जाडो बढेपछि रामग्रामले चोकचोकमा बाँड्यो नि:शुल्क दाउरा

दैनिक मजदुरी गर्ने तथा विपन्न वर्गका नगरवासीलाई लक्षित गर्दै रामग्राम नगरपालिकाले चोकचोकमा आगो ताप्न दाउरा उपलब्ध गराएको छ।

पुस ६, २०८२

नवीन पौडेल

As winter approaches, Ramgram distributes free firewood at every corner

परासी — दिनभर हुस्सु लाग्ने र जाडो बढ्न थालेपछि पश्चिम नवलपरासीमा रामग्राम नगरपालिकाले चोकचोकमा दाउरा वितरण गरेको छ ।

जाडोको कारण जनजीवन प्रभावित हुँदा कामका लागि घर बाहिर हिँड्नुपर्ने नगरवासीका लागि आगो ताप्न दाउरा वितरण गरिएको हो । नगरको मुख्य चोक, बजार क्षेत्र र मानिसको भिडभाड हुने स्थानमा आगो ताप्नका लागि निःशुल्क दाउरा वितरण गरिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । 

सार्वजनिक स्थानमा आगो ताप्न पाउँदा दैनिक मजदुरी गर्ने र विपन्न वर्गका स्थानीयलाई सहज हुने भएकाले नगरको १८ वटा वडाको सार्वजनिक स्थानमा दाउरा वितरण गरेको छ । स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले चोकचोकमा दाउरा वितरण गर्ने, विपन्न नागरिकलाई न्यानो कपडा प्रदान गर्ने निर्णय गरेपछि काम सुरु गरिएको हो । रामग्राम नगरपालिकाले अघिल्लो वर्ष पनि आगो ताप्न दाउरा वितरण गरेको थियो । 

पूर्वी र पश्चिम नवलपरासीमा शीतलहर बढेको छ । जसका कारण मुख्य राजमार्गमा हुस्सुले गर्दा सवारीसाधनले दिउँसै बत्ती बालेर हिँड्नुपर्ने बाध्यता छ । जाडो छल्नका लागि सर्वसाधारण चिया पसल र चोकमा आगो तापेर बस्ने रहेका छन् । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully