कृषिसँगै उद्योगतर्फ

नमुना खाद्यान्न कारखाना मात्रै सञ्चालनमा रहेको बर्दियामा नयाँ-नयाँ उद्योग स्थापनाको लहर

फाल्गुन ११, २०८०

कमल पन्थी

Along with agriculture, towards industry

बर्दिया — मुलुकमै धेरै खाद्यान्न उत्पादन हुने जिल्लामध्ये पर्छ– बर्दिया । जिल्लाको मुख्य सम्भावना नै कृषि र पर्यटन हो । पछिल्लो समय जिल्लाको परिचय फेरिने क्रममा छ । भौगोलिक रूपमा मुलुकको प्रशासनिक केन्द्रबाट टाढा रहेका कारण सधैं ओझेलमा पर्दै आएको बर्दिया पछिल्लो समय ठूला उद्योग रहेको जिल्ला बन्ने तरखरमा छ । 

राजापुरमा नमुना खाद्यान्न कारखाना सञ्चालनमा आएपछि यहाँको कृषि उत्पादनबारे बहस चलेको थियो । गाउँघरमै ठूलो मिल सञ्चालनमा आएपछि यहाँका स्थानीयले रोजगारी पाउनुका साथै धानको उचित मूल्य पाउँदै आएका छन् । उक्त मिल सञ्चालनपूर्व धान बिक्रीका लागि टाढा पुर्‍याउनुपर्ने र ढुवानीमा धेरै रकम खर्च हुने गरेको थियो ।

धानको उर्वर भूमि मानिएको बर्दियाको राजापुर क्षेत्रमा २०४५ माघमा राजा वीरेन्द्रले आधुनिक धान–चामल कारखानाको उद्घाटन गरेका थिए । करिब १५ करोड रुपैयाँको लागतमा जापानी सरकारको सहयोगमा उक्त कारखाना निर्माण भएको हो । करिब तीन लाख क्विन्टल क्षमता भएको कारखाना सञ्चालन भएको थियो । कारखाना स्थापना भएपछि यस भेगका किसानले धान खरिदबिक्री यहीँबाट गर्दै आएका छन् । तत्कालीन सशस्त्र माओवादी समूहले २०५९ सालमा कारखानामा बम विस्फोट गराई क्षति पुर्‍याएका थिए । शान्ति स्थापनापछि पुनः कारखाना सञ्चालनमा आएको हो । 

जिल्लामा अहिले ठूला उद्योग स्थापनाको लहर चलेको छ । सदरमुकाम गुलरियामा लुम्बिनी सेरामिक्सको जीभीटी टायल उद्योग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । झन्डै ४ अर्ब रुपैयाँको लागतमा यो उद्योग गुलरिया नगरपालिका–८, पशुहाट बजारको पूर्वतर्फ स्थापना भएको छ । दैनिक १० हजार स्क्वायर मिटर टायल उत्पादन गरिने लक्ष्य छ । साढे १२ बिघा क्षेत्रफलमा फैलिएको उद्योग वैशाखबाट सञ्चालनमा आउने बताइएको छ । 

Along with agriculture, towards industryयस उद्योगमा ३ सयभन्दा बढीले रोजगारी पाइरहेको उद्यागी श्याम खेतानले बताए । सदरमुकाम गुलरियामा स्थापित यस उद्योगबाट उत्पादित टायल नेपालभरि बिक्री गरिनेछ । यसबाहेक छिमेकी भारतीय बजारमा पनि बिक्री हुनेछ । यसबाट नेपाल टायलमा आत्मनिर्भर हुने अपेक्षा गरिएको छ । उद्योगमा खेतान समूह, सुब्रत धिताल लगायतले लगानी गरेका छन् ।

गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादवले गुलरियामा ठूला उद्योग स्थापनासँगै विकासको ढोका खुलेको बताए । ‘उद्योग थपिँदै गएपछि अब यहाँको मुहार नै फेरिने निश्चित छ,’ उनले भने, ‘टायल उद्योगका लागि चाहिने सहयोग गर्न हामी तयार छौं ।’ यहाँ बिस्तारै चिनी मिल लगायतका उद्योग पनि खोल्ने तयारी भइरहेको उनले बताए । जिल्लामा चौधरी ग्रुप (सीजी) ले चाउचाउ उद्योग स्थापना गरेर मुलुकको पश्चिमी क्षेत्रमा यहीँबाट वितरण गरिरहेको छ । सीजी फुड्स इन्टरप्राइजेज प्राइभेट लिमिटेडका नामबाट यहाँ उत्पादित वाईवाई र गोलमोल चाउचाउ लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पठाउने गरिन्छ । झन्डै आठ वर्षअघि बाँसगढी–४, पुष्पनगरमा जग्गा खरिद गरेर भवन निर्माण गरेको थियो । अहिले दैनिक साढे १५ हजार कार्टुन उत्पादन गरिरहेको उद्योगमा ३ सय २० जनाले रोजगारी पाएका छन् । यसैगरी बाँसगढी–४ मा रारा चाउचाउ उद्योग पनि सञ्चालनमा रहेको छ । यस उद्योगमा करिब २ सय जनाले रोजगारी पाएका छन् । नगरमा खुलेका दुई ठूला उद्योगका कारण केही हदसम्म स्थानीयले रोजगारी पाएको बाँसगढी नगरपालिकाका प्रमुख खड्गबहादुर खड्काले बताए ।

बर्दियामा पहिलो पटक ठूलो लगानीमा चिनी मिल स्थापना हुन थालेको छ । जिल्लाको राजापुर नगरपालिका–५ बदालपुरमा करिब २ अर्बको लगानीमा चिनी मिल निर्माणको काम सुरु भएको छ । राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले उद्योगसम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण सार्वजनिक सुनुवाइपछि चिनी मिल निर्माणको काम सुरु गरेको छ । बर्दियाको राजापुरमा धान उत्पादन हुने क्षेत्रमा चिनी कारखाना खुल्न थालेपछि स्थानीय किसान खुसी भएका छन् । थोरै लगानीमा बढी आम्दानी हुने भन्दै किसानले उखु खेती लगाउन थालेको स्थानीय उर्मिला चौधरीले बताइन् । यस वर्ष मात्रै करिब २ सय बिघा क्षेत्रफलमा उखु लगाउन थालिएको उनले बताइन् ।

यहाँका परम्परागत धान खेती गर्ने किसान उखु खेतीतर्फ आकर्षित भएका छन् । करिब १८ बिघा क्षेत्रफलमा फैलिएको चिनी मिलले २०८१ फागुनबाट उत्पादन सुरु गर्ने कारखानाका प्रशासन फाँटका प्रमुख इन्द्रप्रसाद ढकालले बताए । राजापुर नगर र गेरुवा गाउँपालिकामा १६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । चिनी कारखाना खुलेपछि स्थानीयमा खुसी छाएको राजापुर नगर प्रमुख दीपेश थारूले बताए । ‘जिल्लामा औद्योगिक विकास सुस्त भइरहेका बेला यस्ता उद्योग खुल्दा खुसी लाग्नु स्वाभाविक हो,’ उनले भने, ‘अब स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना भई सर्वसाधारणको जीवनस्तरमा पनि सकारात्मक परिवर्तन आउनेछ ।’

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully