देवदह नगरपालिकामा मंगलबार राति १२ बजेदेखि लकडाउन

श्रावण २०, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको देवदह नगरपालिका मंगलबार राति १२ बजेदेखि अर्को निर्णय नहुँदासम्मका लागि लकडाउन हुँदैछ । नगरपालिकामा रहेकाे गरिमा विकास बैंकका कर्मचारीमा कोरोना देखिएपछि देवदह नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो ।

नगरपालिकाको आकस्मिक बैठकले मंगलबार मध्यरातिदेखि अर्को निर्णय नभएसम्मका लागि देवदह क्षेत्रमा अत्यावश्यक बाहेक पैदलयात्रीदेखि सवारीका साधन चल्न नदिने, कुनैपनि पेसा, व्यवसाय सञ्चालन नगर्नेसहितका निर्णय गरेको नगर प्रमुख हिराबहादुर केसीले जानकारी दिए । ‘अहिले तत्कालका लागि खाद्यान्न पसल समेत बन्द गर्ने निर्णय भएको छ’, उनले भने, ‘एम्बुलेन्स, दूध बोक्ने गाडी चल्ने छन् भने उद्योगधन्दा र अरु सबै व्यापार व्यवसाय पनि बन्द हुनेछन् ।’ उनका अनुसार अत्यावश्यक सेवा भने रोकिने छैनन् ।


उक्त बैंकमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंकका कर्मचारीसहित करिब २५ जना होम क्वानरेन्टाइनमा छन् । बैंकको लोन शाखामा कार्यरत ती कर्मचारी बिहीबार दिउँसो २ बजेसम्म काममा आएकाले त्यतिन्जेलसम्म उनको सम्पर्कमा आएका व्यक्तिहरुलाई सम्पर्कमा आउन नगरपालिकाले आह्वान समेत गरेको छ । ती कर्मचारीका परिवार, उनले सेवा लिएको मेडिकल, प्याथोलोजी, बैंकमा सेवा लिन आएका सेवाग्राही र बैंकका सहकर्मीसहित २५ जनाको पीसीआर परीक्षणका लागि तयारी भएको छ ।’ उनको सम्पर्कमा को को आए भन्नेबारे कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि नगरपालिकाको टिम खटिइसकेको र बुधबार बिहानसम्ममा यो काम सकिने नगरप्रमुख केसीले बताए । उनले पीसीआरको नतिजा के आउँछ त्यसपछि फेरि बैठक बसेर थप निर्णय गर्ने बताए ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully