शाैचालय गएका वृद्धको खोलाले बगाएर मृत्यु

श्रावण २८, २०८०

दुर्गालाल केसी

दाङ — दाङमा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–११ झमरेका ६४ वर्षीय तिलकराम बिकको आइतबार पत्रे खोलाले बगाएर मृत्यु भएको हो । 

बिहान पत्रेखोला किनारमा शौच गर्न गएका बिक बगाएर वेपत्ता भएका थिए ।

निकैबेरसम्म घर नफर्केपछि परिवारका सदस्यहरु खोज्न जाँदा खोला किनारमा छाता, चस्मा र लट्ठी फेला परेको थियो । 

प्रहरीले खबर पाएपछि जिल्ला प्रहरी कार्यालय लगायत विभिन्न प्रहरी इकाईबाट खटिएका प्रहरीले खोजतलास सुरु गरेका थिए ।

खोज्दै जाँदा करिब ७ किलोमिटर तल घोराही–९ तेघरास्थित हापुर खोला किनारमा बिक मृत फेला परेको प्रहरी निरीक्षक मीरा खड्काले बताइन् ।

बाढीपहिरो

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully