कोरोना संक्रमितको उपचारका लागि भेरी अस्पतालमा प्लाज्मा थेरापी सुरु

भाद्र १५, २०७७

रुपा गहतराज

नेपालगन्ज — बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर बिरामीहरुको उपचारका लागि प्लाज्मा थेरापी सेवा सुरु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडाका अध्यक्ष प्रमोद रिजालले रगत दान गरेपछि अस्पतालमा बिरामीहरुका लागि यो सेवा सुरु भएको  भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट फिजिसियन तथा भेरी अस्पतालको  प्लाज्मा थेरापी विज्ञका रुपमा रहेका डाक्टर खगेन्द्र जंग शाहले बताए । ‘भेरीमा एक जना कोरोना संक्रमित गम्भीर हुनुन्छ । त्यो रगत उहाँलाई आज चढाउँछौं’, उनले भने ।

शाहका अनुसार कोरोनामुक्त भएर घर फर्केकाको १४ दिनपछि पीसीआर टेस्ट गरी रिपोर्ट नेगेटिभ आएकाहरुले प्लाज्मा थेरापीका लागि रगत दिन सक्नेछन् ।उनका अनुसार अहिले प्लाज्मा थेरापीका लागि रगत दिन चाहनेहरुको नामावली संकलन भइरहेको छ । ‘अहिलेसम्म दुई जनाले ब्लड दिइसक्नुभएको छ । अरु ब्लड डोनेटजस्तै यस्को लागि छुटै कुनै उपकरण नचाहिएपनि डायलासीस मेसिनबाट प्लाज्मा मात्र निकाल्ने मेसिन काठमाडौंबाहेक कतै छैन ।’, उनले भने ।

सरकारीतर्फ बाँकेको भेरी अस्पताल र निजीतर्फ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई प्लाज्मा थेरापीबाट संक्रमितको उपचार गर्न सरकारले अनुमति दिइसकेको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धनात्मक उपचार सुरु गरिएको हो ।

बाँकेमा दुई महिलासहित ६ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully