कृष्णनगरबाट एम्बुलेन्स चढेर आएका थिए दाङका २ जना संक्रमित

तुलसीपुरका संक्रमित त्रिवि शिक्षण अस्पतालमा कार्यरत

जेष्ठ ३, २०७७

दुर्गालाल केसी

दाङ — शुक्रबार कोरोना संक्रमण पुष्टि भएका गढवा गाउँपालिका ४ र ५ का २३ र ३६ वर्षीय पुरुष कृष्णनगर हुँदै भारतबाट आएको खुलेको छ । उनीहरु कृष्णनगरमा ७ दिन क्वारेन्टाइनमा बसेर अन्तमा एम्बुलेन्समा गढवा आएका थिए ।

कृष्णननगरको क्वारेन्टाइनमा राम्रो बसाई नभएको भन्दै उनीहरुका परिवारले वडा कार्यालयमा निवेदन दिएपछि गाउँपालिकाको समन्वयमा गढवा उद्योग वाणिज्य संघको एम्बुलेन्सले उनीहरुलाई बुधबार गढवा ल्याएको थियो । उनीहरु पाँच जना सँगै एम्बुलेन्समा आएका थिए । तीमध्ये चार जना सँगै क्वारेन्टाइनमा छन् भने एकजना बंगलाचुली गाउँपालिकाका थिए । उनी पूर्व–पश्चिम राजमार्गको कालाकाटेमा ओर्लिएका थिए । उनी त्यहाँबाट कसरी घर पुगे भन्ने अझै खुलेको छैन ।

कृष्णनगरमा कोरोना परिक्षण नै नगरी उनीहरु गढवा आएका थिए । कृष्णननगरको क्वारेन्टाइनमा रहेका अन्य जिल्लाका मानिसहरुलाई पनि त्यसैगरी एम्बुलेन्सबाट घर पठाइएको संक्रमितहरुले बताएका छन् । गढवा आएपछि उनीहरुलाई घर जान नदिई सिधै क्वारेण्टाइमा राखिएको थियो । उनीहरु भारतको मुम्बई र गोरखपुरबाट फर्किएको गाउँपालिका अध्यक्ष सहजराज अहिरले बताए । उनीहरुको बिहीबार स्वाव संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रयोगशालामा परीक्षण गर्दा शुक्रबार पोजिटिभ रिपोर्ट आएको हो । 

गढवामा रहेको क्वारेन्टाइनमा उनीहरु बसेको भवनमा अरु आठ जना पुरुषहरु बसेका छन् । तीमध्ये सात जना भारतबाट र एकजना बर्दिया राजापुरबाट आएका थिए । उनीहरुको रिपोर्ट भने अझै आएको छैन । संक्रमितहरुलाई उपचारका लागि बेलझुण्डीस्थित कोरोना अस्पतालमा लगिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीकी उपकुलपति डा. संगिता भण्डारीले बताइन् । उनीहरुको अन्य को–कोसँग सम्पर्क भएको थियो भन्ने विस्तृत विवरण बुझ्ने क्रम जारी रहेको उनले बताइन् ।

हालसम्म बेलझुण्डीको कोरोना विशेष अस्पतालमा बिरामी नभएका कारण शुक्रबार मात्रै बाँकेको नरैनापुरबाट आठ जना कोरोना संक्रमित बिरामी ल्याएर राखिएको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका ७ का ३४ वर्षीय पुरुष भने काठमाडौंमा रहेका बेला कोरोना संक्रमण पुष्टि भएको हो ।  उनी शिक्षण अस्पताल महाराजगञ्जमा एक बिरामीको कुरुवा भएको खुलेको छ । उनी २० दिनअघि तुलसीपुर आएर फर्किएका थिए । उनलाई कसरी संक्रमण भयो भन्नेबारे भने स्पष्ट जानकारी आइसकेको छैन ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत कपिलवस्तुकी ७ वर्षीया बालिकालाई कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका स्वास्थ्य कर्मचारी र चिकित्सकहरुलाई क्वारेन्टाइनमा राखेर स्वाब परीक्षण गरिएको छ ।

कोरोना भाइरस

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully