धरानमा दुई कोरोना संक्रमितको मृत्यु

कार्तिक २४, २०७७

सुनसरी — कोरोना संक्रमणबाट धरानमा सोमबार दुई जनाको मृत्यु भएको छ । मृतकहरुमा एक जना धरान–१४ विजयपुरकी ६७ वर्षीया वृद्धा हुन् भने अर्का एक जना मोरङको पथरी बस्ने ६५ वर्षीय वृद्ध हुन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार विजयपुरका वृद्धाको मृत्यु सोमबार बिहान ११ बजे घरैमा भएको हो । उनका अनुसार लक्षण देखिएपछि गत शुक्रबार पीसीआर जाँचका लागि स्वाब संकलन गरी प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पठाइएको थियो । तीन दिनपछि सोमबार कोरोना पोजिटिभ रिपोर्ट आएपछि उनलाई थप उपचारका लागि प्रतिष्ठानको इमर्जेन्सी कक्षमा लगिएको थियो । तर त्यहाँ पनि सुधार नभएपछि घरतिरै फर्काइएको थियो । 

यसैगरी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएको दुई दिनपछि मोरङको पथरी–१ का ६५ वर्षीय पुरुषको सोमबार बिहान ९ बजे मृत्यु भएको सहप्रवक्ता डा आशिष श्रेष्ठले बताए । उनका अनुसार उच्चरक्तचाप र मधुमेहका दीर्घरोगी रहेका उनलाई कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

थपिएका दुई मृतकसहित प्रतिष्ठानमा उपचाररत अवस्थामा मृत्यु भएका कोरोना संक्रमितको संख्या हालसम्म ९३ जना पुगेको छ भने धरानकै मात्र ६५ जना पुगेका छन् । 

कोरोना भाइरस

Link copied successfully