कोरोना नियन्त्रणमा प्रदेश सरकार संवेदनहीन : कांग्रेस

भाद्र २१, २०७७

सन्जु पौडेल

तिलोत्तमा — प्रदेश ५ सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका विषयमा अकर्मण्य र संवेदनहीन बनेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आरोप लगाएको छ । कांग्रेसले कोरोना संक्रमण नियन्त्रण गरी नागरिक जीवन सहज पार्ने विषयमा प्रदेश सरकारको अल्पकालीन र दीर्घकालीन योजना पनि मागेको छ । 

कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले मुख्यमन्त्री शंकर पोखरेललाई ध्यानाकर्षण पत्र पठाउँदै प्रदेश सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति समयमै गम्भीर नहुँदा संक्रमण नियन्त्रण भन्दा बाहिर जान थालेको र नागरिक जीवन अत्यन्त संकटमा परेको उल्लेख गरेका छन् । 

प्रदेश सरकार दिशाविहीन र योजनाविहीन बनेका कारण आर्थिक–सामाजिक संकट चुलिंदै गएको र संक्रमण बढ्ने क्रम कम नभएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । विभिन्न जिल्ला र पालिकामा गरिएको निषेधाज्ञा ठोस अध्ययनका आधारमा नभइ हचुवामा गरिएको भन्दै कोरोना नियन्त्रणमा अन्य तयारीको अभावमा सरकार केवल लकडाउन र निषेधाज्ञामा निर्भर बनेको पत्रमा उल्लेख छ ।

त्यस्तै, प्रदेशका धेरै ठाउँमा समुदायस्तरमा समेत संक्रमण फैलिएको भन्दै कांग्रेसले निषेधाज्ञा लगाउने वा नलगाउने निर्णय स्थानीय प्रशासनले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाएको छ । 

‘हामी सरकारको यस्तो संवेदनहीनता र निष्क्रियताको घोर निन्दा गर्छौं । साथै, तत्काल कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकको आर्थिक सामाजिक जीवनमा देखा परेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न फेरि पनि माग गर्दछौं’ कांग्रेसको विज्ञप्तिमा भनिएको छ । कांग्रेसले हरेक अस्पतालमा कोरोना संक्रमित बिरामी राख्ने कुरा व्यवहारिक नभएकोले तत्काल निश्चित निजी अस्पताललाई कोरोना अस्पताल घोषणा गर्न माग गरेको छ ।

अस्पतालमा आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता र भेन्टिलेटरको तत्काल व्यवस्था गर्न, संक्रमणको सर्भिलेन्स र ट्रेसिङको आधारमा संक्रमणको सम्भावना धेरै भएका स्थानमा पिसीआर परिक्षणलाई व्यापक बनाउन पनि कांग्रेसले माग गरेको छ ।

प्रदेशभर आवश्यक मात्रामा आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गर्न, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले पाउनुपर्ने जोखिम भत्ता समयमा नै उपलब्ध गराउन पनि कांग्रेसले माग गरेको छ । किसानलाई रासायनिक मल समयमै उपलब्ध गराउन पनि कांग्रेसले माग गरेको छ ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully