पाल्पा — रिब्दीकोट गाउँपालिका–२ देउरालीका ७२ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गत कात्तिक २५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
निमोनिया र उच्च रक्तचापको समेत समस्या रहेको रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । योसँगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ३ सय ४४ पुगेको छ । संक्रमितमध्ये एक हजार ९४ जना निको भएर घर फर्किएका छन् । समुदायमा ३ सय बढी र ६७ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
