लुम्बिनी प्रादेशिक अस्पतालमा ज्वरो र श्वासप्रश्वासमा समस्या नभएका संक्रमितलाई नराखिने

जेष्ठ ६, २०७८

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले ज्वरो र श्वासप्रश्वासमा समस्या नभएका संक्रमित बिरामीलाई अस्पतालमा नराख्ने भएको छ । अस्पतालले बिहीबार कोभिड–१९ प्रबन्ध प्रोटोकल जारी गर्दै यस्तो जनाएको हो ।

अस्पतालमा भर्ना भएका बिरामीमा पनि ३ दिनयता ज्वरो नआउने, छाती र श्वासप्रश्वासमा समस्या नदेखिए डिस्चार्ज गर्ने अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दुप्रसाद पाठकले बताए । उनका अनुसार अब पीसीआर पोजेटिभ भएपनि अक्सिजन नर्मल र श्वासप्रश्वास २४ भन्दा कम भए बिरामीलाई डिस्चार्ज गरिने छ । यस्तै, लक्षण नभएका बिरामीलाई १० दिनपछि पीसीआर गरिने छैन । प्रोटोकलमा बिरामीको अवस्था, उपचार, खाने औषधि र अपनाउनु पर्ने तरिकालाई समेत समेटिएको छ । 

कोभिडको जोखिम बढिरहेको बेलामा उपचारमा सहजता ल्याउन र अस्पतालको क्षमता अनुसार उपचार गर्न कोभिड प्रबन्ध प्रोटोकल बनाएको र त्यस अनुसार डा. पाठकले बताए । ‘अब फिभर क्लिनिक र आकस्मिक कक्षमा आएका बिरामीलाई लक्षण हेरेर मात्रै भर्ना गरिने छ । नत्र परामर्श दिएर बिदा गरिने छ,’ उनले भने, ‘यसले महामारीमा जटिल खालका बिरामीलाई उपचार सेवा दिन र मृत्युदर घटाउन सकिने छ ।’ 

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully