काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले वीरगन्ज महानगरपालिकाको मेयरमा पत्रकार गिरिश गिरीलाई उठाउने भएको छ । राप्रपाले शनिबार वीरगन्जसहित ४ महानगरको उम्मेदवारको टुंगो लगाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
लामो समयदेखि पत्रकारितामा सक्रिय गिरीले शताब्दीपुरुष सत्यमोहन जोशीको आत्मकथा र वीरगन्जमाथि एउटा गैरआख्यान पुस्तक लेखेका छन् । राप्रपाले मेयरमा उठाउने निर्णय गरेसँगै गिरीले नवीन वीरगन्जका लागि आफूले उम्मेदवारी दिने बताएका छन् ।
गिरीका बुवा गोपाल पनि यसअघि वीरगन्जमा मेयरमा मनोनीत भएका थिए । २०६० सालमा शाही शासनका क्रममा तत्कालीन राजा ज्ञानेन्द्रले गोपाल गिरीलाई वीरगन्जको मेयरमा मनोनीत गरेका थिए । त्यसको केही समयपछि माओवादीले उनलाई गोली हानी हत्या गरेको थियो ।
वीरगन्जमा यसपटक सत्ता गठबन्धन, एमाले-लोसपा र राप्रपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनबाट वीरगन्जमा जनता समाजवादी पार्टीले मेयर र कांग्रेसले उपमेयरमा उम्मेदवारी दिने भएका छन् । त्यस्तै एमालेले मेयरमा उम्मेदवारी दिँदा लोसपाले उपमेयरमा उम्मेदवारी दिने भएका छन् । केही दिनअघि मात्रै यसअघि जसपामा रहेका मेयर विजय सरावगी एमाले प्रवेश गरेका थिए । एमालेले सरावगीलाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
राप्रपाले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन र पोखरामा शंकर खराललाई उठाउने भएको छ ।
