वीरेन्द्रनगरमा शनिबारदेखि 'कुडा कर्नालीका'

फाल्गुन ४, २०८०

ज्योति कटुवाल

सुर्खेत — वीरेन्द्रनगरमा शनिबारदेखि कर्णाली उत्सव ‘कुडा कर्नालीका’ हुने भएको छ । फागुन ५,६ र ७ गते पाँचौ संस्करणका रुपमा हुने उत्सव तीन दिनसम्म चल्नेछ ।

प्रदेश प्रमुख तिलक परियारले उत्सवको उद्घाटन गर्नेछन् । यो वर्षको उत्सवमा विपद्को सवाललाई बढी प्रथामिकता दिने आयोजको भनाई छ ।

‘कुडा कर्नालीका’ नाम दिइएको उत्सवमा विगत वर्षजस्तै यसपटक पनि विभिन्न विषयमा बहस, विद्वत प्रवचन हुनेछ । यस्तै उद्घाटन सत्रमा कर्णाली उत्सव, उत्सव वा बहसमा भएको लगानी, कर्णाली बाहिरका सरोकारवालाको कर्णालीप्रतिको प्रेम, नीतिसम्बन्धी बहसको महत्व लगायतका विषय कार्यक्रम हुने आयोजक समितिका संयोजक तथा ऋति फाउण्डेशनका अध्यक्ष कमलराज लम्सालले बताए ।

तीन दिनसम्म चल्ने कार्यक्रममा ६३ वक्ता रहनेछन् भने १८ जना सहजकर्ताले सञ्चालन गर्ने भएका छन् । यसपटकको संस्करणमा देश विदेशबाट विशिष्ट व्यक्ति, साहित्यकार, लेखक, तथा कलाकारहरुको उपस्थिति रहने भएको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully