होली वाइन र राजावादीहरूको गठबन्धन प्रगतिशील होइन : दाहाल

वैशाख ५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले)को नेतृत्वमा रहेको गठबन्धन प्रगतिशील नभएको बताएका छन् । उनले एमाले नेतृत्वमा राप्रपा, नेपाल, नेपाल परिवार दललगायतको गठबन्धनलाई परिवर्तन विरोधी गठबन्धन बनेको बताए । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार पत्रकार सम्मेलन गर्दै दाहालले भने, 'एउटा यही गठबन्धन (कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको) भयो । अर्को होली वाइन, सबै राजावादीहरू भएर बनेको हुनाले कुन प्रगतिशील हो भन्ने छ्यांगै देखिएको छ ।'

दाहालले एमालेले गरेको गठबन्धनलाई संविधानको विरुद्धमा लाग्नेहरूको भएको आरोप लगाए । उनले भने, 'हिजोका सामन्त, राजामहाराजा र उसँग सम्बन्धित पार्टीहरूसँग गठबन्धन गर्न खोज्ने, लोकतन्त्रवादी, गणतन्त्रवादीहरूसँग भन्दा प्रतिगामी शक्तिहरूसँग गठबन्धन गर्न खोज्ने प्रवृत्ति छ ।'

आफूहरूको गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न खोज्नेको बीचमा भएको उनको भनाइ थियो । 'गठबन्धनका पार्टीका अनुहार राम्रोसँग हेर्नुभयो भने कुन गठबन्धन लोकतन्त्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र कुन त्यसलाई उल्ट्याउन खोज्ने हो भन्ने देखिन्छ ।

विगतमा सशस्त्र विद्रोह र आन्दोलनका उपलब्धिहरू संविधान, समानुपातिक समावेशी प्रणाली, धर्मनिरपेक्षतालगायत उल्ट्याउन खोजिएको दाहालको भनाइ थियो । विगतमा त्यस्ता शक्तिको हातमा मुलुकको राज्यसत्ता गएको भन्दै आगामी दिनमा त्यो कमजोरी हुन नदिने उनको दाबी थियो ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully