उहिले–उहिले पिताहरू कठोरताका प्रतीक थिए । सन्तानका निम्ति ती थिए, अनुशासनका सिपाही र परम्पराका पहरेदार ! तर, पिताहरू आफैंले आफ्नो पहिचानका पर्खाल भत्काइरहेका छन् र सन्तानका निम्ति बनेका छन्– करुणा र सहकार्यका प्रतिबिम्ब । बाहरू पहिले ‘शासक’ थिए, अहिले साथी बनेका छन् ।
What you should know
काठमाडौँ — ‘परिवार’ संस्थाको जब जग बस्यो, त्यस केन्द्रका दुई स्तम्भ बा र आमामाथि साहित्य, पुराण वा सिनेमामा अनेकन् कहानी लेखिए, जहाा उनीहरू पवित्र र अद्वितीय, संवेदनशील र कोमल रूपमा चित्रित छन् । समाजको फेरिँदो अर्थ–राजनीतिक व्यवस्था, सामाजिक–सांस्कृतिक परम्पराले पारिवारिक सम्बन्धलाई पनि प्रभावित पारिरहेको हुन्छ ।
त्यो प्रभावकै बहावमा बदलिँदै छ– बा र सन्तानको सम्बन्ध । त्यो सम्बन्ध अब संवाद, मित्रता र सहयात्राको भर्याङ चढिरहेको छ । कुशे औंसी (बुबाको मुख हेर्ने दिन) को साइतमा ‘कोसेली’ ले पिता र सन्तानका सम्बन्धका अनेक आयाममाथि विमर्श गर्ने प्रयास गरेको छ ।
...
समयको चक्कामा बितिगएका दिनहरू दुरुस्तै हुँदैनन् । मानव समाज र सभ्यताको उत्पादन बा–सन्तान सम्बन्ध पनि उस्तै रहँदैन । यो सम्बन्धले कहिले फराकिलो राजमार्गमा यात्रा गर्यो, कहिले साँघुरो–ओसिलो गल्लीमा नागबेली हिँड्यो । यी अनेक रूपसँग जोडिन्छन्– सामाजिक मूल्य, सोच–संस्कार, जीवनशैली, अन्तर्दृष्टि र मानवीय आवेगका गति ।
प्रत्येक युगमा बाबु–छोरा सम्बन्धका आयामहरू बदलिइरहे । समाजको फेरिँदो अर्थ–राजनीतिक व्यवस्था, सामाजिक–सांस्कृतिक परम्पराले पारिवारिक सम्बन्धलाई पनि प्रभाव पारिरहेको हुन्छ । त्यस प्रभावकै बहावमा बदलिन्छ– बा र सन्तानको सम्बन्ध ।
उहिले–उहिले पिताहरू ‘निषेध’ लेखिएका किताबका ठेली थिए । ती थिए– सन्तानका निम्ति उकुसमुकुस, यथास्थिति र परम्पराका पुलिन्दा ! तैपनि छोराहरू बाबुलाई अत्यन्तै आदर–सत्कार गर्थे । तर, अहिले सामाजिक दृश्य फेरिएको छ । पिताहरू आफैं निषेधका तमाम पर्खाल भत्काइरहेका छन् र सन्तानका निम्ति ती बनेका छन्– छनोट र निर्णयको स्वतन्त्र बिम्ब । बाहरू अहिले शासकबाट साथी बनेका छन् ।
...
आनन्द र पीडाको दीर्घयात्रामा भेटिन्छन्– बा–आमाका सुख, खुसी, उज्यालो र अँध्यारो ! स्मृतिहरूमा जीवन्त छन्– सन्तानलाई काखमा सुताएर परिकथा सुनाइरहेकी आमा र पिठ्यूँमा सन्तान बोकेर जीवनको उकालो उक्लिरहेका बा । असलमा सन्तानहरूका प्रकाशमय उज्यालो र सत्य संसार यिनै अनमोल क्षण हुन् ।
सभ्यताको लामो कालखण्डमा बा–आमा थिए– अस्तित्वका बिम्ब, सिर्जनशीलताका प्रतीक । ‘परिवार’ संस्थाको जब जग बस्यो, त्यस केन्द्रका दुई स्तम्भ बा र आमामाथि साहित्य, पुराण वा सिनेमामा अनेकन् कहानी लेखिए, जहाँ ती पवित्र र अद्वितीय, संवेदनशील र कोमल रूपमा चित्रित छन् । उनीहरूका स्नेह, त्याग र निःस्वार्थ सेवाका हजारौं कथाले किताबका लाखौं पाना रंगिएका छन् ।
आमा जहिल्यै कोमल र आदर्शकी बिम्ब रहिरहिन् । बरु बाबु ‘कठोरतम्’ पात्रका रूपमा चित्रित भए । पितृसत्ताले एक फरक संसार निर्माण गरेको छ, जहाँ पिताहरू स्वतन्त्र छन् र अरूमाथि हैकम चलाउँछन् । राजनीतिक–सामाजिक विश्लेषक आहुति लेख्छन्, ‘आजका आमाहरू पितृसत्ताको महाउत्पीडनबाट निर्मित महाउत्पीडितहरू हुन्, उत्पीडित आमाहरूको मुक्ति जरुरी छ ।... अप्ठ्यारा सबै समयमा आमा हाजिर छ, बाउ गायब छ ।’ (मेरी आमा महान् होइनन्, कान्तिपुर) ।
पितृसत्ताको लामो चक्रमा आमाहरू पीडा, त्याग, माया र भावनाको महान् संवेदनशील कथाहरूमा बाँचिरहे । बा ‘शासक’ को भाष्यमा थिचिइरहे । जस्तो बा अर्थात्– घरको मुखिया, मर्यादा सिकाउने एक निर्णयकर्ता ! सन्तान अर्थात् बासँग डराइरहेको एक आज्ञाकारी बालक ! तर, वर्तमानमा बा र सन्तानको यो परिभाषामा बदलाव आएको छ । मानवशास्त्री, समाजशास्त्रीहरू भन्छन्– बा अब शासक होइन, प्रिय साथी र सल्लाहकार हुन् । आधुनिक जमानामा यसरी बाबु र सन्तानको सम्बन्ध मित्रतामा फेरिँदै छ ।
तर बा र सन्तानको पुस्ताले एकअर्कालाई बुझिरहेको छैन । बाहरू सन्तानलाई संघर्ष, अभाव र पीडाको कथा सुनाउँछन् । ती भन्छन्– मलाई सन्तानले बुझेनन् । स्वतन्त्रता र व्यक्तिगत सपनालाई प्रधान मानिरहेका सन्तान भन्छन्– बा हामीलाई बुझ्दैनन् । असलमा यो प्रविधि र जीवनशैलीबीचको गहिरो द्वन्द्व र दूरी हो । बाहरूसँग छ– अनुभूति र अनुभवको संसार । सन्तानहरूसँग छ– इन्टरनेट र भूमण्डलीकरणको झिलिमिली दुनियाँ । बाहरूमा अझै छ– पुरानो परम्परामाथि आसक्ति र छँदै छ– नयाँ जमानाको दबाब । सन्तानहरू ‘करिअर’ र तनावको विशाल समुद्रमा होमिएका छन् । यो भागदौडमय संसारमा सन्तान र बाबीच सायदै संवाद हुन्छ, जसले सम्बन्धमा भावनात्मक गहिरो खाडल ल्याइदिएको छ । पहिले–पहिले छोराहरू पिता–मार्ग अनुसरण गर्थे, अहिले ती आफ्नै मार्ग रोजिरहेका छन्– स्वतन्त्रता र सपनाको । संयुक्त परिवार टुक्रेर एकल परिवारमा बदलिँदा त्यहाँ आत्मीयता गायब छ ।
...
उबेला बाहरूको संसारमा केवल निषेध थियो । तर, अहिले निषेधका पर्खालहरूमा खिया लागे । अतीततिर फर्केर हिँडिआएको बाटोको समीक्षा गर्छन्– ‘घोडा, ईश्वर र मेरा बा’ किताबका लेखक खगेन्द्र संग्रौला । आठ दशकअघिका आफ्ना बाबु र चार दशकअघिको आफ्नो छोरोको सम्बन्धका पहेलीमा घोत्लिन्छन् उनी । पाँचथर, सुभाङ गुरुङछापमा जन्मेका खगेन्द्रका बुबा लक्ष्मीप्रसाद संग्रौला थिए, ज्योतिषी ।
बासँग न अनुभूति आदानप्रदान हुन्थ्यो न वार्तालाप । बोलीमा लक्ष्मीप्रसादकै एकाधिकार थियो– आमा, छोराछोरी बुबाका मूक श्रोता ! आमा भागिरथाको स्वर मसिनो थियो, बाको अचम्मैको चर्को ! घरको सन्नाटा भंग हुन्थ्यो– बुबाले छोराछोरीलाई अह्रनखटन र हप्कीदप्की गर्दा वा पाञ्चायन पूजा गर्दा वा बेलुका अँगेनाका डिलमा बसेर रामायण–महाभारतका सिलोक हाल्दा ! दुर्गम गाउँमा जन्मी—हुर्केको आफू र सानो सहरनिकट जन्मेर राजधानी सहरमा हुर्केको छोराको एकबारको चोलामा कता हो कता बदलाव देख्छन् उनी ।
खगेन्द्रको समयमा देशको बोलीमा राजाको एकाधिकार थियो, उनको घरको बोलीमा थियो– बाको एकाधिकार । देशमा राजा हुकुम दिन्थे, बक् हरण गरिएका प्रजा चुपचाप हुकुम मान्न विवश हुन्थे । घरमा बा अह्रनखटन गर्थे, बक् हरण गरिएका उनी चुपचाप अह्रनखटन मान्न विवश हुन्थे । बासँग आँखा जुधाएर उनको दोहोरो बोलचाल हुँदैनथ्यो, विवाद र विमतिको त सम्भाव नै थिएन । बासँग केही माग्नुपरे उनी आमामार्फत कुरो पुर्याउँथे ।
समय बदलियो । सुदूर समयबाट पर खगेन्द्रको छोराको बाल्यकालमा बोलीमा राजाको एकाधिकार किञ्चित् खुकुलो भएको थियो । ‘व्यवस्था, समय र शिक्षाको प्रभावले मेरो छोरो म बाबुसँग आँखा जुधाएर बोल्ने भयो । सिंहासनको राजासँग जाग्रत जनता आँखा जुधाएर बोल्न थाले । मेरो छोरो म बाबुसँग विवाद गर्ने र मतान्तर प्रकट गर्ने भयो,’ आफू बाँचेको समय तुलना गरिबस्छन् खगेन्द्र, ‘म बाबुले छोराको कुनै माग पूरा नगर्दा ऊ दिदीसँग ‘डेज्, हाम्रो बाउ ठिस् हो’ भनेर गेटबाहिर भाग्थ्यो । गम्नोस्त, मैले मेरो बालाई ‘ठिस्’ भनेको भए नतिजा के हुँदो हो !’
यो परिदृश्य एक उदाहरण हुन सक्छ– बाबु–छोरा सम्बन्धमा आएको खुकुलोपनको, सम्बन्धको बदलावको । खगेन्द्रको छोराको पालामा देशको बोलीमा राजाको एकाधिकार तोडियो, घरको बोलीमा पनि बाबुको एकाधिकार तोडियो । खगेन्द्रको निष्कर्ष छ, ‘मेरा छोराको समयमा प्रश्न गर्ने, विवाद गर्ने र मतान्तर राख्ने हक हामी बाबुछोरामा बाँडियो । बाबुछोराको सम्बन्धमा यो समानता र आपसी सम्मानतर्फको सुखद् यात्रा हो ।’
बाबु–छोरा सम्बन्धमा सम्मान र प्रेमतर्फको यात्राका साक्षी हुन्— कवि विप्लव प्रतीक । भदौरे झरीमा रेडियोहरूमा बजिरहने विप्लवको गीत ‘हर रात सपनीमा...’ ले श्रोतालाई लामो उदासीको सुरुङमा लैजान्छ । कवि प्रतीकले यो गीत पिता–स्मरणमा लेखेका थिए– ०४४ मा, जतिबेला बुवा पशुपतिनाथ छेउको देउपाटनमा माटोले जोडेको एक घरमा एक्लै बस्थे । माटोको त्यस घरमा उनका बुवा सुत्ने सिरानपट्टिको गारो चिरिएको थियो । त्यो चिरिएको गारो, मनसुन र चट्याङको दुःस्वप्नमा विप्लवले यो गीत लेखे– जब आकाशमा चट्याङ बज्रन्थ्यो, धरतीमा उनी पिता–यादमा छट्पटिन्थे– घर भत्कियो कि ? घर भत्केर उनैलाई पुर्यो कि ?
त्यो छटपटी–तनावले कवितामा निकास पायो– ‘आगो र आँधी सोचिरहेछु/भुइँचालोलाई थाम्छु भनी/हर साँझ सहरमा हुरी चल्छ/गाउँमा सायद छानै उड्यो कि ?’ पिता–स्मरणको लहर नृत्यमा मग्न–मग्न छन्– कवि विप्लव प्रतीक । साहित्यकार पिताले धरती छाडेका लामा वर्षहरूपछि पनि उनका सम्झना उस्तै जीवन्त छन् । ती ओहोरदोहोर गरिबस्छन्– मस्तिष्कका कोषहरूमा ।
यो सिम्फोनी–सहरमा पिता–सम्झनाका झिल्काहरू बिजुलीझैं झट्ट आउँछन्–जान्छन् । जस्तो विप्लव कवि बन्नु पिताकै प्रेरणा–पथ थियो । विप्लवले पिता कृष्णप्रसाद ‘सर्वहारा’ कै करले भ्लादिमिर इलिच लेनिनबारे पहिलो कविता लेखेका थिए, लेनिन–शतवार्षिकीमा । पिता–यादमा विप्लव बालापनका गल्लीतिर हिँडिरहन्छन् । जीवनमा अनेक रंगहरूका गवाह विप्लव बाबु–छोराको जटिल सम्बन्धहरूमाथि घोत्लिइबस्छन् ।
बा बाँचेको समयको केही अंश ‘फिक्सनलाइज’ गरेर विप्लवले उपन्यास लेखेका छन्– ‘अविजित’ । ‘म बालाई अत्यधिक श्रद्धा गर्थें, माया गर्थें । उहाँका वचन मेरा लागि ब्रह्मवाक्य थिए । उहाँले मलाई स्नेह गरेको, मित्रवत् व्यवहार गरेको मात्रै सम्झना छ । परिवारकै कसैबाट उद्वेलित भएर एकपल्ट बाहेक उहाँले मलाई एक लबटा हानेको अभिलेख छैन,’ विप्लव पिता–यादहरूमा बरालिन्छन् । ‘मेरो खुसी र उन्नति उहाँको अभीष्ट थियो,’ पिता सम्झनामा उनी पग्लिन्छन् । बालापनका कालखण्डमा कहिल्यै उनले कठोर अनुशासन वा हप्कीदप्की भोग्नुपरेन । बरु, पिताले उनलाई हिन्दुस्तानबाट आउने पत्रपत्रिकादेखि रसियन लाइब्रेरीमा सिनेमा र विभिन्न सांस्कृतिक जलसाहरूमा भाग लिने अवसर दिलाइदिए, जसले उनको सोचको जग निर्माण गर्न सहायक भूमिका निर्वाह गर्यो ।
हिजोका अधिकांश पुस्ताले पिताहरूबाट भोग्नुपरेको कठोर अनुशासनकै कारण आजका पुस्ताले खुकुलो जीवन बाँच्न पाएका हुन् भन्ने लाग्छ विप्लवलाई । ‘आफूले भोग्नुपरेको सास्ती सन्तानले व्यहोर्नु नपरोस् भन्ने पिताहरूलाई लागेको हुनुपर्छ । हैसियत पुगेका अभिभावकले ‘हामी कष्टमा हुर्केका तिमीहरूले पनि कष्ट चाख्नुपर्छ’ भन्ने नसोचिदिनु राम्रो पक्ष पनि हो । तर, त्यसले समाजलाई सही बाटो दिएजस्तो लाग्दैन,’ उनी भन्छन्, ‘अहिलेका बच्चाहरू एकाकीपनको सुरुङभित्र छिरेको, एन्जाइटीको सिकार भएको र अधिकतम बालबालिका अभिभावकसँग डिट्याच हुँदै गएको समस्या अधिकतर देख्छु ।’ विप्लवको बुझाइमा अहिलेका बाहरूले सन्तानसँग मित्रवत् रहने अभ्यास गरे नयाँ पुस्ताले ‘लस्ट जेनेरेसन’ को ट्याग भिर्नुपर्दैन र उन्नत, खुसीको इन्द्रेणीले बेरिएको सुखी बालबालिकाले मुलुक समृद्ध हुन्छ ।
पहिलेका पिताहरू केवल डरको बिम्ब थिए, जोसँग सन्तानहरू असाध्यै तर्सिन्थे । अहिले ? बाबु–सन्तान सम्बन्ध साथीभन्दा पनि माथि छ । आफ्नो बाको स्मृति तरंगमा पौडी खेल्दा लेखक वसन्त थापा डरको समुद्र देख्छन् । ‘हामी बाबुहरूको दबदबा भएको समयमा हुर्किंयौं । उनीहरू सन्तानका लागि डर मात्रै थिए ।
