कचनकवलमा राप्रपाविरुद्ध एमाले-कांग्रेस गठबन्धनको तयारी

वैशाख १०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — झापाको कचनकवल गाउँपालिकामा एमाले र कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) विरुद्ध गठबन्धनको तयारी गरेका छन्। गठबन्धनका लागि पहिलो चरणमा औपचारिक वार्ता सकिएको तर बिनानिष्कर्ष टुंगिएको नेपाली कांग्रेस कचनकवलका गाउँ सभापति तुलाराम अधिकारीले जनाए । ‘औपचारिक, अनौपचारिक वार्ता जारी छ तर टुंगोमा पुगिसकिएको छैन’,उनले भने,‘गठबन्धनको सम्भावना धेरै छ ।’

एमालेविरुद्ध देशैभर पाँच दलीय गठबन्धन चुनावी प्रतिस्पर्धामा ओर्लिरहेका बेला कचनकवलमा भने कांग्रेस र एमालेले राप्रपाविरुद्ध गठबन्धनको तयारी गरेका हुन् । 

अघिल्लो संघीय चुनावमा केपी शर्मा ओली र राजेन्द्र लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाविरुद्ध गठबन्धन गर्दा सिटौला पराजित भएका थिए । रापप्राको बलियो पकड रहेको कचनकवलमा यी दुई दलले गठबन्धन गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । 

अघिल्लो स्थानीय तह निर्वाचनमा राप्रपाले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडा अध्यक्ष र सदस्य जितेको थियो । यसपटक पनि जित दोहोर्याउने मनस्थितिमा रहेको राप्रपाविरुद्ध केन्द्रमै एमाले–कांग्रेसबीच गठजोड भएको बुझिएको छ । 

कचनकवलको अध्यक्षमा कांग्रेसका कालेन्द्रसिंह राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उम्मेदवार बन्दैछन् । राजवंशी २०७४ को चुनावमा राप्रपाका अञ्जार आलमसँग पराजित भएका थिए ।

राप्रपाले आलम र उपाध्यक्ष निमसरी राजवंशीलाई पुनः दोहोर्‍याउने निर्णय गरेको छ । नेपालकै होचो भूभाग कचनकवलमा मुस्लिम र आदिवासी समुदायको बाहुल्यता छ । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully