसको घोषित निर्वाचन समय तालिका अनुसार भदौ १८ गते वडा अधिवेशन, २० गते पालिकास्तरीय अधिवेशन, असोज २ गते प्रदेश, ५ गते निर्वाचन क्षेत्र तथा १० गते जिल्ला अधिवेशन हुनुपर्ने हो । तर प्रदेश २ का ८ जिल्लासहित मुलुकका अन्य जिल्लाहरुमा समेत क्रियाशील सदस्यता सम्बन्धी विवादको कारण वडा अधिवेशन हुन सकेको छैन । 

काग्रेस धनुषाका सभापति गिरीका अनुसार धनुषामा नवीकरण सम्बन्धी विवाद नरहेपनि नयाँ सदस्यता सम्बन्धी विवाद छ । निर्वाचन क्षेत्र नम्बर १ र ४ को सदस्यता विवाद सुल्झाउन पूर्व राष्ट्रपतिका पूत्र तथा पूर्व सांसद चन्द्रमोहन यादव साउन ३ गतेदेखि १२ गतेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा अनशनसमेत बसेका थिए । अनशनमा क्षेत्र नम्बर–१ का पूर्वसांसद प्रेमकिशोर साहको पनि समर्थन थियो । 

पूर्व सांसद चन्द्रमोहन यादवले क्षेत्रीय सभापति जोगी पंजियार तथा कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवले ८ सय ८३ जनालाई केन्द्रीय परिपत्र तथा निर्देशिका विपरीत सदस्यता दिएको आरोप लगाएका छन् । कान्तिपुरसँगको फोन सम्पर्कमा उनले भने, ‘केन्द्रीय नेताहरुले सदस्यता विवाद यथाशिघ्र समाधान हुने प्रतिबद्धता व्यक्त गरेपछि अनशन तोडे तर हालसम्म समस्या समाधान भएको छैन ।’

कांग्रेस धनुषाका सभापति गिरीले जिल्लास्थित सदस्यता छानबिन समितिमा परेको उजुरीमाथि आवश्यक कारबाही गर्न केन्द्रीय समितिलाई लेखी पठाइएको जानकारी दिए । उनले भने, 'केन्द्रको परिपत्र आउने बित्तिकै निर्वाचनमा जान्छौं ।' 

कांग्रेस महाधिवेशन

श्यामसुन्दर

Link copied successfully