सायद उबेला बाबुको छवि र कर्तव्य पनि त्यही थियो,’ वसन्त भन्छन्, ‘सायद म पनि पिताको त्यही फ्रेममा थिएँ– हकारपकार पनि गर्नुपर्ने भूमिकामा, तर हामीले छोराछोरीमाथि हात उठाएनौं, मेरो र छोरा–छोरीको व्यवहार खुकुलै थियो । तर, अहिलेको समय हेरौं– मेरो छोरा उसको छोरासँग डराउँछ । अहिले पिता र सन्तान साथी होइन, त्यहाँभन्दा पनि माथि भइसके ।’ बाबु र सन्तानको बदलिँदो सम्बन्ध केवल उनीहरूको निजी छनोटको विषय होइन । उहिले–उहिले बाबु थिए– परिवार र बाँकी संसार जोड्ने एक कडी, जो सन्तानका लागि सर्वज्ञाता, संरक्षणकर्ता र प्राधिकार हुने गर्थे । तर, वर्तमानमा बाबुको त्यो भूमिका बदलिएको छ ।
मानवशास्त्री सुरेश ढकालका विचारमा बाबु–छोरा सम्बन्धलाई दिशानिर्देश गर्छ– बदलिँदो अर्थ–राजनीतिक व्यवस्था, फेरिँदो सामाजिक–सांस्कृतिक परम्पराले । ‘एकै पुस्ताका अन्तरमा देखिने बाबु–छोराको सम्बन्धलाई नियाल्दा पनि देख्न सकिन्छ त्यस्तो फरक । अब छोरा–बाबुको सम्बन्ध भन्ने र मान्नेबाट सरसल्लाहको तहमा बदलिएको छ । सन्तान आफ्नो रुचिअनुरूप बनिदिऊन् भन्ने बाबुहरू अहिले सन्तानको रुचिलाई सम्मान र सहयोग गर्ने तहमा पुगेका छन्,’ सुरेश भन्छन् ।
अब परिवारको संरचना परिवर्तन भयो । संयुक्तबाट एकल बनेको परिवार–संरचनामा बाबु र सन्तान सम्बन्ध पनि स्वनिर्भर र स्वतन्त्र निर्णयको चरणमा प्रवेश गर्यो । ‘आजकल सन्तान हुर्काउने भूमिकामा समेत बाबुहरू संलग्न हुन्छन्, जसले बाबुहरूको पितृसत्तात्मक चिन्तन र व्यवहारमा फरक देखिन थालेको छ,’ सुरेश भन्छन्, ‘यसको प्रभाव सन्तानसँगको सम्बन्धमा पर्ने नै भयो । बाबुको श्रम आप्रवासन र सन्तानको अध्ययन आप्रवासनको प्रभाव बाबु र छोराको सम्बन्धमा परेकै छ, जुन थप अध्ययनको विषय हुन सक्छ ।’ सम्बन्धका तहहरू बदलिए पनि यी मानवशास्त्रीलाई लागिरहन्छ– ‘यिनले जिन्दगीमा के गरी खालान्’ भन्ने एउटा चिन्ता भने बाबुहरू हिजो पनि गर्थे र आज पनि गर्छन् । सामन्ती प्रथामा बाबु–छोराको सम्बन्धको एक कडी थियो– सम्पत्ति । समाजशास्त्री चैतन्य मिश्रका विचारमा सामन्तवादअन्तर्गत उत्पादनको मुख्य साधन जग्गा थियो, जुन पुस्तैनी एकबाट अर्कोमा सर्दै आयो । त्यसैले छोरा पुस्ताले बाबु पुस्तालाई आदर गर्ने एउटा मुख्य कारण बाबुको अधीनमा रहेको जग्गा हो ।
‘पैतृक सम्पत्ति छोरालाई दिने परम्पराअन्तर्गत यस्तो हुन्छ । यसैले सामन्ती प्रथामा व्यक्तिवाद दुर्बल हुन्छ । समूह वा परिवारमा बसेर मात्रै मान्छेले उत्पादनका साधनमाथि अधिकार पाउन सक्छ । त्यही कारण छोराहरूले बाबुलाई मान्ने मात्र होइन, बाबुले भनेअनुसारको बुहारी छोराले ल्याउनुपर्छ, उसले आफूले चाहेअनुसार ल्याउन पाउँदैन । परिवारभित्र वा छरछिमेकमा बाबुको कुरा काट्नु हुँदैन । घरमूलीलाई मानेर मात्रै अन्य कुरा गर्न पाइन्छ । बाबुलाई मान्ने परम्पराको पछाडि रहेको कारण पनि यही हो,’ ‘बदलिँदो नेपाली समाज’ किताबमा मिश्र लेख्छन्, ‘बाबुले जन्माइदिएका आधारमा मात्रै छोराले मान्नुपरेको होइन । त्यसको मूल कारण भनेको सामाजिक, आर्थिक र राजनीतिक आधार नै हो । मूलतः बाबुको कुरा काट्दै बेइज्जत गर्दै गइयो भने बाबुले सम्पत्ति दिँदैन भन्ने भयले त्यसरी मान्नुपरेको हो ।’ तर पुँजीवादको विकास भइसकेको अवस्थामा बाबु–छोराको सम्बन्धका आयाम फेरिन्छन् । मिश्र लेख्छन्, ‘खास उमेरपछि बाबुले छोराको कम वास्ता गर्ने परिपाटी बस्न थाल्छ । त्यसकारण छोराले पनि बाबुको धेरै वास्ता गर्नुनपर्ने चलन हुन्छ । बाबुले छोरालाई सम्पत्ति दिनुपर्छ भन्ने मान्यता हुँदैन, दिन पनि सक्छ, नदिन पनि सक्छ ।’
आदिम ‘बा’ हरूको कथा बेग्लै थियो । किरातीका लागि सिंगो आकाश नै बा थिए । मुन्दुम भन्छ– पारुहाङ (पारुहों) को पिसाब पिउँदा सुम्निमा (नाइमा) गर्भवती भएकी थिइन् र बाघ, मान्छे, वनस्पतिलगायत सन्तानहरू पैदा गरेकी थिइन् । मुन्दुममा आकाशलाई पारुहाङ मानिन्छ र धरतीलाई सुम्निमा ।
मुन्दुम अध्येता/समाजशास्त्री भोगीराज चाम्लिङको बुझाइ छ– तर, गुमनाम छन् आदिम युगका किराती बाहरू । ‘मुन्दुमी आख्यान र मुन्दुमी रिसिया (मन्त्र) हरूमा थुप्रै आदिम ‘बा’ को उल्लेख हुन्छ, तर तिनको नाम थाहा हुँदैन । जस्तो कि किरात राई मुन्दुमअनुसार आदिम बजु चिनिमा थिइन्, जसका सन्तान हुन्– पारुहाङ र सुम्निमा, तर उनीहरूका बा को थिए ? उनीहरूका बा हुलिपा अर्थात् पसिना थिए । यसको अर्थ हो, ‘बा’ को हुन् भन्ने पहिचान नहुनु ।’ आदिम ‘बा’ हरू कसरी गुमनाम भए र सांस्कृतिक स्मृतिमा मात्रै जीवित छन् ?
भोगीराज उदाहरण दिन्छन्– जस्तो कि याक्थुङ (लिम्बू) हरूमा पनि आदिम मुन्धुमी आख्यानमा वर्णित सरेङ्धङ्नाले बाघको पिसाब पिउँदा गर्भवती भएर बाघ र मान्छे दुई सन्तान जन्माएकी थिइन् । भन्नुको अर्थ हो, बा को हुन् भन्ने थाहा नहुनु ।
अहिले बा भनेका आधा घर हुन् । किरात राईमा अहिले पनि घरलाई २ भागमा वर्गीकरण गरिन्छ–आधा हिस्सा महिलाको, आधा पुरुषको । मूल खम्बाभित्रको क्षेत्र महिलाको मानिन्छ, जसलाई दिछिम (दिछुम) भनिन्छ र मूल खम्बाभन्दा बाहिरको क्षेत्र पुरुषको मानिन्छ, जसलाई हुइलुङ भनिन्छ । ‘सांस्कृतिक रूपमा किरातीहरूका लागि बा भनेका मूल होइन, सहायक अभिभावक मात्रै हुन्,’ भोगीराज भन्छन् ।
असलमा पिता–सन्तान सम्बन्ध भन्नु नै परिर्वतनको लामो कथा हो । बदलिँदो समाज–संस्कृतिले यो सम्बन्धका भावना र चिन्तनको परिधिलाई पुनर्लेखन गरेको छ । बदलिँदो परिदृश्यको ऐनामा देखिन्छ– पुरानो र नयाँ समाज । बा–सन्तान सम्बन्ध समुद्रझैं गहिरो एक उज्यालो यात्रा हो । त्यो सम्बन्ध अब संवाद, मित्रता र सहयात्राको भर्याङ चढिरहेको छ ।
