बढ्दै छ हाँसोको बजार भाउ

डिजिटल, टेलिभिजन, फिल्म र स्टेजसमेत जोड्दा नेपालको हास्यव्यंग्य क्षेत्रको अर्थतन्त्र वार्षिक करिब ३ अर्ब रुपैयाँ पुगेको अनुमान छ ।

श्रावण ३१, २०८२

सजना बराल

The market price of laughter is increasing

What you should know

काठमाडौँ — हास्यव्यंग्य कस्तो हुनुपर्छ ? व्यंग्य–लेखनका शिखर भैरव अर्यालले भनेका छन्, ‘हास्यव्यंग्यलाई प्रहसनको हलुका स्तरबाट उठाई जीवन र जगत्का गम्भीर, गहन अनुभूति पनि बोक्न र पोस्न सक्ने गरी उठाउनु आजका हास्य–व्यंग्यकारको ध्येय हुनुपर्छ ।’ तर, नेपाली हास्यव्यंग्य हेर्दा एक गम्भीर प्रश्न उठ्छ— हामी किन अझै समाजको पिँधमा रहेकालाई नै खिसीटिउरी गर्ने परम्परामा अड्किएका छौं ? टेलिभिजनका सिरियल, सिनेमा, गाईजात्रे प्रहसन र कमेडी–शो हेर्नुस्— सीमान्तकृत समुदाय, भाषिक उच्चारण वा जीवनशैलीलाई आधार बनाएर गरिने ‘जोक्स’ नै मूलधारमा छन् । व्यंग्यको असली उद्देश्य सत्तासीन र शक्तिशालीमाथि प्रश्न गर्नु हो, कमजोर र वञ्चितिलाई होच्याउनु होइन । आजको हास्यव्यंग्यको मार्ग के हुनुपर्छ ?

०००

रंगमञ्च, रेडियो, टेलिशृंखला, चलचित्र, रियालिटी शो, विज्ञापन बजारदेखि कर्पोरेट हाउसका कार्यक्रमहरूमा अहिले हाँसोको माहोल छ । हास्य विधा र कमेडी कलाकारहरू सबैतिर छाएका छन् । टेलिभिजनदेखि युट्युब र टिकटकसम्मका मञ्चमा ‘कमेडी कन्टेन्ट’ बिकेका छन् । छिमेकी देशका कमेडियनहरू नेपाल आएर प्रस्तुति दिइरहेका छन् । दर्शकले हाँस्न चाहिरहँदा, कला क्षेत्रले त्यसको राम्रै बजारीकरण गरेको छ । पछिल्ला वर्षहरूमा मनोरञ्जन क्षेत्रको यो विधा आर्थिक रूपमा दरिलो बन्दै गएको देखिन्छ । 

तथापि, नेपालमा हास्यव्यंग्यको बजार अहिले कति छ वा कुल मनोरञ्जन क्षेत्रमा यसको व्यावसायिक हिस्सा कति हो ? यी प्रश्नको यकिन उत्तर दिन सजिलो छैन । किनभने यस क्षेत्रको तथ्यांक एक ठाउँमा राखेर अध्ययन भएका छैनन् । तर, डिजिटल प्लाटफर्मबाट हुने आम्दानी, विज्ञापन बजार, स्टेज कार्यक्रमको टिकट बिक्री, कमेडी फिल्मको ‘कलेक्सन’ समेतको अनौपचारिक तथ्यांकलाई आधार मान्दा वार्षिक २ अर्बदेखि ३ अर्ब रुपैयाँसम्म पुग्न सक्ने यस क्षेत्रका जानकारहरू अनुमान गर्छन् । टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’ का निर्देशकसमेत रहेका कमेडियन बिक्की अग्रवाल भन्छन्, ‘यो क्षेत्रमा पैसा नभएको होइन तर चुनावमा भोट हालेपछि मतदातालाई नै नतिजा कहिलेसम्म आइसक्छ भन्ने थाहा नभएझैं, पारिश्रमिक कहिले हात पर्छ, कुनै निश्चित मिति हुँदैन ।’ 

वार्षिक गाईजात्राका प्रहसनदेखि दैनिकजसो हुने ‘स्ट्यान्ड–अप कमेडी’ लाई नयाँ पुस्ताले ताजगीसहित अघि बढाइरहेका छन् । स्ट्यान्ड–अप गर्दा टिकट बिक्री, कर्पोरेट शो र प्रायोजनबाट मुख्य आम्दानी हुने गरेको नयाँ पुस्ताका चर्चित कमेडियन आयुष श्रेष्ठ बताउँछन् । कमेडियनहरूकै लागि भनेर ‘ह्याप्पी क्लब’ खोल्नेदेखि महिला कमेडियन र महिला दर्शक मात्र उपस्थित हुन पाउने गरी ‘पास द माइक’ जस्ता विभिन्न पहल यो क्षेत्रमा भइरहेको उनले सुनाए । काठमाडौं उपत्यकामै सातामा तीन वटा ‘ओपन माइक’ र एउटा नियमित ‘कमेडी शो’ भइरहेका छन् । आयुष आफैं पनि सातामा तीन वटा एक–एक घण्टाको एकल कार्यक्रम गर्छन् । यस्ता एकल प्रस्तुति पहिले गायन वा ‘टेड टक’ मा मात्रै सीमित थिए । हास्य कलाकारलाई कन्सर्टको बीचमा टुच्च घुसाउने चलन त अझै पनि छ । 

The market price of laughter is increasing

‘ओपन माइक’ मार्फत थुप्रै नयाँ कलाकारहरू आइरहेको आयुष बताउँछन् । यो यस्तो कार्यक्रम हो, जहाँ जोसुकैले पनि स्टेजमा गएर आफूले तयार पारेका हास्यास्पद कुराहरू दर्शकहरूलाई सुनाउन सक्छन् । नयाँ–नयाँ कलाकारहरूले आफ्नो प्रस्तुति दिन सकून् भनेर आयोजना गरिने यो एउटा खुला मञ्चजस्तो हो । काठमाडौं उपत्यकाका विभिन्न रेस्टुरेन्ट, नाटकघर, लर्निङ सेन्टरहरूमा ओपन माइक आयोजना हुने गरेका छन् । आयुषका अनुसार हाल काठमाडौंमा २५/३० जना जति सक्रिय ‘स्ट्यान्ड–अप कमेडियन’ छन् । अपूर्व क्षितिज सिंह, बीटी कान्छा, एलनजंग थापा, योजना मगर, रजिना, श्रद्धा प्रसाईंजस्ता नयाँ पुस्ताका कमिकहरू सक्रिय छन् । ‘प्रतिकार्यक्रम औसत १५ सयदेखि ३ हजार रुपैयाँसम्म पारिश्रमिक हुन्छ,’ उनले भने, ‘कर्पोरेट शोमा चाहिँ लाखसम्म आम्दानी हुन्छ तर यस्ता शो महिनामा दुइटा जति मात्रै हुन्छन् । मैले उच्चतम एउटा कर्पोरेट शोबाट २ लाख रुपैयाँ पारिश्रमिक पाएको छु ।’ 

गत वर्ष भारतका चर्चित युवा कमेडियन अभिषेक उपमन्युको कार्यक्रममा एक दिनमै २४ सय टिकेट बिक्री भएको आयुष सम्झन्छन् । दर्शक ओइरिएपछि उनले प्रज्ञा प्रतिष्ठानमा दुई खण्डमा कार्यक्रम गर्नॅपरेको थियो । त्यो बेला टिकटको मूल्य २ हजार रुपैयाँदेखि ३ हजारसम्म थियो । माग अधिक भएपछि अग्रिम टिकट बिक्री बन्द गर्नॅपरेको आयुषले बताए । ‘नेपाली आर्टिस्टलाई चाहिँ यस किसिमको सम्मान र भरोसा त्यति गरिँदैन,’ उनले भने, ‘सायद हामी परिपक्व भइसकेका छैनौं वा हाम्रो कला शैली थप परिस्कृत हुन बाँकी छ । तर, दर्शकको साथ पाएर नै हामी परिस्कृत हुने हौं । दर्शकचाहिँ हामी परिस्कृत भएपछि मात्रै आउन खोज्दै हुनुहुन्छ । यही विरोधाभासमा नेपाली स्ट्यान्ड–अप कमेडी अघि बढिरहेको छ ।’ 

औंलामा गन्न सकिने सीमित महिला कमेडियनहरूमाझ लोकप्रिय सीता न्यौपानेका अनुसार, हास्य क्षेत्रमा कलाकारको आर्थिक अवस्था उनीहरूको लोकप्रियतासँग सिधा सम्बन्धित छ । नियमित स्टेज शो, विशेष गरी अन्तर्राष्ट्रिय शोहरू पाउने कलाकारका लागि यो क्षेत्र निकै राम्रो छ । विगत साढे ४ वर्षदेखि यस विधामा पूर्णकालीन रूपमा लागेकी उनी महिनामा औसत तीनदेखि चार वटा कार्यक्रम गर्छिन् । लाइभ शो, विज्ञापन र चलचित्रमा चरित्र अभिनयमार्फत राम्रै जीविकोपार्जन भइरहेको उनले बताइन् । हाल उनी एउटा कमेडी चलचित्रको स्क्रिप्ट लेख्ने काममा पनि संलग्न छिन् । स्टेज शो गर्दा एउटा सोबाट ५०/६० हजार रुपैयाँसम्म कमाइ हुने उनले बताइन् । ‘आफ्नो कन्टेन्ट कत्तिको बिकाउन सकिन्छ, त्यसकै आधारमा यो क्षेत्रमा को कति समय टिक्छ भन्ने भरपर्छ,’ उनी भन्छिन्, ‘कमेडीका दर्शकचाहिँ फेयर छन्, राम्रो गर्नेलाई राम्रो सपोर्ट गर्छन् ।’ 

डिजिटल बजार

डिजिटल प्लाटफर्मको आगमनसँगै नेपाली हास्यव्यंग्यले नयाँ पखेटा फिँजारेको छ । युट्युबमा ‘मनिटाइज’ भएका च्यानलहरूले प्रतिहजार भ्युजमा ०.२५ देखि १ डलरसम्म कमाउँछन् भन्ने अनुमान छ । भ्युज करोडौंमा पुगेर मासिक लाखौं कमाउने पनि छन् । सामाजिक सञ्जालहरूमा ‘इन्फ्लुएन्सर मार्केटिङ’ र ‘ब्रान्डिङ’ बाट कलाकारले थप आम्दानी गर्छन् । डिजिटल माध्यममा चाहिँ आजभोलि हास्यव्यंग्यको बाढी नै आएको कलाकार जितु नेपालको बुझाइ छ । समयसापेक्ष र दर्शकको रुचिअनुसार ‘कन्टेन्ट’ बनाउन सके त्यताबाट राम्रै भरथेग हुने उनी पाउँछन् । 

The market price of laughter is increasing

युट्युबमा नेप–ग्याजम, गजुरियल च्यानल, लाफ एन्ड क्ल्याप, ह्याप्पी क्लब नेपालजस्ता च्यानलले हास्यप्रधान भिडियो, ‘ट्रेन्डिङ मिम’, ‘स्किट’ र सामाजिक व्यंग्यमा आधारित ‘कन्टेन्ट’ हरू राख्ने गरेका छन् । नेप–ग्याजममा ६ वर्षअघि अपलोड भएको कमेडियन लेखमणि त्रितालको ‘विड–२, रमेश अंकलको छोरो स्पेसल’ नामक कमेडीमा २१ लाख भ्युज छ भने कमेडियन सीता न्यौपानेको ‘जय नारी’ मा १९ लाख । ओएसआर रियालिटी, मिडिया हबजस्ता नेपालका चल्तीका युट्युब च्यानलहरूले चाहिँ हास्य टेलिशृंखला र रियालिटी शोहरू प्रस्तुत गर्छन् । ओएसआरमा हालसम्म ‘कमेडी दरबार सिजन २’ को ‘सक्किगो नि स्पेसल’ भिडियोमा १५ लाख भ्युज छ । युट्युबले प्रतिहजार भ्युजमा प्राप्त हुने रकमका आधारमा आम्दानी वितरण गर्ने भएकाले यसबाट ओएसआरले सम्भवतः ५० हजार रुपैयाँदेखि २ लाख ६८ हजार रुपैयाँका बीचमा आम्दानी गरेको अनुमान गर्न सकिन्छ ।

हास्यव्यंग्यको व्यावसायिक जग

नेपालमा हास्यव्यंग्य विधाको व्यावसायिक जग बसाउने श्रेय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ ‘मह’ जोडीलाई जान्छ । उनीहरूले यस विधालाई रंगमञ्चमा सीमित नराखी रेडियो, टेलिभिजन, क्यासेट चक्का, सीडी, भीसीडी र फिल्ममा विस्तार गरे । आजभन्दा ३५ वर्षअघि नै नेपाल टेलिभिजनमा हास्यव्यंग्य कार्यक्रम बनाएर महले यसलाई अघि बढाएको फिल्म निर्देशक एवं मनोरञ्जन क्षेत्रका विश्लेषक दीपेन्द्र लामा बताउँछन् । ‘मह जोडीका लालपुर्जा, लक्ष्मी, १५ गते, बनपाले, सुर–बेसुर, आमा, हरिबहादुर–मदनबहादुरजस्ता कार्यक्रम निकै लोकप्रिय बने,’ उनी भन्छन्, ‘त्यसताका नै गाईजात्राका बेला रंगमञ्चका प्रस्तुतिहरूलाई पनि उनीहरूले अडियो क्यासेटमा रूपान्तरण गरेर बिक्री गरे । हास्यव्यंग्यको व्यावसायिक जग त्यहाँबाट बस्न थालेको हो ।’ 

आफूहरू कला क्षेत्रमा प्रवेश गर्दा हास्यव्यंग्य विधा व्यावसायिक बनिनसकेको हरिवंश पनि सम्झन्छन् । उनका अनुसार त्यो बेला हास्यव्यंग्य प्रस्तुति गरेबापत बकस दिने, चिया, चुरोट, मिठाई खुवाउने चलन थियो । आफूहरूले यसलाई व्यावसायिक बनाएको र अहिले धेरै मानिस यस क्षेत्रमा आश्रित रहेको उनको बुझाइ छ । हरिवंश आफूले पनि हास्यव्यंग्य गरेरै घर, घडेरी, सवारीसाधनजस्ता सम्पूर्ण सम्पत्ति जोडेको बताउँछन् । ‘त्यो बेला जोडेको सम्पत्ति अहिले मूल्यवान भएका छन्, मूल्यवृद्धिले गर्दा लाखको सम्पत्ति करोड भइसक्यो,’ उनी भन्छन्, ‘हास्यव्यंग्यले नै हामीलाई आधा पृथ्वी घुमायो, अरू घुम्दा पैसा सक्छन्, हामीले घुमेर उल्टै पैसा कमायौं ।’ आफूहरूले विदेशका धेरै कार्यक्रम गरे पनि नेपाली समुदायमै सीमित रहनुपरेको दुखेसो उनलाई रहेछ । विभिन्न भाषामा दक्खल राख्ने, प्रविधिमा अभ्यस्त र देश–विदेशका खबरमा अपडेटेड अहिलेको नयाँ पुस्ताले अब हास्यव्यंग्यलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्नेमा उनी आशावादी सुनिए । 

महपछिको पुस्ता, टेलिशृंखलाबाटै उदाएको थियो । २०६० देखि २०७० को दशकमा इन्टरनेट सर्वसुलभ भइनसक्दा टेलिभिजनमा आउने हास्य कार्यक्रम व्यापक लोकप्रिय थिए । ‘हिजोआजका कुरा’, ‘ट्वाक्क–टुक्क’, ‘तीतो सत्य’, ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’, ‘हत्तेरिका’ लगायत दर्जनौं कार्यक्रम सयौं एपिसोडसम्म चले । मेरी बास्सै त अझै पनि टेलिभिजनमा आउँदै छ । रेडियोमा ‘रामविलास र धनियाँ’ जस्ता हास्यप्रधान नाटक हुँदै तीतो सत्य र अहिले कमेडी विधाकै एकपछि अर्को हिट फिल्म बनाएकी दीपाश्री निरौला अब भने हास्यव्यंग्यमा ढुक्कका दिन आएको बताउन थालेकी छन् । ‘हास्यव्यंग्य क्षेत्र अहिले दरिलो भएको छ, निकै फड्को मारेको छ,’ उनी भन्छिन्, ‘पहिले हास्य कलाकारलाई फिल्ममा स–साना खुद्रै रोल दिइन्थ्यो, अहिले लिड रोलमै हामी छौं । यो समय नै हाँसोको हो ।’ 

हास्यशृंखला लोकप्रिय हुँदाका क्षणचाहिँ कस्तोसम्म थियो भने ‘तीतो सत्य’ वा ‘मेरी बास्सै’ हेर्न दर्शकहरू बार कुरेर बस्ने गरेको मिडिया हबमा तीन दशक बिताएर अहिले प्राइम टेलिभिजनमा आबद्ध सोमप्रसाद धितालको सम्झना छ । नेपाल टेलिभिजनमा यी कार्यक्रमहरू प्रसारण हुने समयमा विज्ञापन राख्ने ठाउँ पाउनै मुस्किल पर्ने उनले बताए । ‘हप्तामै ७–८ लाख रुपैयाँको विज्ञापन बेच्ने अवस्था थियो,’ उनले भने, ‘आधी घण्टाको कार्यक्रममा १५ देखि १८ मिनेट विज्ञापन बज्थ्यो । त्यो बेला गरिएको एउटा अध्ययनअनुसार ‘मेरी बास्सै’ र ‘तीतो सत्य’ जस्ता सिरियल एकसाथ ५०/६० लाख दर्शकले हेर्थे भन्ने अनुमान थियो । मनोरञ्जनको अरू कुनै विकल्प नभएकाले टीभीमै झुम्मिने जमाना थियो ।’ 

The market price of laughter is increasing

त्यो बेला मेला–महोत्सवमा हास्य कार्यक्रम र कलाकारहरू जनसागर तान्ने चुम्बकजस्तै थिए । कलाकार सीताराम कट्टेल धुर्मॅसलाई धनगढीमा भीड थामिनसक्नु भएपछि कार्यक्रमै नगरी फर्किनुपरेको घटना अझै ताजा छ । ‘२०६२/६३ सालतिरको कुरा हो, धनगढीमा कार्यक्रम गर्ने भनेर प्रचार गरियो, हामी पुगेपछि त दर्शक १ लाखजति जम्मा भएछन्,’ उनी भन्छन्, ‘अनियन्त्रित भीडका कारण हामीले कार्यक्रम नै गर्न सकेनौं ।’ आर्थिक मन्दीले गर्दा अहिले यो क्षेत्रमा केही कठिनाइ आइपरेको उनको विश्लेषण छ । विज्ञापन र प्रायोजनमा कटौती हुनुका साथै उद्योग कारखाना चलायमान नहुँदा त्यसको प्रभाव परेको उनले बताए । ‘मिहिनेत र सिर्जना गर्नेका लागि यो बजार उर्वर छ,’ उनले भने ।

कमेडियन बिक्की अग्रवाल आफ्नो पेसालाई घर–घरमा स्वीकार गर्ने जमात बढेकामा खुसी छन् । ‘पहिले जो पनि हिरो बन्ने सपना देख्थे, अहिले त ‘म पनि कमेडियन बन्न चाहन्छु’ भन्नेहरू पनि प्रशस्तै पो छन्,’ बिक्की भन्छन्, ‘नेपालमा गरिखान जुनै क्षेत्रमा पनि गाह्रै छ तर पैसा कम भएर यस्तो भएको होइन, वित्तीय अनुशासन नभएर यस्तो भएको हो । टेलिभिजनमा चार एपिसोड पुगेपछि आउनुपर्ने पैसा १३ एपिसोड गरिसक्दा पनि आउँदैन । वित्तीय अनुशासन भइदिएको भए एकदम ल्याभिस तरिकाले बाँच्न सकिन्थ्यो ।’ उनको ‘कमेडी दरबार’ ले तीन दिनमा औसत ३० लाख भ्युज पाउँछ । उनी टिमलाई ४० हजारभन्दा कम पारिश्रमिकमा स्टेज शो नगर्न सल्लाह दिन्छन् । 

यो चम्किलो बजारमा कहिलेकाहीँ आर्थिक चुनौतीको धमिलो छाया देखापर्ने जितु नेपाल औंल्याउँछन् । ‘स्टेजमा चढेर २० वर्ष पुरानो गीत गाउँदा हुन्छ तर कमेडी भने हरेकपल्ट नयाँ हुनैपर्छ, नत्र कोही हाँस्दैन,’ उनी भन्छन्, ‘हामीलाई प्रायोजक पाउन गाह्रो छ, दर्शकको अपेक्षा उच्च छ र नेपाली कमेडियनको कार्यक्रममा दर्शक पनि त्यति अनुशासित भइदिनु हुन्न । ढिला आइपुग्ने, ‘हल्लाखल्ला’ चलन छ ।’ कमेडियनलाई निरुत्साहित पार्ने, मुद्दा नै हाल्ने गतिविधिले नयाँ पुस्ताको उत्साह मार्ने जोखिम रहेको कतिपयको धारणा छ । नयाँ पुस्ताले पनि रोस्टका नाममा गाली गर्ने, चित्त दुखाउने काम गर्न नहुने हरिवंशको सुझाव छ । तर, यस्ता यावत् चुनौतीमाझ पनि कमेडी फिल्महरू भने बक्स अफिसमा सबैभन्दा धेरै कमाउने सूचीमा पर्छन् ।

फिल्ममा कमेडी

पछिल्लो दशक नेपाली फिल्म क्षेत्रमा कमेडी विधा हाबी भएको छ । दीपक–दीपाले बनाएका फिल्महरूले मात्रै १०० करोडभन्दा बढी ग्रस आम्दानी गरेका छन् । ‘छ एकान छ’, ‘वडा नम्बर ६’, ‘छक्कापञ्जा १ देखि ५’ र ‘छ माया छपक्कै’ सबै फाइदामा गए । यही क्षेत्रमा लागेर उनीहरूले फिल्म हलसमेत खोलेका छन् । यो विधाको ‘कबड्डी’, ‘सत्रुगते’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘घामपानी’, ‘पशुपति प्रसाद’, ‘महाजात्रा’, ‘लुट’ जस्ता फिल्मले आ–आफ्ना किसिमका कीर्तिमानी राखेका छन् । धेरै त ‘ट्रेन्ड–सेटर’ नै बनेका थिए । 

The market price of laughter is increasing

केही वर्षयता सुरु भएका टेलिभिजनका रियालिटी शोहरूमा पनि कमेडीको प्रभाव बलियो देखिन्छ । हालै मात्र कमेडी च्याम्पियन सिजन ३ का विजेताले ३९ लाख रुपैयाँको ईभी कार पुरस्कारमा पाए । ‘कमेडी च्याम्पियनका विजेताले कार पाउनेसम्मको प्रायोजन बजार बनेको छ,’ विश्लेषक लामा भन्छन्, ‘गीत गाएर मात्रै होइन, ‘स्ट्यान्डअप’ गरेर कार जित्ने जमाना आएको छ ।’ 

तथ्यांकहरू अनुमानित नै भए पनि एउटा कुरा भने प्रस्ट देखिएको छ, अब नेपालको हास्यव्यंग्य क्षेत्र एउटा ठूलो अर्थतन्त्र हो । डिजिटल, स्टेज, फिल्म र टेलिभिजन जोड्दा वार्षिक २–३ अर्ब रुपैयाँको बजार यसलाई मानिएको छ । हास्यव्यंग्य बिकाउ भए पनि अब टिकाउ बनाउनेतर्फ लाग्ने बेला आएको यसमा आबद्ध कलाकार, बजार विश्लेषक, मनोरञ्जन क्षेत्रका विज्ञहरूको एकमत छ । गाईजात्राबाट सुरु भएको हाँसोको यात्रा युट्युब र टिकटकको ‘अल्गोरिदम’ सम्म आइपुग्दा दर्शक भने अझै पनि हाँसोको प्यास मेटाउन आतुर देखिएका छन् । 

नेपालमा झैं भारतमा पनि यो क्षेत्रको यकिन तथ्यांक एक ठाउँमा छैन । आकलन छ । तर, सन् २०२४ मा भारतको समग्र मिडिया र मनोरञ्जन बजार करिब ३० अर्ब अमेरकी डलर अर्थात् लगभग २४ हजार करोड रुपैयाँको थियो भन्ने अनुमान गरिएको छ । समग्र मनोरञ्जन बजारको १० देखि १५ प्रतिशत हिस्सा हास्यव्यंग्य बजारले ओगट्ने विभिन्न अध्ययनले देखाएका छन् । भारतमा नेटफ्लिक्स, अमेजन प्राइम, डिज्ने प्लस हटस्टार जस्ता ओटीटी प्लाटफर्महरूले ‘स्ट्यान्ड–अप कमेडी’ विशेष शोहरूमा लगानी नै गर्छन् । जाकिर खान, कपिल शर्माजस्ता चर्चित कमेडियनहरूले प्रतिकार्यक्रम न्यूनतम ५० लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्म लिने गरेको बताइन्छ । 

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully