सुनसरी — सुनसरीमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । इनरुवास्थित स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स तथा कोरोना फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार मोलिकुलर पीसीआर विधिबाट जिल्लाभरि परीक्षण गरिएका १६ हजार ४१ जनामध्ये ४ सय ९ जना संक्रमित देखिएका छन् । शुक्रबार दिउँसो १ बजेसम्ममा २३ जना नयाँ संक्रमित थपिएका छन् भने बिहीबार ३५ जना थपिएका थिए ।
उनका अनुसार ती संक्रमितमध्ये ५० प्रतिशतमा लक्षणसहित कोरोना देखिएको र बाँकी लक्षणविहीन रहेका छन् । उनले भनिन्, ‘पछिल्लो समयमा संक्रमितको संख्या दिनदिनै बढेको र त्यसमा लक्षणसहितकाहरुको संख्यामा पनि वृद्धि भएको छ । तर जिल्लामा आजको मिती (विहिबार) सम्ममा उच्च ज्वरो, तीव्र खोकी र श्वासप्रश्वासमा जटिल अवस्था भएकाको संख्या भने ५ जनाको मात्र छ ।’
कोरोनाकै कारण जटिल समस्या भएकामध्ये सुनसरीमा एकजनाको मात्र मृत्यु भएको छ । धरान–१५ बाझगराको दशरथपथ बस्ने एक ६७ वर्षीया वृद्धाको एक साताअघि मृत्यु भएको थियो । संक्रमण पुष्टि भएकामध्ये १ सय ८१ जना कोरोना मुक्त भइसकेका छन् । बाँकी २ सय २८ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
जिल्लामा सबैभन्दा बढी संक्रमित धरानमा १ सय ९ जना देखिएका छन् । इटहरी उपमहानगरपालिकामा ६५ जना कोरोना संक्रमित भेटिँदा दुहवी नगरपालिकामा ५९, हरिनगरमा ३४, कोसीमा २९, रामधुनी नगरपालिकामा २५, भोक्राहामा २० जना, बर्जुमा १९, इनरुवा र देवानगञ्जमा १५–१५ जना, बराहक्षेत्र नगरपालिकामा १२ जना, गढी गाउँपालिकामा ७ जना संक्रमित भेटिएको तथ्यांक रहेको लिङ्थेपले बताइन् ।
यसैबीच धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागको आकस्मिक कक्षमा कार्यरत एकजना स्टाफ नर्ससहित ५ जनालाई कोरोना संक्रमण भएको प्रवक्ता प्राडा निदेश सापकोटाले बताए । स्टाफ नर्स धरान १५ बाझगराकी हुन् । योसहित प्रतिष्ठानमा कार्यरत संक्रमित नर्सहरुको संख्या ७ जना पुगेको छ ।
