तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शनिबारबाट आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत तिलोत्तमाले शंकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर निर्माण गरेको हो ।
नियमित प्रवाह हुँदै आएको सेवालाई वडा–२ को कार्यालयमा स्थान्तरण गरी स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टरको रुपमा तयार गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए । आइसोलेसन सेन्टरको लागि एक जना चिकित्सक र एक जना नर्स नियुक्त गरिएको छ, उनले भने, तत्काल दस बेड तयार गरिए पनि आवश्यकताको आधारमा थप दस बेड विस्तार गर्न सकिनेछ ।
बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शको आधारमा आइसोलेसन सेन्टर निर्माण गरिएको स्वास्थ्य चौकी इन्चार्ज केशव भट्टराईले बताए । ‘दस बेडको आइसोलेसन सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको छ,’ उनले भने, ‘सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ ।’ सेन्टरमा बिरामीको २४ सै घण्टा सेवा दिनेगरी स्वास्थ्यकर्मीको व्यवस्थापन हुने उनले बताए । तिलोत्तमा नगरपालिकाले आफ्नै स्रोतमा दुई जना चिकित्सक तथा एक स्टाफ नर्स नियुक्त गरेको छ भने दस वटा स्वास्थ्य संस्थामा झण्डै ८० जना कर्मचारी कार्यरत छन् । बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै ठाउँका बिरामीलाई सेन्टरमा राखेर उपचार गरिने डाक्टर संजोग पाठकले बताए । उनका अनुसार सेन्टरमा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु, मेट्रोन, कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाको सल्लाह—सुझावको आधारमा काम भइरहेको छ ।
तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण पूर्वतयारी अन्र्तगत शंकरनगरमैं क्वारेन्टाइन सञ्चालन गरिरहेको छ । हालसम्म क्वारेन्टाइनबाट ९९ जनाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ ।
