काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सोमबार बेलुकासम्म सत्तारुढ गठबन्धनमा चुनावी तालमेलबारे सहमति जुट्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा दाहालले बेलुकासम्म ६ महानगर र ११ वटा उपमहानगरपालिकामा गठबन्धनबीचमा समझदारी बनाउने प्रयास भइरहेको बताएका हुन् ।
अध्यक्ष दाहालले ६ महानगरमध्ये ३ मा कांग्रेस, र माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले १–१ वटा मा प्रमुखको उम्मेदवार उठाउने विषयमा सहमतिनजिक पुगिएको बताएका हुन् । ६ महानगरमध्ये काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसलाई, भरतपुर माओवादीलाई, वीरगन्ज जनता समाजवादी पार्टीलाई र पोखरा एकीकृत समाजवादीलाई दिने गरी गठबन्धनमा सहमतिको प्रयास भएको छ ।
‘६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौं । महानगर टुंगिनेको नजिक छ । बेलुकासम्म महानगर र उपमहानगरपालिकाको तालमेल निष्कर्षका पुर्याउने छौं,’ दाहालले भने । त्यस्तै चुनाव सार्ने सरकार र गठबन्धनको मनसाय नभएको पनि दाहालले बताए ।
यसैबीच स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भागबन्डा गर्न बसेको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठक साँझ पुन: बस्ने गरी स्थगित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
