काठमाडौँ — पाँच दलीय गठबन्धनले बागी उम्मेदवारी तत्काल फिर्ता लिन र गठबन्धन बाहिरका दलहरूसँग गरिएका चुनावी तालमेल खारेज गर्न पार्टीका तल्ला कमिटीहरूलाई तीन बुँदे निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनमा आबद्ध पाँच दलहरूको बैठकले तीनबुँदे समझदारी गरेको हो ।
तीनबुँदे समझदारीमा दलको तर्फबाट महानगर र उपमहानगरको प्रमुख र उपप्रमुख पदमा दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । त्यस्तै, स्वतन्त्र उम्मेदवारी दर्ता गरेका पार्टी नेताहरूलाई पनि उम्मेदवारी फिर्ता लिन लगाउन पहल गर्ने समझदारी बनेको छ । पाँच दलीय गठबन्धन बाहिरका दलसँग कुनै तहमा तालमेल भएको अवस्थामा त्यसलाई खारेज गर्न निर्देशन सम्बन्धित दलले दिने निर्णय पनि भएको छ ।
पत्रमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।
