रौतहट — रौतहटमा कोरोना संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको समय ७ दिन थपेको छ । साउन २४ गतेबाट जारी भएको निषेधाज्ञा आज (आइतबार) सकिन्थ्यो । प्रशासनले भदौ ७ गतेसम्म निषेधाज्ञा थपेको हो ।
साउनको दोश्रो साताबाट कोरोना बढ्न थालेपछि संक्रमणको जोखिम कम गर्न भन्दै स्थानीय प्रशासनले २४ गतेबाट निषेधाज्ञा जारी गरेको थियो । यो अवधिमा पनि संक्रमित बढेकोले संक्रमण फैलिन नदिन निषेधाज्ञाको समय लम्ब्याएको प्रशासनले जनाएको छ । सुरक्षा समितिको बैठकले निषेधाज्ञाको समय बढाउने निर्णय गरेको हो । प्रशासनले आइतबार निषेधाज्ञाको समय थपेको जानकारी दिएको छ ।
भदौ १ गते सोमबार, बुधबार र शुक्रबार ३ दिन बिहान ६ बजेदेखि ९ बजेसम्म स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै अत्यावश्यक खाद्यान्न सामग्रीका पसल सञ्चालनको अनुमति दिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘मानिसको आवश्यकतालाई मध्यनजर गर्दै ३ दिन खाद्यान्न लगायतका समाग्री खरिद गर्ने समय दिएका छौं,’ उनले भने, ‘अब पनि सतर्कता अपनाएनौं भने संक्रमणको जोखिम बढेको बढ्यै र स्थिति भयावह हुन सक्छ ।’
प्रशासनले अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरेको छ । पछिल्लो एक सातामै संक्रमितको संख्या बढेर ९४ पुगेको छ । संक्रमित बढेसँगै बन्द गरिएका आइसोलेसनहरु पुुन: सञ्चालनमा ल्याइएको छ ।
रौतहटमा हालसम्म १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमतिमध्ये १ हजार ३ सय २७ जना निको भएर घर फर्किसकेका छन् ।
