महोत्तरीमा ९ सशस्त्र प्रहरीसहित १४ जनामा कोरोना पुष्टि

श्रावण २४, २०७७

सुनिता बराल

महोत्तरी — महोत्तरीमा शनिबार ९ सशस्त्र प्रहरीसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दिवास नगरपालिकाभित्रका ११ जना, औरही नगरपालिकाका २ र लोहरपट्टिको १ गरि जिल्लामा १२ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन गिरेन्द्र झाले बताएका छन् ।

बर्दिवास नगरपालिका-५ स्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीमा कार्यरत १ जना र सम्सीस्थित बीओपीमा कार्यरत ८ जना सशस्त्र प्रहरी र बर्दिवास-८ का २ व्यक्ति गरि बर्दिवासमा मात्रै ११ जनामा संक्रमण पुष्टि भएको बर्दिवास नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र कुमार चौधरीले बताए ।

प्रदेश–२ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रीको क्लोज कन्ट्याकमा रहेकाहरुको स्वाब संकलन गरि परीक्षण गरिएको हो । 

मन्त्री यादव सशस्त्र प्रहरी बल नेपाल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालयले साउन २० गते आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल प्रदेश–२ छिन्नमस्ता बाहिनीका डिआईजी  कृष्णभक्त ब्रम्हचार्यसहित प्रदेश नम्बर २ का ८ जिल्लाका सशस्त्र प्रहरीका एसपी सहभागी थिए । 

संक्रमित व्यक्तिलाई बर्दिवास ३ स्थित आइसोलेसनमा राखिएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिए । महोत्तरीमा कोरोना संक्रमितको संख्या ९ सय ४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully