एमालेले महानगर र उपमहानगरका उम्मेदवार वैशाख १० मा चयन गर्ने

सबैको चित्त बुझाउने गरी सुझाव लिने र निर्णय गर्ने कुरा भएको छ - सचिव भट्टराई

वैशाख ८, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)ले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार वैशाख १० मा चयन गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको सचिवालय बैठकले सिफारिस भएर आएका नाममाथि चर्चा गर्दै थप छलफल गर्ने निर्णय गरेको हो । 

एमाले सचिव योगेश भट्टराईले सिफारिस भएका नाममाथि थप छलफल गर्नका लागि समय लिइएको बताए । उनले भने, '१० गते उम्मेदवार चयन गर्ने निर्णय भएको छ । आजको बैठकमा ६ महानगर र ११ वटा उपमहानगरपालिकाबाट आएका सिफारिसबारे सामान्य छलफल भयो ।'

एक पालिकाका लागि एकल उम्मेदवार सिफारिस भएका र अर्कोतिर एक पालिकाका लागि दुई वा दुईभन्दा बढी जनाको नाम सिफारिस भएकाले ती सबै नाममा छलफल गर्नका लागि समय लिने एमाले सचिवालयले निर्णय गरेको हो । एकल सिफारिस आएको अवस्थामा पनि तीभन्दा योग्य उम्मेदवार हुन्छन् कि भनेर थप छलफल गर्नका लागि १० गते चयन गर्ने निर्णय भएको भट्टराईले जानकारी दिए । उनले भने, 'सबैको चित्त बुझाउने गरी सुझाव लिने र निर्णय गर्ने भन्ने कुरा भएको छ ।'

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully