कास्कीमा ११ बजेसम्म ४० प्रतिशत मत खस्यो

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

कास्की — गण्डकी प्रदेशको राजधानी कास्की जिल्लामा स्थानीय तह निर्वाचनका क्रममा बिहान ११ बजेसम्म ४० प्रतिशत मत खसेको छ । 

निर्वाचन कार्यालय कास्कीले ११ बजेसम्म ४० प्रतिशत मत खसेको र मतदाता ठूलो संख्यामा मतदान केन्द्रमा लाइनमा उपस्थित रहेको जानकारी दिएको छ । 

निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले बिहान ७ बजेदेखि सुरु भएको मतदानमा बिहानैदेखि अधिकांश मतदान केन्द्रमा मतदाता खचाखच लामबद्ध भएको बताए । 

हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिँदै न्यौपानेले निर्वाचनमा सर्वसाधारणको उत्साहपूर्ण सहभागिता रहेको बताए । 

कुल ३३६ मतदान केन्द्र रहेको कास्कीका पाँच पालिकामध्ये पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ जना मतदाता छन् भने अन्नपूर्ण गाउँपालिकामा २० हजार ३४८ मतदाता छन् ।

त्यस्तै, माछापुच्छ्रे गाउँपालिकामा २० हजार ३१६, मादी गाउँपालिकामा १८ हजार ७८२ र रुपा गाउँपालिकामा १४ हजार ६७५ मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully