कटारी नगर प्रमुखलाई कोरोना

कार्तिक ४, २०७७

डिल्लीराम खतिवडा

उदयपुर — कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसहित प्रमुख प्रशासकीय अधिकृत समेत गरी ४ जनालाई संक्रमण भएपछि आजबाट नगरपालिकाका सम्पूर्ण सेवा बन्द गरिएको छ ।

नगरप्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, इलाका प्रशासन कार्यलय कटारीका प्रमुख चन्द सिवकोटी, कटारी नगर शिक्षा शाखाका स्रोत व्यक्तिमा कोरोना पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले वताए । 

कात्तिक १ गते कटारीमा १३ जनालाई कोरोना संक्रमण भएपछि नगरप्रमुख सहित ४ जनाको स्वाब संकलन गरिएको थियो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना परीक्षण प्रयोगशालमा गरिएको परीक्षण रिपोर्ट नगर प्रमुख श्रेष्ठसहित ३ जनाको  पोजिटिभ आएको छ । अन्य एकको रिपोर्ट आउन बाँकी रहेको  स्वास्थ्य शाखा प्रमुख दाहालले बताए ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायतलाई कोरोना संक्रमण भएपछि कातिक १५ गतेसम्मलाई नगरपालिकका सम्पूर्ण सेवा बन्द गरिएको उप–प्रमुख भिमकुमारी राउतले बताइन् । उनले कटारी क्षेत्रमा कोरोना संक्रमण बढदै गएकाले सबैलाई सर्तकता अपनाउन र स्वास्थ्य मापदण्ड पालन गर्न अनुरोध समेत गरेकी छन् । 

यसअघि उदयपुरमा जिल्ला समन्वय प्रमुख र बेलका नगरपालिकाका मेयरलाई समेत कोरोना संक्रमण भएको थियो । उनीहरुको कोभिड १९ अस्पताल वेल्टारको आइसोलेसनमा उपचार भइरहको छ । अहिलेसम्म जिल्ला २ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कोरोना भाइरस

डिल्लीराम

Link copied successfully