पाँच प्रश्न : पठन अभ्यासले समृद्ध र सचेत नागरिक बनाउँछ 

घामका पाइलादेखि भिक्षु व्यापार र विद्रोहसम्म अनि हृयुमन नेचर’ देखि ‘द डन अफ एभ्रीथिङ’ देखिको कुराकानी । 

मंसिर २९, २०८१

कान्तिपुर संवाददाता

Question Five: Reading practice makes a prosperous and conscious citizen

प्राचीन समाजको अध्ययनमा रुची राख्ने, सीमान्तकृत समुदायको भूमि अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको विषयमा अनुसन्धान गरिराख्ने मानवशास्त्री सुरेश ढकाल त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागका प्राध्यापन गर्छन् ।

हालैमात्र उनको इतिहासअघिको इतिहास : सांस्कृतिक उदविकासको मानवशास्त्रीय वृत्तान्त शीर्षकको पुस्तक प्रकाशित छ । कान्तिपुरको पाँच प्रश्न शीर्षकको भिडियो संवादमा कुराकानी गर्दै ढकालले हालै पढिरहेका पुस्तक र नयाँ पुस्ताका लागि पुस्तकहरुको सिफारिस गरेका छन् । प्रस्तुत छ, पाँच प्रश्न संवादको सम्पादित अंश : 

अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?  

अहिले म सुधीर शर्माको दुई पुस्तकहरूमध्ये पहिलो पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’ पढ्दैछु । फिक्सनमा भने भर्खरै बसन्त बस्नेतको उपन्यास सिमसारा पढेर सकेँ  । साथै, डेभिड ग्रेबेर र डेभिड वेङग्रोले लेखेको ‘द डन अफ एभ्रीथिङ’ र थोमस बेलको ‘हृयुमन नेचर’ पनि पढिरहेको छु ।

‘द डन अफ एभ्रीथिङ’ मा मानव विकास संस्कृतिको र विश्वकै आर्थिक, सामाजिक तथा राजनीतिक इतिहासलाई समेटेको लामो इतिहास सहितको पुस्तक हो । यो पढ्न अत्यन्तै रुचिकर लागिरहेको छ । थोमस बेलको अर्को पुस्तकले नेपालकै कृषि, पर्यावरण र भूगोलका विषयलाई मीठो तरिकाले प्रस्तुत गरेको छ । त्यसैले म यसलाई पनि रुचिपूर्वक पढ्दै छु । अहिले म यी तीनै पुस्तकहरु नियमित रुपमा पढिरहेको छु ।

तपाईंलाई मन परेको फिक्सन कुन हो ?

तत्कालैको कुराभन्दा पनि लामो अवधि हेर्ने हो भने, धच गोतामेका दुई उपन्यास ‘यहाँदेखि त्यहाँसम्म’ र ‘घामका पाइलाहरु’ मेरा सबैभन्दा मनपर्ने फिक्सन हुन् । किन हो, थाहा छैन, तर यी पुस्तकहरू मैले निकै मन पराएर पढेका किताबहरु हुन् । त्यसपछि, साहित्यिक कृति उपन्यासमा विश्वेश्वरप्रसाद कोइराला र दौलतविक्रम विष्टका उपन्यासहरू मलाई निकै रुचि लाग्छ । पछिल्लो कालखण्डमा नारायण ढकालको ‘वृषव बध’ र ‘प्रेतकल्प’ मलाई मन परेका उपन्यास हुन् । 

तपाईंलाई मन परेको नन–फिक्सन कुन हो ?

