नबोली हँसाउने च्याप्लिन र बिन, हास्यव्यंग्यबाटै सत्तामा पुगेका जेलेन्स्की तथा सस्तो कमेडीले चर्चित कपिल शर्मासम्म

चार्ली च्याप्लिन हास्यसँगै समाजका बेथितिविरुद्ध र न्यायको पक्षमा उभिने पात्रको भूमिका खेल्थे । उनको पात्रले खालि दर्शक हँसाउने काम मात्रै गरेन, सोच्न बाध्य पनि बनाउँथ्यो । उनी कमेडीमार्फत पनि समाजमा रूपान्तरण गर्न सकिन्छ भन्ने बलियो पात्र हुन् ।

श्रावण ३०, २०८२

दया दुदराज

Chaplin and Bean who laugh without speaking, Zelensky who came to power through humor and Kapil Sharma who is famous for cheap comedy.

What you should know

व्यंग्य–लेखनका शिखर भैरव अर्यालले हास्यव्यंग्य कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा भनेका छन्, ‘हास्यव्यंग्यलाई प्रहसनको हलुका स्तरबाट उठाई जीवन र जगतका गम्भीर, गहन अनुभूति पनि बोक्न र पोस्न सक्ने गरी उठाउनु आजका हास्य–व्यंग्यकारको ध्येय हुनुपर्छ ।’अर्यालको प्रश्न आज पनि उत्तिकै सान्दर्भिक छ । किनकी नेपाली हास्य–व्यंग्य  अहिले पनि यस्तै प्रश्नहरुबाट घेरिएको छ । समाजका पिँधमा रहेकालाई नै खिसिट्युरी गर्ने, सिमान्तकृत समुदाय, भाषिक उच्चारण वा जीवनशैलीमाथि जोक्स गर्ने आरोप नेपाली हास्य–व्यंग्यले खेपिरहेकै छ । नेपाली हास्य–व्यंग्य शक्ति, सीमा र भविष्य के हो ? ‘कोसेली’को यस अंकमा हामीले हास्यव्यंग्यका यिनै आयाममाथि विमर्श गर्ने प्रयत्न गरेका छौं ।

मार्च १, १९७८ । बुधबार साँझ ।

स्विट्जरल्यान्डको कोर्सियर सुर भेवे । उना ओ’निलको घर ।

फोनको घण्टी बज्छ । उनले उठाइन् । फोनमा आवाज ठोक्कियो, ‘छ लाख दिनुहोस् आफ्नो श्रीमान्को शव लैजानुहोस् ।’ फोन राख्नासाथ ओना श्रीमान्को चिहानमा पुग्छिन् । तीन महिना अगाडि बितेका श्रीमान्को चिहानमा उनले शव देख्दिनन् । लगत्तै प्रहरीमा खबर पुग्यो– चिहानमा गाडिएको शव चोरी भयो । चोरी भएको त्यो शव कमेडियन चार्ली च्याप्लिनको थियो । सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य घटना हो । १९७७ डिसेम्बर २५ मा बितेका च्याप्लिनको शव ३ महिनापछि अर्थात् मार्च १ मा चोरी भएको थियो । शव चोरी हुनुको कारण थियो उनको प्रसिद्धि ।

कमेडीको क्षेत्रमा चार्ली च्याप्लिन विश्वप्रसिद्ध पात्र हुन् । अजीव लाग्दा जुगा । कालो चुच्चो टोपी । फरक हिँडाइ शैलीका कारण फरक पहिचानका च्याप्लिन बोल्दै नबोली लाखौं मानिसलाई हँसाउन सक्थे । उनी केवल एक अभिनेता मात्र थिएनन्, कमेडीका बादशाहसँगै गरिबी र असमानताविरुद्ध लड्ने एक कलात्मक विद्रोही पनि थिए । १६ अप्रिल १८८९ मा लन्डनको एक निम्न वर्गीय परिवारमा जन्मिएका च्याप्लिन अभिनीत उनका चरित्र हेर्दा जति सुखद् र हास्यास्पद देखिन्छ, उनी स्वयंको बाल्यकाल भने त्यत्तैकै दुःखद् र रोदनले भरिएको थियो ।

जति कम शब्द प्रयोग गर्‍यो, कमेडी उति विश्वव्यापी हुन्छ भन्ने मान्यतालाई मिस्टर बिनले बिना संवादको अभिनयले सारा विश्वलाई एक बनाइदिए भने यतिबेलाका जल्दाबल्दा कपिल शर्मा भन्छन्, ‘कमेडी भनेको कसैको मजाक उडाउनु होइन, केही क्षणका लागि उनीहरूको समस्या भुलाउनु हो ।’ बाल्यकालमै बाबुको मृत्यु । मानसिक रोगी आमा र भाइको हेरचाह गर्नुपर्ने कारणले सानै उमेरमा उनीमाथि जिम्मेवारी थपियो । सानै उमेरदेखि जिम्मेवारीले थलिएका उनले भनेका थिए– ‘रोएको कसैले देख्न नसकोस् भनेर म सधैं पानी परेका बेलामा हिँड्न मन पराउँछु ।’ उनका यी भनाइहरूले उनको बाल्यकाल कस्तो रह्यो भन्ने कुरा यसै बुझ्न सकिन्छ । तर उनको जीवन सधैं एकैनासको भने रहेन ।

१० वर्षको उमेरदेखि नै स्टेजमा उत्रिएका उनी १६ वर्षको हुँदा ‘फ्रेड कार्नो कम्पनी’सँग मिलेर अमेरिका भ्रमणमा गए । जसले उनको जीवनको मार्ग बदल्यो । अमेरिकी दर्शकको मन जित्न सफल भएका उनले बिस्तारै फिल्महरूमा अभिनय गर्ने अवसर पाउँदै गए । १९१४ मा ‘किड अटो रेसेस् एक भिनिस्’ नामक ११ मिनेटको ‘सर्ट मुभी’मा उनी पहिलो पटक पर्दामा देखिए । उनको सुरुवाती तलब थियो– साताको १५० डलर । तर रातारात उनको चर्चा बढ्न थालेपछि बिस्तारै उनले चलचित्र कम्पनीहरूसँग पारिश्रमिक थप्ने सम्झौता गर्दै गए ।

बिस्तारै उनी चलचित्रमा जम्दै जान थाले । १९१४ मा उनले ‘द ट्र्याम्प’ मा निभाएको भूमिका संसारका गरिब, अनाथ र उत्पीडितहरूको आवाज बन्न सफल भयो । जसले उनी हास्यास्पदसँगै समाजका बेथितिविरुद्ध पनि बुलन्द आवाज हुन् भन्ने परिभाषित गर्‍यो । उनी कहिले चतुर, कहिले भद्दा मजाक भए पनि प्रायः दयालु र न्यायको पक्षमा उभिने पात्रको भूमिका खेल्थे । उनको पात्रले खालि दर्शक हँसाउने काम मात्रै गरेन । दर्शकहरूलाई सोच्न बाध्य पनि बनाउँथ्यो ।

च्याप्लिनले खेलेका चलचित्रहरू केवल मनोरञ्जनका लागि मात्रै थिएनन् । उनले खेलेका चलचित्रहरूले समाजमा भएको बेथिति र विसंगतिलाई पनि प्रतिबिम्बित गर्थ्यो । उनी कमेडीमार्फत पनि समाजमा रूपान्तरण गर्न सकिन्छ भन्ने बलियो पात्र हुन् । उनका धेरै चलचित्रहरूले असहाय र अभावमा भएकाहरूका कथा बोल्दै समाजको ऐना बन्ने काम गरेको छ ।

१९२१ मा रिलिज भएको ‘द किड’ले गरिब र अनाथ बालकको कथा बोलेको छ । १९३६ को ‘मोर्डन टाइम्स’ले मेसिनको गतिमा दौडिने औद्योगिक समाज र मानवीयताबीचको द्वन्द्वलाई उठान गरेको छ । त्यस्तै १९४० को ‘द ग्रेट डिटेक्टर’ले युद्धको विरोध गर्दै हिटलरको व्यंग्य गरेको छ । यसमा उनले युद्धको विपक्षमा वकालत गर्दै मानवताको पक्षमा देखिएका छन् । यो चलचित्रको अन्त्यमा च्याप्लिनले दिएको भाषण आज पनि सिनेमा इतिहासकै सबैभन्दा शक्तिशाली क्षणका रूपमा मानिन्छ ।

बेलायतबाट करिअर बनाउने सिलसिलामा अमेरिका पुगेका उनी कहिल्यै अमेरिकी नागरिक हुन सकेनन् । भलै, उनका प्रायः कामहरू अमेरिकाबाट नै भएका छन् । त्यहाँ बसेर काम गर्ने सिलसिलामै उनीमाथि १९५० को दशकमा कम्युनिस्ट समर्थक भएको आरोप लाग्यो । जसका कारण उनी अमेरिकाबाट निकालिए । अमेरिकाबाट निकालिएपछिका बाँकी समय उनले स्विट्जरल्यान्डमा बिताए । हास्यव्यंग्यमार्फत पनि समाज रूपान्तरण गर्न सकिन्छ भन्ने उदाहरण बनेका च्याप्लिन अन्ततः १९७७ को क्रिसमसमा अस्ताए । तर उनको मुस्कान र जीवनको गहिरो दृष्टि आज पनि उत्तिकै जीवित छ ।

कमेडीलाई छुट्टै भाषा बनाउने मिस्टर बिन

दुनियाँमा केही पात्रहरू यस्ता हुन्छन्, जसलाई देख्नेबित्तिकै हाँसो लाग्छ । उनीहरूले केही भन्नै पर्दैन, केवल अनुहारको हाउभाउ र अजीव व्यवहार देखेरै हाम्रो खित्का छुट्छ । यस्तै पात्रमध्येका हुन्– मिस्टर बिन । मिस्टर बिन हास्यव्यंग्य क्षेत्रमा चार्ली च्याप्लिन जस्तै चर्चित नाम हो । जसलाई रोवान एटकिन्सनले जीवन्त बनाए ।

६ जनवरी १९५५ मा बेलायतको काउन्टी सहरमा जन्मिएका रोवन एटकिन्सन एउटा सामान्य कृषक परिवारका सन्तान थिए । सानैदेखि बोलीमा अवरोध भएका कारण उनी साथीहरूमाझ अलि फरक थिए । लजालु र अन्तर्मुखी स्वभावका कारण साथीहरूको बहिष्करणमा पर्थे । तर, यही अन्तर्मुखी स्वभाव कारण उनीभित्रको हास्य पात्र ‘मिस्टर बिन’ जन्मियो ।

Chaplin and Bean who laugh without speaking, Zelensky who came to power through humor and Kapil Sharma who is famous for cheap comedy.

इलेक्ट्रिकल इन्जिनियरिङ विषय पढेका उनले अक्सफोर्ड विश्वविद्यालयमा गएर पहिलो पटक नाटक र स्केच कमेडीमा भाग लिएका थिए । त्यसैबेलादेखि उनको अभिनय कलाले स्थान पाउन थाल्यो । विद्यालय हुँदै उनको चर्चा चुलिन थाल्यो । त्यतिबेलासम्म मिस्टर बिन पात्र जन्मिएको थिएन । तर १९९० मा उनले ‘मिस्टर बिन’ पात्र पर्दामा ल्याए जसले उनको नाम अमर बनाइदियो ।

वयस्क शरीर तर बालक जस्तो जिज्ञासु स्वभाव, कम बोल्ने तर हाउभाउ र शारीरिक हर्कत, सामान्य परिस्थितिमा असामान्य समाधान खोज्ने अजीव बानी र मूर्खतापूर्ण चतुर्‍याइँको मिश्रण पात्र हो– मिस्टर बिन । रोवानले भनेका छन्– ‘मिस्टर बिन भनेको ठूलो शरीरमा बस्ने एउटा बच्चा हो ।’

सन् १९९० देखि १९९५ सम्म मिस्टर बिन टेलिभिजनमा प्रसारण भए । यो सिरिज संसारका १९० भन्दा बढी देशमा प्रसारित भए । त्यो समयमा यो सिरिजको संवाद लगभग शून्य थियो, जसका कारण भाषा नबुझे पनि विश्वभरका दर्शकले यसलाई बुझ्न सक्थे । जसले गर्दा मिस्टर बिन क्यारेक्टर विश्वभर चर्चित बन्न पुग्यो । त्यति नै बेला उनले भनेका थिए– ‘हास्य कलाकारले जति कम शब्द प्रयोग गर्छ, उसको कमेडी उति नै विश्वव्यापी हुन्छ ।’

त्यसपछि उनको चर्चा एकाएक चुलियो । बिन (१९९७) र मिस्टर बिनस् होलिडे (२००७) बाट उनले सोचेको भन्दा धेरै प्रसिद्धि कमाए । यी दुई वटै चलचित्रहरूले आफ्नै समयको सर्वाधिक रुचाइएको चलचित्रको उपाधि पाएको थियो । आज मिस्टर बिन कमेडी चलचित्रमा मात्रे अभिनय गर्दैनन् । तर उनी अझै पनि आफ्नो कमेडीको अभिनयका कारण चर्चामा हुन्छन् ।

सडकमा बच्चादेखि वृद्धसम्मले उसको नक्कल गर्छन् । बालबालिकामाझ हिट छन् र हरेक उमेरका दर्शकका लागि उत्तिकै रमाइलोको स्रोत हुन् । रोवन एटकिन्सन वास्तविक जीवनमा मिस्टर बिन जस्तो भने छैनन् । उनी वास्तविक जीवनमा अलि फरक छन् । इन्जिनियरिङ विषय पढेका उनी बुद्धिमान छन् । उनी समाज रूपान्तरणका लागि काम गर्ने पात्र पनि हुन् । जसले बिनकै नाममा विभिन्न च्यारिटी सोहरू गरेर समाजका असहाय र गरिबहरूका लागि काम गरेका छन् ।

चार्ली च्याप्लिनले जस्तै मौन कमेडीको परम्परा पुनर्जीवित गर्ने आधुनिक पात्रमध्ये मिस्टर बिन अग्रस्थानमा पर्छन् । उनको सामग्रीको कुनै भाषा छैन, तर हाँसो छ । संवाद छैन, तर भावना छ । यही कारणले मिस्टर बिन केवल एउटा पात्र नभई यो विश्वव्यापी हाँसोको साझा भाषाका रूपमा परिचित छन् ।

कमेडियन हुँदै राष्ट्रपति बनेका जेलेन्स्की

हँसाउन सक्ने कला जो कोहीसँग हुँदैन । तर हँसाउन सक्ने क्षमता भएका मानिसहरू धेरैको प्रिय पात्र हुन्छन् । च्याप्लिन र बिन जस्तै हास्य कलाबाट उचाइ चुमेका पात्र कमै छन् । तीमध्येकै एक हुन्– भोलोदिमिर जेलेन्स्की । कुनै समय टेलिभिजनको पर्दामा राष्ट्रपतिको भेषमा कमेडी गरेर दर्शक हँसाउने भोलोदिमिर आज युक्रेनका राष्ट्रपति छन् ।

२५ जनवरी १९७८ मा सोभियत संघअन्तर्गतको क्रिभी रिह सहर (हालको युक्रेन) मा जन्मिएका जेलेन्स्की एक यहुदी परिवारका सन्तान हुन् । उनी सानै उमेरदेखि अभिनय भाषण र हास्यकलामा रुचि राख्थे । कानुन विषय पढे पनि उनको रुचि भने सानैदेखि अभिनय र कमेडीमा थियो । जसकारण उनले २००३ बाट अभिनय र कमेडीको यात्रामा पाइला चाले । त्यतिबेला उनले ‘किभर्टेल ५’ हास्यव्यंग्य समूह स्थापना गरे । राजनीतिक व्यंग्य र सामाजिक विषयमाथि टिप्पणी गर्ने यस समूहले छोटो समयमै ठुलो प्रसिद्धि कमायो ।

Chaplin and Bean who laugh without speaking, Zelensky who came to power through humor and Kapil Sharma who is famous for cheap comedy.

जसले गर्दा उनी देशव्यापी रूपमा चर्चित हुन थाले, बिस्तारै उनी राष्ट्रियस्तरमै चर्चित बने । त्यसैक्रममा उनले २०१५ मा अभिनय गरेको ‘सर्भेन्ट अफ द पिपुल’ प्रसारण भयो । जसमा उनले एउटा सामान्य विद्यालयमा शिक्षकको भूमिका निर्वाह गरेका थिए । सो भूमिकामार्फत उनले भ्रष्टाचारविरुद्ध भाषण दिएका थिए । जसले उनको चर्चाको उचाइमा अर्को सिडी थप्ने काम गर्‍यो । यो सिरिज यति लोकप्रिय भयो कि युक्रेनको राजनीतिक परिवर्तनमा यसले महत्त्वपूर्ण भूमिका खेल्यो ।

त्यो सिरिज यति प्रभावकारी बन्यो कि २०१९ मा जेलेन्स्कीले ‘सर्भेन्ट अफ द पिपुल’ नामको राजनीतिक दल स्थापना गरे । र, सोही दलको उम्मेदवार बनेर उनी चुनावी मैदानमा उत्रिए । सुरुमा उनलाई जनताले खासै गम्भीरतासाथ लिएका थिएनन् । तर उनी ७३ प्रतिशतभन्दा बढी मतसहित राष्ट्रपतिमा निर्वाचित भए ।

उनी निर्वाचित भएपछि २४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गर्‍यो । धेरैले उनले राष्ट्रपति सम्हाल्न सक्दैन भनेका थिए । तर उनी अझै पनि रुससँग डटेर लडिरहेका छन् । उनले जनतालाई मनोबल दिन र अन्तर्राष्ट्रिय समर्थन जुटाउन निरन्तर काम गरिरहेका छन् ।

जेलेन्स्कीको जीवनलाई हेर्दा हास्य कलाकारहरू पात्रमा जस्तै हास्यास्पद हुँदैन भन्ने प्रमाणित गरेको छ । जो गम्भीर घडीमा पनि साहसी नेता र असल कूटनीतिज्ञका रूपमा राष्ट्रको सेवामा समर्पित छन् ।

कमेडीलाई खुसी साट्ने माध्यम बनाउने कपिल

पछिल्लो समय हास्याव्यंग्यको दुनियाँमा चर्चाको शिखरमा रहेको नाम हो– कपिल शर्मा । यो नाम नयाँ पुस्तामाझ चर्चित छ, जसको करोडौं दर्शक छन् । उनी केवल मनोरञ्जन गर्ने पात्र मात्रै भने होइन, संघर्षबाट उचाइमा पुग्ने प्रेरणादायी यात्राको पात्र पनि हुन् ।

मध्यमवर्गीय परिवारको सन्तानका रूपमा २ अप्रिल १९८१ मा पञ्जाबको अमृतसरमा कपिल शर्माले जन्म लिएका थिए । सानैदेखि मानिसहरूलाई हँसाउन खप्पिस शर्मा परिवारभित्र भने अन्तर्मुखी स्वभावका थिए । बुबा पुलिस भएका कारण उनको घरको वातावरण अन्यको तुलनामा ‘स्ट्रिक्ट’नै थिए । जसका कारण उनीसँग भएका कला प्रदर्शन गर्न सक्ने वातावरण थिएन । उनले भनेका छन्– ‘मेरो हास्य कलाकार बन्न योजना थिएन, म केवल मानिसलाई हँसाउन मन पराउँथें ।’

Chaplin and Bean who laugh without speaking, Zelensky who came to power through humor and Kapil Sharma who is famous for cheap comedy.

हँसाउने कलासँगै उनी गायनमा पनि उत्तिकै रुचि राख्थे । कपिलले सुरुमा गायनमा करिअर बनाउने सोच राखेका थिए । तर २००७ मा ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’मा सहभागी भएपछि उनको जीवनको उद्देश्य फेरियो । २००७ को लाफ्टर च्यालेन्जमा विजयी भएपछि उनी गायनबाट कमेडीतर्फ लागे । बिस्तारै उनी हास्यकलामा चर्चित पात्र हुँदै जान थाले ।

उनले ‘कमेडी सर्कस’, ‘कमेडी नाइट्स विथ कपल (२०१३–२०१६)’, ‘द कपिल शर्मा सो (२०१६–हालसम्म)’ लगायतका पारिवारिक कार्यक्रमहरू सञ्चालनमा लिएर आए । यस्ता कार्यक्रमहरू टेलिभिजनको पर्दामा देखिन थालेपछि उनको हास्यकला घर–घरमा पुग्न थाल्यो । जसले छुटेका परिवारहरूलाई टेलिभिजनको अगाडि जोड्ने काम गर्‍यो । आज पनि धेरै दर्शकहरू कार्यक्रममै आएर कपिललाई धन्यवाद दिन्छन् । करोडौं परिवारहरू कपिल शर्माको कार्यक्रम कुरेर बस्छन् ।

कपिलको कमेडी जटिल हुँदैन । उनी सामान्य दैनिकीका विषयहरूमा कमेडी गर्छन् । विशेषगरी भारतीय मध्यम वर्गीयहरूको समस्या, परिवारका सम्बन्धहरूका विषयमा गर्ने कमेडीका कारण उनको हास्यकला सर्वप्रिय छ । उनको हाउभाउ, संवाद शैली र व्यंग्य शैलीले उनी दर्शकमाझ प्रिय पात्र हुन् । उनी भन्छन्– ‘कमेडी भनेको कसैको मजाक उडाउनु होइन, केही क्षणका लागि उनीहरूको समस्या भुलाउनु हो ।’

तर उनका कतिपय सामग्री भने समाजिक रुपमा कसैलाई होच्याउने खालका हुन्छन् । विशेषगरी उनी 'बडि सेमिङ' गरी कमेडी गर्छन् । यतिसम्मकी हँसाउने बहानामा उनी आफ्नै सहकर्मीहरुको शारीरिक बनावटलाई लिएर हँसाउँछन् ।

त्यस्तै, उनी आफ्नो कार्यक्रममा आएका महिला अभिनेत्रीहरुसँग पनि 'फ्लर्ट' गर्छन् । कतिपय अवस्थामा उनी महिलाको पहिरनलाई लिएर पनि मजाक बनाउँछन् । जसले उनी पितृसत्ताबाट निर्दिष्ट छन् भन्ने दर्शाउँछ । भारनीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले कपिल शर्मा शोले आकर्षण गुमाउँदै जानुका कारणहरुबारे लेखेको छ । जसमा उनले कमेडीलाई सस्तो बनाएको कुरा उल्लेख गरिएको छ । 

कतिपय उनका कन्टेन्टहरु रंगभेदी पनि हुन्छन् । पछिल्लो पटकमात्रै भारतीय निर्देशक तथा पटकथा लेखक एट्ली कुमारको अनुहारलाई लिएर उनले मजाक बनाएका थिए । जसका कारण उनी आलोचित भएका थिए ।

उनी बेलाबखत च्यारिटी शोहरूमार्फत पैसा संकलन गरेर समाजसेवामा समेत सरिक हुने गरेका छन् । यही कारण पनि ‘फोर्बस इन्डिया’ले उनलाई पटकपटक प्रभावशाली भारतीय सेलिब्रिटीको सूचीमा राख्दै आएको छ ।

दया दुदराज दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully