पञ्चायतकालीन समयदेखि यहाँसम्म आइपुग्दा कुन समयमा कसले, कसरी हास्यव्यंग्यलाई डोर्याए त ? यो कतिसम्म फैलन पायो त ? के नेपाली हास्यव्यंग्यले पहिले जस्तै राजनीतिमाथि तीखो व्यंग्यवाण गर्ने शक्ति जोगाइराखेको छ ? महजोडीदेखि सन्तोष पन्तसम्म, दीपक-दीपादेखि धुर्मुस-सुन्तलीसम्मले हास्यव्यंग्य जगत्मा के गरिरहेका छन् ?
What you should know
काठमाडौँ — व्यंग्य–लेखनका शिखर भैरव अर्यालले हास्यव्यंग्य कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा भनेका छन्, ‘हास्यव्यंग्यलाई प्रहसनको हलुका स्तरबाट उठाई जीवन र जगतका गम्भीर, गहन अनुभूति पनि बोक्न र पोस्न सक्ने गरी उठाउनु आजका हास्य–व्यंग्यकारको ध्येय हुनुपर्छ ।’ अर्यालको प्रश्न आज पनि उत्तिकै सान्दर्भिक छ । किनकी नेपाली हास्य–व्यंग्य अहिले पनि यस्तै प्रश्नहरुबाट घेरिएको छ । समाजका पिँधमा रहेकालाई नै खिसिट्युरी गर्ने, सिमान्तकृत समुदाय, भाषिक उच्चारण वा जीवनशैलीमाथि जोक्स गर्ने आरोप नेपाली हास्य–व्यंग्यले खेपिरहेकै छ । नेपाली हास्य–व्यंग्य शक्ति, सीमा र भविष्य के हो ? ‘कोसेली’को यस अंकमा हामीले हास्यव्यंग्यका यिनै आयाममाथि विमर्श गर्ने प्रयत्न गरेका छौं ।
फुटबल म्याचमा जब स्कोररले बल छलाउँदै गोल गरिदिन्छ, हेर्नेहरूको रोमाञ्चले आकाश छुन्छ । हास्यव्यंग्यको मैदानमा पाँच दशकयता असीमित स्कोर गरिरहेका अभिनेता हरिवंश आचार्य भन्छन्, ‘हास्यव्यंग्य पनि स्कोररले छलाइ छलाइ गोल गरेजस्तै हो ।’
दर्शकको लोकमा लोकप्रिय विधामध्ये एक हो हास्यव्यंग्य । यसको रथलाई हाँकेर यहाँसम्म ल्याइपुर्याउनेमध्येमा पर्छन्– मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । हास्य जगत्मा त उनीहरूको गुलिलो सम्बन्धलाई ‘मह जोडी’ का नाममा श्रद्धा पनि गरिन्छ । मह जोडी यस्ता प्रतिभा हुन्, जसले हास्यव्यंग्यको सम्भावनालाई पनि प्रहसन, नाटक र टेलिभिजनबाट फराकिलो बनाउँदै लगे ।
नेपालमा हास्यव्यंग्यको इतिहास धेरै टाढा छैन । फर्केर हेर्दा भैरव अर्यालको निबन्ध संग्रहका पन्नाहरूसम्म पुगिन्छ । हरिवंशको सम्झनामा त हास्यव्यंग्यको व्यावसायिक खाँबो ०३८ सालमा मात्र गाडियो । पञ्चायतकालीन समयदेखि यहाँसम्म आइपुग्दा कुन समयमा कसले, कसरी हास्यव्यंग्यलाई डोर्याए त ? यो कतिसम्म फैलन पायो त ? यसबारे विमर्श गरौं :
हरिवंश आफूहरू आउनुअघि आकलझुकल प्रहसन गर्नेहरूमा ध्रुव हाडा, राजपाल थापा र गोपालराज मैनालीहरू रहेको बताउँछन् । ‘राजाको जन्मोत्सवमा प्रहरीले कार्यक्रम देखाउँथ्यो । उहाँहरूले व्यावसायिक नभई जागिरेको हिसाबले देखाउनुहुन्थ्यो,’ उनी सम्झिन्छन् ।
हिजोका दिनमा जस्तो औंलामा गन्न सकिने संख्या मात्र सीमित छैनन् आजका कमेडियन । यो क्षेत्रप्रति चासो र आकर्षण पनि उत्तिकै बढ्दो छ । नयाँ–नयाँ प्रतिभा जन्मिरहेका छन् । हरिवंश र मदनकृष्ण पहिले छुट्टाछुट्टै प्रहसन गर्थे । उनीहरूले ३७ सालदेखि सहकार्य गरे । त्यसपछि उनीहरूको हास्यव्यंग्य यात्राले त उडानै भर्यो । पञ्चायती व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गरेको समयमा हास्यव्यंग्य गर्नु निकै चुनौतीपूर्ण थियो । त्यही जर्जर अवस्थाबाट फुलेर फक्रेका थिए मह जोडी । सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेला उनीहरूले गाईजात्रामा ‘यमलोक’ शीर्षकमा प्रहसन गरे । राजा, प्रधानमन्त्रीलाई व्यंग्य गर्न सजिलो कहाँ थियो र ! हास्यव्यंग्यको इज्जत पनि उनीहरूको प्रहसन भरिएको क्यासेटसँगै घरघरमा पुग्यो ।
हास्यव्यंग्यलाई डोर्याउने अर्का पात्र हुन्, सन्तोष पन्त । पन्तले पञ्चायतकालीन समयमै हास्यव्यंग्य यात्रा थाले । पछि ०५३ बाट प्रसारण भएको पन्तको टेलिफिल्म ‘हिजोआजको कुरा’ ले नेपाल टेलिभिजनको पर्दामार्फत दर्शकलाई दशकभन्दा बढी हँसाइरह्यो । त्यसले कमेडियन सपनाहरू पनि जन्मायो । अहिले पनि जितु नेपाल, केदार घिमिरेहरू ‘हिजोआजका कुरा’ को सेट खोज्दै अडिसनका लागि धाएका दिनहरू सम्झिन्छन् ।
पन्त कलाकार बन्न चाहनेहरूको लाइन आफ्नै घरअगाडि राख्थे । अडिसन लिन्थे र चाहिएका बेला बोलाउँथे । कलाकारिता जगत्मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार, जितु, दमन रूपाखेती, रमा थपलिया, विजय गिरी र दिनेश डीसी पन्तकै बाटो पछ्याउँदै हिँडे ।
बलियो राजनीतिक र सामाजिक चेतसहितको हास्यव्यंग्यलाई लय भर्ने काम कमेडियन मनोज गजुरेलले पनि गरे । मनोजले ०४६ यता आममान्छेदेखि शक्तिशाली पात्रहरूको चरित्रलाई क्यारिकेचर, सत्तालाई व्यंग्यमार्फत बलियो प्रहार गरिरहेका छन् । ‘म ०४६ सालपछिको उत्पादन हुँ । त्यसकारण फल्ने र फुल्ने सहज अवसर पाएँ,’ उनी भन्छन् । त्यति बेला नेपाल टेलिभिजन र रेडियो नेपालको दबदबा भए पनि राजनीतिक व्यंग्यले ती माध्यममा स्थान पाउँदैन थिए । ‘त्यसकारण मैले राजनीतिक र विद्यार्थी संगठनको बीचमा हास्यव्यंग्य गर्थें,’ मनोज सम्झन्छन् । त्यति बेला मनोजले गरेको मदन भण्डारीको क्यारिकेचरलाई दर्शकले खुब रुचाएका थिए ।
कमेडीमा ६० दशकको सुरुवात भने सन्तोष पन्तको बाटो पछ्याइरहेकाहरूले गरे । त्यो दशकभर सानो पर्दामा उनीहरूले जबर्जस्त राज गरे । २०६० तिर दीपकारज गिरी र दीपाश्री निरौलाले ‘तीतो सत्य’ नामक हास्य टेलिशृंखला सुरु गरे । ‘तीतो सत्य’ हर घरमा प्रतीक्षित टेलिशृंखला थियो । त्यही समयमा जितु नेपाल, शिवहरि पौडेलहरूले ‘जिरे खुर्सानी’ सुरु गरे । किरण केसी, दमन रुपाखेती, केदार घिमिरे र सीताराम कट्टेलसम्म ‘जिरे खुर्सानी’ का एपिसोडहरूमा छाउँथे ।
‘तीतो सत्य’ र ‘जिरे खुर्सानी’ छाएको ३ वर्षपछि नेपाल टेलिभिजनमा नयाँ हास्य टेलिशृंखलाको सुरुवात भयो । दमन रुपाखेती, सीताराम कट्टेल, केदार घिमिरेहरू ‘मेरी बास्सै’ को पर्दामा चम्किन थाले । केदारको ‘माग्ने बुढा’ र सीतारामको ‘धुर्मुस’ चरित्र यति लोकप्रिय भयो कि अहिले पनि उनीहरूलाई दर्शकले पात्रको नामबाट बढी चिन्छन् । सामाजिक र राजनीतिक चेतसहितका यी हास्यव्यंग्य रुचाइनुको कारण के थियो भने यी आममानिसका कथासँग नजिक थिए ।
सानो पर्दामा जमिरहने यिनै प्रतिभा ०७० मा एकसाथ ठूलो पर्दामा देखिए । दीपक–दीपासँगै, जितु, केदार, सीतारामहरूको संयुक्त उपस्थितिले बनेको फिल्म ‘छ एकान छ’ बक्स अफिसमा हिट भयो । त्यसपछि दीपक–दीपा, केदार र जितुहरूको गठबन्धनबाट ‘वडा नम्बर ६, ‘छ माया छपक्कै’ र ‘छक्का पञ्जा’ सिरिजहरू जन्मिए । ६० को दशकमा सानो पर्दामा जबर्जस्त जमिरहेका उनीहरूले ७० को दशक फिल्म क्षेत्रमा दरिलो उपस्थिति देखाए । उनीहरूको प्रत्येक फिल्मले एकअर्काको रेकर्ड तोड्यो । अहिले पनि दीपक, दीपा, जितु, केदारहरू फिल्मी दुनियाँमा सबैभन्दा लोकप्रिय पात्रमध्येमा गनिन्छन् ।
टेलिभिजनमा भने पछिल्लो समय ‘भद्रगोल’ हुँदै ‘सक्किगोनी’ निर्माण गरेका अर्जुन घिमिरे र कुमार कट्टेलहरू लोकप्रिय रहे । पछिल्लो समय सानो पर्दामा देखिएका हास्य कलाकारहरूले चलचित्रमा बलियो उपस्थिति बनाए ।
६ वर्षअघि आएको रियालिटी शो कमेडी च्याम्पियनले नवीन प्रतिभाहरू जन्मायो । रियालिटी शोलाई प्लाटफर्म बनाएर आएका हिमेश पन्त, भरतमणि पौड्याल, सुमन कार्की, सुमन कोइराला, म्याक्सम गौडेल, बिकी अग्रवालहरू अहिले कमेडी शो र स्ट्यान्डअप कमेडीमा जमिरहेका छन् । यो हरिवंश हुँदै दीपकराज, जितु, सीताराम र केदारहरूलाई हेर्दै हुर्किएको पुस्ता हो ।
सुमन कार्की आफ्नो पुस्तामा प्लाटफर्म जति धेरै भयो उति चुनौती थपिएको महसुस गर्छन् । ‘अघिल्लो पुस्ताको कुरालाई पनि निरन्तरता दिएका छौं । तर यति मात्र हो त, फरक के त भन्ने कुराले पनि झक्झकाइरहन्छ । फरक खोज्ने, फरक गर्ने र नयाँ पुस्ताका दर्शकलाई आकर्षित बनाउने चुनौती हामीलाई छ,’ उनी भन्छन् ।
हास्यव्यंग्यको हुर्काइसँगै कलाकारहरू विभिन्न समयमा आलोचित पनि छन् । कमेडीका नाममा स्त्रीद्वेषी तथा जातीय र रंगभेदी शब्द प्रयोग गर्नु, व्यक्तिका शारीरिक बनावटलाई लिएर खिसीटिउरी गर्नु जस्ता कुराले कमेडियनहरू विवादमा परिरहन्छन् । हिजोका दिनमा जस्तो औंलामा गन्न सकिने संख्या मात्र सीमित छैनन् आजका कमेडियन । यो क्षेत्रप्रति चासो र आकर्षण पनि उत्तिकै छ । नयाँ–नयाँ प्रतिभा जन्मिरहेका छन् । संख्यासँगै गुणवत्ताको उत्तिकै जरुरी छ । हिजो अभिव्यक्ति निषेधको समयमा पनि हरिवंशहरू शक्ति र सत्तालाई घुमाइफिराइ गतिलो व्यंग्य वाण प्रहार गर्न सक्थे । आज त्यो निषेधको पर्खालबाट हास्यव्यंग्य (अपवादबाहेक) धेरै माथि उठेको छ । तर पछिल्लो पुस्ताले दरिलो वाण फ्याँकिरहेको छैन । कमेडियनले कुनै नेताको नाम सजिलै लिन सक्छ, नेताले त्यसलाई सजिलै पचाउन पनि सक्छ । तर व्यंग्य जति शक्तिशाली हुनुपर्थ्यो, त्यसका लागि अझै निखारपन ल्याउनुपर्ने देखिन्छ । हरिवंश उही स्कोररले छलाइ छलाइ गोल गर्ने प्रसंगलाई अहिलेको व्यंग्यचेतसँग जोड्दै भन्छन्, ‘अहिले बोल्न पाइने फराकिलो समाज त भो । तर कमेडीचाहिँ छलाउनु नपरीकन ड्याङड्याङ हानिने पेनाल्टी जस्तो भयो ।’
अब हास्यव्यंग्यलाई पेनाल्टीमै चित्त बुझाउने वा त्यो भन्दा माथि उठाउने, यसको जिम्मा भने नयाँ पुस्ताकै काँधमा छ ।
