जहदा, मोरङ — सीमावर्ती जहदा–७ महादेवकोलवासीलाई उत्पादन बिक्री गर्न र दैनिक उपभोग्य सामान खरिद गर्न आफ्नै गाउँको बजार लक्षमिनिया पुग्न सात किलामिटर उत्तर आउनुपर्छ । उनीहरूलाई त्यसको विकल्पमा सीमावर्ती डुमरिया बजार छ । करिब डेढ किलोमिटर दक्षिणको त्यो बजार पुग्न उनीहरूलाई सडक नै छैन ।
भोट माग्न आउनेसँग स्थानीय ज्ञानेन्द्रकुमार मण्डललगायतका स्थानीयवासीको एउटै माग छ, ‘सीमावर्ती डुमरिया बजार पुग्ने सडक बनाइदेऊ, भोट दिउँला ।’ स्थानीय सबै उम्मेदवारले सडक निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि र विद्युत् जडानलाई मुख्य चुनावी मुद्दा बनाएका छन् तर जितेकाले पूरा गर्छन् वा गर्दैनन् भन्नेमा मतदाता विश्वस्त छैनन् ।
लक्षमिनिया बजार पुग्नुभन्दा सीमावर्ती डुमरिया बजार पुग्न छिटो हुन्छ । ‘तर बाटै छैन, अर्को सीमावर्ती बजार तरिगामा पुग्न झन्डै चार किलोमिटर घुम्नुपर्छ,’ मण्डलले भने, ‘यहाँका प्रायः सबै डुमरिया बजारमा उत्पादन बिक्री गर्ने र दैनिक उपभोग्य वस्तु किन्ने गर्छन् तर आउजाउमा समस्या भएकाले स्थानीय सडकसँग भोट साट्ने तयारीमा छन् ।’ ८८ वर्षीय वसन्तलाल यादवका अनुसार हरेक चुनावमा उम्मेदवार मिठा आश्वासन दिएर भोट माग्ने गरे पनि पछि फर्केर पनि आउँदैनन् । उनले भने, ‘७० वर्षयताका सबै चुनावको सम्झना छ, कुनै पनि उम्मेदवारले प्रतिबद्धता पूरा गरेको पाइएको छैन ।’ ‘हिउँदमा डुमरिया बजारसम्म जेनतेन आउजाउ हुन्छ, बर्खा लागेपछि हिँडनै सकिँदैन, यहाँ असरल्ल कच्ची सडक खनिएको छ, गिट्टी नहाल्दा वर्षामा हिँडडुल गर्नै समस्या हुन्छ,’ स्थानीय जयनारायण मण्डलले भने, ‘बस्तीमा विद्युत्समेत छैन, टुकीमा निर्भर छन् ।’ उनले बिजुली र सडक दिनेलाई भोट हाल्ने बताए । सीमावर्ती जहदा गाउँपालिकाको बुधनगरदेखि पोखरिया मधुवनीसम्म भारतसँग सिमाना जोडिएको छ । त्यहाँका बासिन्दाले सबै कारोबार सीमावर्ती क्षेत्रको बजारमा गर्छन् । ‘तर ती बजारसम्म पुग्ने सडक नै छैन,’ देवानन्द मण्डलले भने, ‘अघिल्लो चुनावमा उम्मेदवारसँग पनि सीमा पुग्ने सडक मागेका थियौं, यसपालि पनि माग त्यही छ ।’
उत्तरी जहदावासीलाई लक्षमिनिया, कटहरी र विराटनगर बजार आउजाउ सजिलो छ । दक्षिणतर्फको मुख्य बजार नै सीमावर्ती क्षेत्र हो । तर त्यहाँसम्म सजिलै पुग्ने सडक नै छैन । यो पालिकाको नेतृत्वका लागि कांग्रेसका जितेन्द्रप्रसाद साह, जसपाबाट निवर्तमान प्रमुख कैलाशकुमार मण्डल, माओवादीका राजकुमार यादव र एमालेबाट यशोदा गिरी प्रतिस्पर्धामा छन् । सबैको चुनावी मुद्दा सडक, शिक्षा, स्वास्थ्य र विद्युत् नै हुन् ।