मन पर्ने नन फिक्सन धेरै छन् । विशेषगरी इतिहास र संस्कृतिसम्बन्धी विषयमा मेरो रुची भएकाले, त्यस्तै प्रकारका किताबहरू खोजेर पढ्ने गर्दछु । अहिलेका लागि भन्ने हो भने मैले जति पढेको छु त्यसका आधारमा सुधीर शर्माको पछिल्लो पुस्तक ननफिक्सन उदाहरणको रुपमा लिन मन लाग्छ । जुन पढ्न निकै रुचिकर लागिरहेको छ । यसले ननफिक्सन लेख्दा कति मिहिनेत र अनुसन्धानको आवश्यकता पर्छ भन्ने कुरा पनि झल्काउँछ ।  इतिहास र संस्कृतिसम्बन्धी धेरै ननफिक्सन किताबहरू पढ्न लायक छन् । 

तपाईंले पढ्न नपाएको कुनै हालै निस्किएको किताब छ ?

मेरो रुचि प्राचीन इतिहासमा भएको कारण, मैले यस्ता केही किताबहरू नोट गरेर राखेको छु । मेरा साथीहरु फ्रेजर सजडेन र डेबीड सेडनले लेखेको कृषि र पुँजीवादको बारेका दुई किताबहरु जुन भर्खरै निस्केका छन् । ती मसँग भएर पनि अझै पढ्न भ्याएको छैन् । त्यस्तै, केही मानवशास्त्रीहरूले लेखेको जस्तै क्याम्ब्रिज युनिभर्सीटी प्रेसले प्रकाशन गरेको स्याक्रीफाईस एण्ड भ्वाईलेन्स भन्ने किताब पनि किनेर राखेको छु तर त्यो पनि पढन भने भ्याएको छैन । 

फिक्सन पढ्ने कि ननफिक्सन ? 

कुन किताब पढ्ने भन्ने कुरा आफ्नो रुचीको कुरा हो । मलाई के लाग्छ भने, एउटा खास रुची भएको किताबलाई खोजी–खोजी पढ्नु राम्रो हो । तर पढाइको दायरालाई विस्तार गर्नु पर्छ । मलाई यो रुची छ, त्यसलाई मात्र पढ्नु हुँदैन । तपाईंलाई फिक्सन पढ्न रुची छ भने, सँगै इतिहास र प्राचीन इतिहासका किताबहरू पनि पढ्नु पर्छ । 

तपाईं ननफिक्सन पढ्न चाहनुहुन्छ भने, फिक्सन पनि पढ्नुपर्छ । किन भने दुवै प्रकारका किताबहरूले हाम्रो सोचलाई फराकिलो बनाउँछन् । हाम्रा लागि एक प्रकारको कल्पनाशक्तिका लागि पनि किताबहरू पढ्न महत्वपूर्ण हुन्छ । किताब पढ्दा आउने आनन्द र त्यसबाट प्राप्त हुने ज्ञान एउटा पाटोमा हुन्छ, तर त्यसले हाम्रो कल्पनाशक्तिलाई, सोचको दायरा र दृष्टिकोणलाई फराकिलो बनाउँछ । 

हामीलाई समृद्ध र सचेत नागरिक बनाउँछ र सृजनशीलतामा मद्दत गर्छ । एकै प्रकारका किताबमात्र पढ्नुभन्दा पनि विभिन्न प्रकारका किताबहरू पढ्नु पर्छ । फिक्सन होस् या ननफिक्सन, जुनसुकै विषयमा भए पनि । यदि तपाईं डाक्टर हुनुहुन्छ भने संस्कृति र समाजका बारेमा किताब पढ्नै पर्‍यो । यदि इन्जिनियर हुनुहुन्छ भने, भूगोल र इतिहासका किताबहरू पनि पढ्नुपर्ने हुन्छ । 

फिक्सनमा रुची छ भने पनि इतिहास, संस्कृति, प्राचीन इतिहास र समाजका किताबहरू पढ्नु पर्‍यो । यसरी, एकले अर्कोलाई  सहयोग गरेको हुन्छ । किताबहरूले हाम्रो सोच्ने क्षमता, समृद्धि र दृष्टिकोणलाई फराकिलो बनाउँछ । यसको मुख्य अर्थ म एउटै किताब पढ्नु पर्छ भन्दिनँ तर धेरै पढ्न पर्छ चै भन्छु ।

कान्तिपुर संवाददाता

Link copied successfully