आफ्नो राजीनामाबारे शर्माद्वारा संसद्मा जानकारी

असार २०, २०७८

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेश सरकारको राज्यमन्त्रीबाट राजीनामा दिएकी जनता समाजवादी पार्टीकी सांसद सुमन शर्मा रायमाझीले लुम्बिनी प्रदेशसभालाई सरकारबाट राजीनामा दिएको जानकारी गराएकी छन् ।

प्रदेश सभा सचिवालयलाई आइतबार पत्र पठाउँदै  मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई आफ्नो समर्थन नरहेको जानकारी गराएकी हुन् ।

आफू दल र पार्टीको निर्णय विपरीत पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको तर हाल राज्यमन्त्री पदबाट राजीनामा दिई विपक्षमा रहने निर्णय गरिसकेको उनले सचिवालयलाई लेखेको पत्रमा उल्लेख गरेकी छन् । 

अब जनता समाजवादी पार्टीको मूलधारमा रही पार्टी संसदीय दलका नेता सहसराम यादवको नेतृत्वमा काम गर्ने र पोखरेल नेतृत्वको सरकारलाई कुनै किसिमको समर्थन नरहेको उनले बताइन् । रायमाझीले शुक्रबार राज्यमन्त्रीबाट राजीनामा दिएकी थिइन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully