गाउँ-नगरको विकास नै पहिलो प्राथमिकता 

फाल्गुन ११, २०८०

कान्तिपुर संवाददाता

Development of villages and towns is the first priority

बर्दिया — लुम्बिनी प्रदेशको पश्चिम किनारामा रहेको सीमावर्ती बर्दिया जिल्ला विविधतापूर्ण पर्यटन, कृषि, प्रकृति, संस्कृतिले भरिपूर्ण छ । यहाँ थारु, मधेशी र पहाडी समुदायको बसोबास छ । सयौं बिघा खेतीयोग्य जमिन रहेको बर्दियाका अधिकांश बासिन्दा खेतीपातीमा निर्भर छन् । यसबाहेक पर्यटन व्यवसायलाई स्वरोजगारको माध्यम बनाइएको छ ।

जिल्लाका आठवटै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले यिनै सम्भावना समेटेर विकास निर्माणलाई प्राथमिकता दिएको बताएका छन् । बर्दियाका सम्भावना र विभिन्न पालिकाले सञ्चालन गरिरहेका कार्यक्रमबारे कान्तिपुरले संकलन गरेको जनप्रतिनिधि र सरोकारवालाको आवाज :

‘द्वन्द्वपीडितको हितलाई ध्यान दिएका छौं’

Development of villages and towns is the first priorityदीपेश थारु 

प्रमुख, राजापुर नगरपालिका 

राजापुर नगरपालिकामा शिक्षा, स्वास्थ्य, विकास निर्माण, नदी कटानको समस्या छ । सिकलसेल पनि यहाँको अर्को समस्या हो । यस रोगबारे चेतना जगाउन कक्षा ९ र १० का लागि पाठ्यक्रम तयार पारेर लागू गरिएको छ । बहुप्राविधिक शिक्षालय निर्माणको तयारीमा छौं । स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर राजापुरमा झन्डै ११ करोडको लागतमा अस्पताल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ ।

नगरभित्र चालू वर्षमा मात्रै ४ किमि कालोपत्र, २० किमि ग्राभेल र १० किमि कच्ची सडक निर्माण गरिएको छ । माओवादी सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका परिवारलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएका छौं । बेपत्ता पारिएका परिवारलाई मासिक २ हजार रुपैयाँ भत्ता उपलब्ध गराएका छौं । द्वन्द्वपीडित झन्डै ४ सय जनाले रोजगारीका लागि तालिम लिइरहेका छन् । भूमिहीनका लागि जग्गाधनी पुर्जा वितरण गरेका छौं । कर्णाली नदीमा पर्यटकका लागि मोटरबोट सञ्चालमा ल्याएका छौं । २०२४ सालमा कोरिया सरकारले पशु र कृषिमा लगानी गर्ने भएको छ । 

‘पर्यटन पूर्वाधारमा लगानी’

Development of villages and towns is the first priority

तेजबहादुर भाट

प्रमुख, मधुवन नगरपालिका

मधुवन नगरपालिकाअन्तर्गत खाता जैविक मार्गको खाता, भगरेया, पत्थरबोझी, डल्ला, कोठियाघाट लगायत क्षेत्र पर्यटकीय स्थलका रूपमा विकसित भइसकेका छन् । अहिले यी स्थान सडक सञ्जालसित जोडिँदै गएपछि पर्यटकीय गन्तव्य बनेका हुन् । खाता जैविकमार्ग भएका कारण बाघ, हात्ती, गैंडालगायत वन्यजन्तु ओहोरदोहोर गर्छन् । १ हजार १५ मिटर लामो पुल कोठियाघाट निर्माण भएको छ ।

पुल बनेपछि बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिने सबैभन्दा छोटो सडक यही बनेको छ । अहिले पर्यटकको रोजाइ खाता जैविक मार्ग बनेको छ । डल्ला होमस्टे स्वदेशी र विदेशी पर्यटकको गन्तव्य बन्दै गएको छ । मधुवन नगरपालिकामा बबई सिँचाइ आयोजनाले निर्माण गरिरहेको नहरले किसान लाभान्वित भएका छन् । नहरको पानीले किसानका खेत सिञ्चित भइरहेका छन् । नगरले कृषि विश्वविद्यालय निर्माणको योजना पनि अघि सारेको छ ।

‘एक वडा एक कृषि प्याकेज’

Development of villages and towns is the first priority

खड्गबहादुर खड्का

प्रमुख, बाँसगढी नगरपालिका

कृषिलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेका छौं । कृषि उत्पादन बढाउन यस पालिकाले चालु आवमा ‘एक वडा एक कृषि प्याकेज कार्यक्रम लागू गरेको छ । किसानलाई शत प्रतिशत अनुदानमा पशु तथा बाली बिमा कार्यक्रम ल्याइएको छ । कृषकको सहजताका लागि सेवा केन्द्र स्थापना गरेर घरदैलोमै सेवा प्रदान गरिएको छ । ‘उत्पादन हातमा अनुदान साथमा’ कार्यक्रमअन्तर्गत सुत्केरी पशुभत्ता लगायत पशुपन्छी पालनमा अनुदान कार्यक्रम अघि सारिएको छ । पालिकामा १५ शय्याको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । नगरभित्र चालू वर्षमै ५ वटा झोलुंगे पुल निर्माण सम्पन्न गरिएको छ । चालु वर्षमा ८ किमि सडक कालोपत्र भएको छ । एक छोरी एक बैंक खाता सञ्चालन गरिएको छ ।

‘पालिकामा विद्युतीय तारबार’

Development of villages and towns is the first priorityलक्ष्मीकुमारी चौधरी 

उपाध्यक्ष, गेरुवा गाउँपालिका

प्रशस्त उर्वर भूमि रहेको यहाँका बासिन्दा कृषिमा निर्भर छन् । तर, वन्यजन्तुका कारण यहाँका किसानले आफ्नो उत्पादन उल्लेख्य मात्रामा भित्र्याउन पाउँदैनन् । पालिकाका ६ वटै वडा निकुञ्जबाट आउने वन्यजन्तुका कारण प्रभावित छन् । वन्यजन्तुकै कारण यहाँ बर्सेनि धनजनको ठूलो क्षति हुँदै आएको छ ।

पालिकाले वन्यजन्तु संरक्षणसँगै मानव बस्ती सुरक्षित राख्न निकुञ्जसँग जोडिएको ३५ किमि क्षेत्रमा विद्युतीय तारबार (मेसवार) लगाएको छ । विद्युतीय तारबारपछि विगतको तुलनामा अहिले वन्यजन्तु प्रवेश केही मात्रामा कम भएको छ । चालु आवमा यहाँ १४ किमि सडक कालोपत्र भएको छ । शिक्षा र स्वास्थ्यलाई यस पालिकाले पहिलो प्राथमिकतामा राखेको छ । ६ वटै वडामा सामुदायिक स्वास्थ्य केन्द्र, तीन वटा वर्थिङ सेन्टर सञ्चालनमा छन् । 

‘प्राथमिकतामा सडकदेखि विद्यालय’

Development of villages and towns is the first priorityमुक्तिनाथ यादव

प्रमुख, गुलरिया नगरपालिका

नगर र गाउँ क्षेत्रलाई सुविधासम्पन्न बनाउने लक्ष्यसहित काम अगाडि बढाइरहेका छौं । नगरका १२ वटै वडा कार्यालयसम्म पुग्ने पक्की सडक निर्माण भएका छन् । सबै वडामा विद्युत्को पहुँचमा पुगेका छन् । बाढी प्रभावित क्षेत्रमा निर्माणको कामलाई प्राथमिकता दिएका छौं । विगत ६ वर्षको अवधिमा कच्ची, ग्राभेल र पक्की गरी झण्डै ८० किमि सडक निर्माण भएको छ । हरेक वडामा स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ ।

विद्यालय भवन निर्माण गरिरहेका छौं । कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गरेका छौ । गुलरियामा नेपालकै ठूलो टायल उद्योग स्थापना भइरहेको छ । गुलरियामा सम्भावना भएका उद्योग स्थापनाका लागि उद्योगीसँग छलफल भइरहेको छ । कृष्णसारको वासस्थान रहेको गुलरियामा धेरै आन्तरिक पर्यटक भित्र्याउने योजना छ । करिब ३ करोडको लागतमा निर्माण गरिएको आधुनिक डम्पिङ साइटमा दैनिक दुईवटा ट्रयाक्टरले फोहोर संकलन गरी व्यवस्थापन गरिरहेका छन् । 

‘बोलेका काम गरेर देखाउने छौं’ 

Development of villages and towns is the first priority

तिलकराम लम्साल

प्रमुख, ठाकुरबाबा नगरपालिका 

धान र गहुँ उत्पादनमा पालिका आत्मनिर्भर छ । हामीले निःशुल्क शिक्षालाई प्राथमिकतामा राखेका छौं । निःशुल्क शिक्षा कार्यान्वयन, तहगत शिक्षा दरबन्दी मिलान र शैक्षिक बैंक स्थापना गरेका छौं । यहाँका वर्थिङ सेन्टरमा एसी जडान गरिएको छ । दुई जना मेडिकल अधिकृतसहितको २४ घण्टे इमर्जेन्सी स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।

चारवटा आईसीयू सेवासहित २३ बेडको उपचार कक्ष, सिकलसेल र टीबी जाँचका लागि आवश्यक उपकरण, भेन्टिलेटरसहितको सर्पदंश उपचार सेवा र ३ वटा एम्बुलेन्स सेवा सञ्चालनमा छन् । नगरवासीलाई नगरभित्रै रोजगारी सिर्जना गरी आर्थिक विकासमा जोड्न १२ महिना खेती गर्ने उपकरण र प्राविधिक सहयोगसहित वाली प्रबन्ध कार्यसमेत सुरु गरिएको छ । विपन्न नागरिकका लागि आफ्नै सुरक्षित घरका लागि साझेदारीमा ४ सय १३ घर निर्माण गरिएको छ । चालू आर्थिक वर्ष १० किमि पक्की, २० किमि ग्राभेल र ५ किमि कच्ची सडक निर्माण भइसकेको छ ।

‘युवा लक्षित कार्यक्रम ल्यायौं’

Development of villages and towns is the first priorityअर्जुन सुवेदी

प्रमुख प्रशासकीय अधिकृत

बढैयाताल गाउँपालिका

माछा र मकैको हव बन्दै गएको यस क्षेत्रमा पालिकाले १२ करोड रुपैयाँ लगानी गरेको छ । शिक्षा क्षेत्रमा मात्रै वार्षिक ३५ करोड रुपैयाँ खर्च भइरहेको छ । पालिकाभित्र १२ कक्षासम्म निःशुल्क शिक्षा दिइएको छ । युवा लक्षित रोजगारीका कार्यक्रम सुरु भएका छन् । जीर्ण ताल, तलाउ र मठमन्दिर पुनःनिर्माणको काम सुरु भएको छ ।

तीन वर्षभित्र बढैयातालका आवश्यक भौतिक संरचनालगायतका काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । २ सय हेक्टर सीमसार क्षेत्र अहिले खुम्चिँदै १ सय ४ हेक्टरमा सीमित भएको छ । यसको रोकथामका लागि पनि काम भइरहेको छ । पालिकाले अहिलेसम्म ४० किमि कालोपत्र, ५२ किमि ग्राभेल र २० किमि कच्ची सडक निर्माण गरेको छ । पालिकाका ९ वटै वडालाई सडक सञ्जालले जोड्ने काम भएको छ । गुरुयोजनाअनुसार बढैयाताल पुनःनिर्माणको काम सुरु गरिएको छ । पालिकाका सबै वडामा विद्युत् पहुँच पुर्‍याउने काम भइरहेको छ ।

‘मानव–वन्यजन्तु द्वन्द्व कम गर्ने उपायको खोजी’

Development of villages and towns is the first priority

अजित तूम्बाहाम्फे

प्रमुख, बर्दिया राष्ट्रिय प्रकृति संरक्षण कोष

बाघको संख्या बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणका लागि मानव–वन्यजन्तु द्वन्द्व चुनौतीका रूपमा देखिएको छ । यस्तो समस्यापछि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण विभाग र बर्दिया राष्ट्रिय निकुञ्जसित समन्वय र सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले क्यामरा ट्यापिङ र नियमित अनुगमन गरी द्वन्द्वको अनुसन्धान गरेको छ । स्थानीय बासिन्दा वनमा निर्भर छन् ।

सीमान्तकृत क्षेत्रका बासिन्दाले अँगालेको परम्परागत खेतीलाई परिवर्तन गर्न नसके मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण गर्न सकिँदैन भन्ने बुझेर व्यवहार परिवर्तन अभियान सुरु गरिएको छ । दुई वर्षअघि यहाँका १९ जना स्थानीय युवालाई विभिन्न तालिम, क्षमता अभिवृद्धि केन्द्रित कार्यक्रम सञ्चालन गरिएको थियो । सीमान्त क्षेत्रका स्थानीय समुदाय, गोठालाहरू र दाउरा संकलकलाई यसमा केन्द्रित गरिएको थियो ।

‘समस्या समाधान गर्न मुलुक चनाखो हुन जरुरी’

Development of villages and towns is the first priority

देवेन्द्रप्रसाद पाण्डे

अध्यक्ष, गुलरिया उद्योग वाणिज्य संघ

सरकारी निकायले नेपाल–भारत सीमा नाकामा कडाइ नगर्दा यहाँ तस्करी मौलाएको छ । सीमासँग जोडिएको भारतको लौकाही र बलैगाउँ बजारबाट खुलेयाम राजस्व नतिरी सामान भित्रिइरहेको छ । यसले गर्दा गुलरिया लगायत सीमावर्ती बजारमा व्यापार सेलाएको छ । एक महिनायता गुलरियाबाट मात्रै दुई दर्जनभन्दा बढी व्यवसायी पलायन भएका छन् । यहाँका सटर दिनप्रतिदिन बन्द हुँदै गएका छन् ।

आर्थिक मन्दीका कारण यहाँका इँटाभट्टा लगायत उद्योग नराम्रो गरी धराशायी हुँदै गएका छन् । यसबाट खास गरी निर्माण व्यवसायी मर्कामा परेका छन् । बैंक ऋणले उद्योगीहरू घरजग्गा लिलाम हुने अवस्थामा पुगेका छन् । यसको समाधान गर्न मुलुक चनाखो हुन जरुरी छ । यहाँ सानाठूला गरी झन्डै २५ वटा उद्योग रहेका छन् । गत वर्ष मात्रै यहाँ ४ करोड रुपैयाँको लगानीमा टायल उद्योग सञ्चालनमा आएको छ । उद्योग दर्ता, नवीकरण सिफारिसजस्ता काम उद्योग वाणिज्य संघमार्फत भए जिल्लामा आयस्रोत पनि बढ्नेछ ।

प्रस्तुति : कमल पन्थी/बर्दिया

कान्तिपुर

Link copied successfully