निर्वाचन सार्ने सरकार र गठबन्धनको कुनै मनसाय छैन : दाहाल 

वैशाख ५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तरुढ गठबन्धनको घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन कुनै हालतमा पनि नसर्ने बताए । अनुमानको भरमा निर्वाचन सर्छ कि भन्ने चर्चा चल्ने गरेको तर अब सरकार र सत्तारुढ गठबन्धन निर्वाचन गर्ने मनसायमा नरहेको बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै दाहालले सोमबार भने, 'सरकार र गठबन्धनको निर्वाचन सार्ने कुनै मनसाय छैन ।'

उनले नेपालमा मतदानको दिनसमेत निर्वाचन सर्छ भन्ने चर्चा हुने गरेको भन्दै अहिले निर्वाचन सर्ने चर्चामा कुनै सत्यता नभएको बताए । उनले भने, 'देश निर्वाचन प्रक्रियामा होमिई नै सकेको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा दलहरू देशव्यापी अभियानमा छन् । निर्वाचन के हुन्छ भन्ने प्रश्न पनि मिडिया र विभिन्न व्यक्तिले आशंकाले हेर्ने गरिएको छ । निर्वाचन सर्दैन, वैशाख ३० गते नै निर्वाचन हुन्छ । गठबन्धन दृढताका साथ निर्वाचनको तयारीमा लागेको छ ।

दाहालले वैशाख ३० गतेको निर्वाचनका लागि सत्तारुढ गठबन्धन एकताबद्ध भएर जाने तयारीमा रहेको दाबी गरे । उनले सोमबार नै महानगर र उपमहानगरमा चुनाव तालमेलबारे निर्णय हुने बताए । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully