उदयपुर — कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उदयपुरका तीन नगरपालिकामा जारी निषेधाज्ञा ५ दिनका लागि थपिएको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा सुरक्षा समितिको बैठकले त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । साउन २८ गते राति १२ बजेदेखि भदौ ७ गते रातिसम्म जारी निषेधाज्ञालाई भदौ १२ गते रातिसम्म लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
जारी निषेधाज्ञामा बिहान ९ देखि १२ बजेसम्मका लागि खाद्यान्नका पसल खोल्ने र बाँकी समय सम्पूर्ण सेवा ठप्प राख्ने निर्णय भएको थियो । निषेधाज्ञामा भने सरकारले सूचीकृत गरेको अत्यावश्यक सेवा मेडिकल, पानी, दूध बोक्ने सवारी साधन भने निरन्तर चल्नेछन् ।
उदयपुरमा अहिलेसम्म १ सय ११ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यो संख्या अझै बढ्न सक्ने अवस्था भएकाले निषेधाज्ञा जारी राख्नु पर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । छिमेकी जिल्ला सिरहा, सप्तरी र सुनसरीमा संक्रमित र मृतकको संख्या बढ्दै गएकाले पनि निषेधाज्ञा जारी राख्नुपर्ने अवस्था आएको उनले बताए ।
