कांग्रेसलाई नवलपरासीमा पनि बागी मनाउन मुस्किल

वैशाख १६, २०७९

नारायण शर्मा

पूर्वी नवलपरासी — नवलपरासीका ५ वटामा पालिकाका मुख्य पदमा बागी उम्मेदवार बनेका कांग्रेसका असन्तुष्टलाई नाम फिर्ता लिन सहमत गराउन पार्टी नेतालाई हम्मेहम्मे परेको छ । 

केही उम्मेदवारले फिर्ता लिन सहमति जनाएका छन् भने केही छलफलमै बस्न मानेका छैनन् । मुख्य पदमा धेरै बागी बनेका उम्मेदवारलाई फकाउन नसक्दा कांग्रेसका नेताहरु सकसमा छन् ।

नवलपरासीका ५ वटा पालिकामा बागी उम्मेदवार बनेका कांग्रेसका ९ जनामध्ये केहीले शुक्रबार नाम फिर्ता लिन सहमति जनाएका छन् भने केही ठाउँमा फिर्ता लिने बारे छलफल चलिरहेको छ । फिर्ता लिने उम्मेदवारलाई पार्टीभित्रको जिम्मेवारी दिनै पर्ने अडान राखेपछि नेतृत्वले जवाफ दिन सकिरहेका छैनन् ।

कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिघिरेले कावासोतीमा कांग्रेसबाट मेयरमा बागी बनेका कमलराज गुरौ, नारायणपन्त र बालकृष्ण पाण्डेले उम्मेदवारी फिर्ता लिन सहमति जनाएको दाबी गरे ।

त्यसैगरी उपमेयरमा बागी बनेका गणेश पोख्रेलले भने दिउँसोसम्म फिर्ता लिएका छैनन् । उनीसँग पनि छलफल चलिरहेको कांग्रेसको भनाइ छ । मेयरबाट नाम फिर्ता लिन सहमत नारायण पन्तलाई कांग्रेसको जिल्ला सदस्यमा मनोनयन गरेको छ । फिर्ता लिन पार्टीको माथिल्लो तहमा मनोनय गर्नुपर्ने भएपछि जिल्ला समिति जम्बो बन्ने देखिएको छ । उम्मेदवारले मागेको पद दिन पर्ने बाध्यतामा जिल्ला नेतृत्व पुगेको छ  

त्यसैगरी हुप्सेकोटको अध्यक्षमा बागी उम्मेदवार बनेका त्यहाँका कांग्रेस गाउँ कमिटिका सभापति बलबहादुर रानाले पनि शुक्रबार उम्मेदवारी फिर्ता लिने यसअघि नै सहमति जनाइसकेका छन् । 

निर्वाचन कार्यालयका अनुसार बिनयी त्रिवेणी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षका बागी विष्णु ढकाल र उपाध्यक्षमा बागी बनेकी मिना रानाले पनि शुक्रबार ११ बजेसम्म फिर्ता लिएका छैनन् । त्यसैगरि बुलिंटारमा कांग्रेसबाट बागी बनेका चेसराम आले र उपाध्यक्षकी बागी मैना बिकले पनि फिर्ता लिएका छैनन् । बागीलाई खुसी पारेर उम्मेदवारी फिर्ता लिन लगाउन कांग्रेसले सबै पालिकामा जिल्ला नेताहरु खटाएको छ । अन्य दलबाट भने मुख्य पदमा बागी छैनन् ।

कांग्रेसका जिल्ला उपसभापति बालकृष्ण घिमिरेले कांग्रेसबाट बागी उम्मेदवारी दिएका सबैसँग छलफल चलिरहेको र साँझ ५ बजेसम्म सबैले फिर्ता लिने सहमति जनाएको दाबी गरे ।

'सबैले फिर्ता लिएर आधिकारीक उम्मेदवारको प्रचारमा जुट्नु हुन्छ भन्ने विश्वास छ,' घिमिरेले बताए 'उहाँहरुलाई पार्टीले मूल्यांकन गरेर निर्वाचनमा खटाउने छ ।' 

गठबन्धन रहेको गैंडाकोट, देबचुल नगरपालिकामा वडा तहसम्म बागी बनेका र पार्टी निर्णय विपरीत उम्मेदवारी दिएकाले शुक्रबार फिर्ता लिन लगाउने सहमति भएको घिमिरेको दाबी छ ।

स्थानीय तह निर्वाचन २०७९

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully