उपत्यकाका जात्रा : जहाँ मिथकले जीवन पाउँछ, समाजले उत्सव

जात्राहरू पनि जीवनमय भएकै कारण यो सहर जीवन्त छ । जात्रा चलायमान छन्, मानौं– यी अद्भुत प्राणले बाँचेका छन् । मानव जीवनजस्तै जात्राहरूको पनि आफ्नै धुन छ ।

श्रावण १७, २०८२

दीपक सापकोटा

Pilgrimage to the Valley: Where Myths Come to Life, Society Celebrates

What you should know

काठमाडौँ — काठमाडौं उपत्यका भन्नु नै लोकाख्यान, जात्रा र उत्सवहरू हो । उपत्यकालाई जिउँदो राख्ने एक भव्य पक्ष हो– सानदार सांस्कृतिक वैभव अर्थात् जात्रा, नाच, भोज र संगीत । स्वनिगः (उपत्यका) मा जीवित जात्राहरूको विशिष्ट महिमा छ, जहाँका उत्सवमय अँध्यारा–उज्याला गल्लीहरूमा उल्लासमय मानिसका खुसी, हाँसो र सपनाको संगम भेटिन्छ । गल्ली र मन्दिरमा दैनिक गुन्जिने घन्टका ध्वनि र दाफा भजनसँगै वातावरणमा जात्राको रङ पनि मिसिएपछि सहरमा मनोरम परिदृश्य देखापर्छ । 

उपत्यकाका स्थायी बासिन्दा होऊन् या सहर नियालिरहेका ‘आउटसाइडर’– जात्राहरूको उल्लासमा उनीहरू अनेक विस्मयले भरिन्छन् । जात्रामय सहरका गल्ली, बाटो, दोबाटो रमाइलोले रंगीन छ । बर्खाको बादल मडारिए पनि आकाश उज्यालै छ । जात्रामय सहर भीड र मानवसागरमा पनि सुन्दर लाग्छ । मुहारमा अनेक कलाले सिंगारिएको गह्रुँगो मुकुट लगाएर नाचिरहेका लाखेहरू, हजारौंको भीडबीच गुडिरहेको रथ, अबिर–जात्रा, धिमे सबै–सबै भव्यतम् लाग्छ । दाफा, गल्ली र फल्चाहरूमा बजिरहेका धुनहरूले मान्छेहरू आनन्दविभोर भइरहन्छन्, जसले तिनलाई उल्लास र रोमाञ्चमा पुर्‍याउँछन् । 

स्वनिगः का डबली, फल्चा र सत्तलहरूमा देवीदेवता बस्ने लोकमान्यता छ । भनिन्छ– संगीतको धुनमा ती नाच्छन्, कतै अँध्यारो कुनामा बसेर साँझ–बिहान बज्ने खिं बाजा वा बाँसुरीको धुन सुनिरहन्छन् । ‘देउताहरू डुलिहिँड्ने’ सहरमा फेरि जात्रा पसेको छ । र, फल्चाहरूमा बसेर बाजेहरू जात्राका किंवदन्ती सम्झिरहेका छन् । जस्तो उपत्यकामा वर्षको पहिलो जात्रा गथांमुगः (गठेमंगल) भर्खरै मनाइएको छ । त्यो जात्राको रौनक नसकिँदै अर्को जात्रा प्रवेश गर्दै छ । अब उपत्यकाको मनसुन–क्यालेन्डरमा जात्रै–जात्रा छ । र, प्रत्येक जात्राको रैथाने लोकाख्यान वा जनविश्वास छ । 

जात्राहरू पनि जीवनमय भएकै कारण यो सहर जीवन्त छ । जात्रा चलायमान छन्, मानौं– यी अद्भुत प्राणले बाँचेका छन् । मानव जीवनजस्तै जात्राहरूको पनि आफ्नै धुन छ । हाम्रा जात्रा र सांस्कृतिक अभ्यासलाई एउटा खटप्वालबाट मात्रै नियाल्यौं भने त्यसको परिधि सानै देखिएला ।

ती पुरातन क्यालेन्डरमा दोहोरिइरहने केवल पर्व होइनन्, प्रत्येक वर्ष नयाँ जीवन पाइरहने र स्मृतिमा पुर्‍याइरहने जीवन्त सम्पदा हुन्, हाम्रो जीवनका अभिन्न हिस्सा हुन् र हुन्– ऋतुमा आधारित अनुष्ठान, जसको आफ्नै जीवनचक्र छ । 

काठमाडौं उपत्यकाका नखः अर्थात् जात्राहरू सांस्कृतिक उत्सव हुन् । र, संस्कृतिको सम्बन्ध स्थानीय बसोबासीको जीवन र जीविकासँग हुन्छ । जात्राहरूको सबैभन्दा ठूलो सम्बन्ध गाँसिएको छ– काठमाडौं उपत्यकाको जीवनसँग । उपत्यकामा मनाइने सबैजसो जात्रा कृषि र त्यसको मुख्य आधार मनसुनसँग जोडिन्छ । त्यो जोडिन्छ– मानव सभ्यताको उत्पत्ति, राजनीतिक परिवर्तनहरूको इतिहास र उत्पादन प्रणालीसँग ।

Pilgrimage to the Valley: Where Myths Come to Life, Society Celebrates

कचौरा स्वरूपा काठमाडौं (२५ किलोमिटर ब्यास) मा प्राचीनकालदेखि नै जात्राहरू चलिरहन्थे भन्छन्, ‘हाँडीगाउँ : प्राचीन नेपालको राजधानी’ का लेखक, वास्तुकलाविद् तथा संस्कृति इतिहासविद् सुदर्शनराज तिवारी । उनको अध्ययनअनुसार, हाम्रा जात्राको कोरियोग्राफी पानी र जीविकासँग प्रत्यक्ष सम्बन्धित छन् । ‘हाँडीगाउँकै सत्यनारायण जात्रा पनि पानीसँग जोडिन्छ,’ उनी भन्छन्, ‘बुढानीलकण्ठबाट पानी ल्याएर कैलाशकुट भवन बनाइएको कथा भेटिन्छ । पानी प्रणाली व्यवस्थित बनाउन सहरमा जात्राहरू चलाइयो । मान्छेहरूको सहभागिता पनि होस् भन्ने बुझाइ तत्कालीन शासकहरूको थियो । सहरी सिस्टमलाई चलायमान बनाउन र सहर सरसफाइमा मानिसहरू जुटुन् भनेर पनि जात्राहरू चलाइयो ।’ 

लिच्छविकालीन अभिलेखहरूमा लेखिएअनुसार, उपत्यकाभित्रका थुम्का, टार र अग्ला डाँडाहरूमा बस्तीहरू थिए । त्यसैले उहिले–उहिले नै यस उपत्यकामा जात्राहरू चल्थे । र, ती जात्रा–अनुष्ठान हाम्रो जनजीवनसँग प्रत्यक्ष जोडिएका हुन्थे । जात्राहरूको गर्भगृहभित्र थियो– उपत्यकाको कृषि संस्कृति र धान–बाली । जात्रा र जात्राहरूको पूर्ण जीवनचक्र कृषिचक्रमा घुमिरहन्छ । जात्रा केवल मनोरञ्जन होइन, यसका सांस्कृतिक–ऐतिहासिक पक्ष र मिथहरूमा पसिहेर्दा थाहा लाग्छ– यो जीवनकै सबैभन्दा नजिकको अंग थियो । असलमा जात्राबिना जीवन थिएन । सुदूर प्राक्कालीन समयतिर चियाउँदा जात्रा र जीवनको सम्बन्ध पढ्न सकिन्छ । 

भूगर्भशास्त्रीय अध्ययनहरूको निष्कर्ष छ– उहिले आदिमकालमा एक विशाल ताल थियो काठमाडौं उपत्यका । सहरका किंवदन्ती र कथाहरूमा प्रचलित मिथकहरूले पनि यस्तै–यस्तै कथा भन्छन् । बौद्ध मिथक भन्छ– उहिल्यै त यस तालको नाम थियो– नागबास (नागह्रद, नागदह) । 

जे होस्, उपत्यकाका अनेकन कथामध्ये एउटा असरदार कथा छ– मञ्जुश्रीको खड्ग प्रहारपछि तालको पानी चोभारबाट बगेर गयो, २० हजार वर्षअघि । र, मानवबस्ती सुरु भयो । पानी भरिएकाले उपत्यकाको माटो अत्यन्तै मलिलो र उब्जाउ थियो । र, यहाँको प्रमुख उत्पादन बन्यो– धान । उपत्यकाको प्रमुख खाद्यान्न र खाद्य संस्कृति पनि धानमै आधारित थियो– चामल, चिउरा, जाँड, रक्सी...। 

उपत्यकावासीको जीवन पद्धति पनि धानबाली वरिपरि घुमिरह्यो । उनीहरूको पूरै जीवन धानमै आश्रित–समर्पित थियो । जस्तो बालीको तयारी गर्नु, समय आएपछि बाली लगाउनु, बाली लगाएपछि हेरविचार गर्नु, बाली काट्नु, भण्डारण गर्नु । र, धानमै आधारित आर्थिक विनिमयमा व्यस्त रहनु । 

संस्कृतिविद् सुरेश किरणको विचारमा धानबाली राम्रो बनाउन मानवीय श्रमले मात्रै पुग्दैनथ्यो । ‘त्यसका लागि दैवी सहयोग पनि आवश्यक हुन्छ भन्ने विश्वासपद्धति थियो,’ उनी भन्छन्, ‘किनभने वर्षा, पानी, चट्याङ, मेघ–गर्जनलाई उबेला दैवी कार्यका रूपमा हेरिन्थ्यो र अझै हेरिन्छ– पानी नपरे देउताको पूजा गर्ने चलनै छ । त्योबेला दैवी सहयोग प्राप्त गर्न जे–जति अनुष्ठान गरिए, ती जम्मै पछि संस्कृतिका रूपमा विकास भए ।’ 

उहिलेका तिनै अनुष्ठान हुन्– वर्तमान समयका जात्राहरू । उपत्यकामा वर्षको पहिलो जात्राका रूपमा गथांमुगः (गठेमंगल) मनाएपछि जात्राहरू लस्कर लाग्छन् । गथांमुगः अघिको करिब दुई महिना कुनै पनि जात्रा–पर्व मनाउँदैन काठमाडौं । केसम्म भनिन्छ भने त्यो दुई महिना यो उपत्यकामा बाजासमेत बजाउनु हुँदैन । किन ? किनभने त्यो समय हो– कृषिकर्म अर्थात् धानबालीको । त्यसबेला कृषकहरूको अनुहारमा खेतीबालीको हतारो देखिन्छ । 

Pilgrimage to the Valley: Where Myths Come to Life, Society Celebrates

धानबाली लगाउनुलाई नेवाः भाषामा ‘सिनाज्या’ अर्थात् मरी–मरी गरिने काम भनिन्छ । सिनाज्यामा असाध्यै मिहिनेत, श्रम र शारीरिक ऊर्जा चाहिन्छ । तर, त्यो शक्ति कसरी प्राप्त हुन्छ ? सिनाज्या सुरु गर्नुअघि अक्षय तृतीयाका दिन चोक–चोकमा विशेष तान्त्रिक शक्तिमार्फत भूतलाई तानेर घर–घरमा भित्र्याइन्छ । कथाहरू भन्छन्– त्यो भूत घर पसेपछि खेतमा काम गर्ने मान्छेले भूतले झैं खाना खान सक्छ । धेरै खान सक्नेको शरीर बलियो हुन्छ, ऊ बिरामी पर्दैन । र, धानबाली चालु रहुन्जेल घर–सुरक्षा त्यही भूतले गर्छ । त्यो समय घर हेरचाह गर्ने फुर्सद पनि हुँदैन कृषकलाई । 

जब बाली रोप्ने काम सकिन्छ, घर हेर्न राखिएको त्यो भूतलाई पन्छाउनुपर्छ । भूत पन्छाउने त्यो दिन नै गथांमुगः जात्रा हो । प्रतीकात्मक अर्थमा ‘भूत पन्छाउने दिन’ भनिए पनि असलमा त्यो घर–सरसफाइ हो । ‘घर फोहोर भयो भने रोगव्याधि लाग्छ । गथांमुगःकै दिनदेखि लामखुट्टेको एउटा दाँत भाँच्चिन्छ भन्ने विश्वास गरिन्छ, अर्थात् लामखुट्टे पनि कम हुँदै जान्छ,’ सुरेश किरण भन्छन्, ‘बालीको काम सकिएपछि केही समय फुर्सद हुन्छ, त्यो बेला मान्छेहरू धर्मकर्ममा मग्न हुन्छन् र एक महिनासम्म विभिन्न विहार, चैत्य आदि धार्मिकस्थल गएर पूजापाठ गर्छन् ।’ 

फुर्सदिलो त्यो एक महिनालाई ‘गुँला पर्व’ भनिन्छ, जुन अहिले चलिरहेकै छ । गुणै–गुणले भरिएको ‘ला’ अर्थात् महिना भएकाले यसलाई ‘गुणिला’ भनियो, पछि ‘गुँला’ भयो । ‘गुँला’ मा बाँसुरीको धुनमा देउता–कथा गाउँदै मान्छेहरू स्वयम्भूतिर विचरण गर्छन् । धानबाली सप्रिन वर्षा आवश्यक हुन्छ । बाली लगाउन सुरु गर्नुअघि ‘वर्षा होस्’ भनेर उपत्यकावासीहरू सिथिद्यः र बुंगद्यः (रातो मत्स्येन्द्रनाथ) को आराधना गर्छन् । ‘वर्षाले बाढी, पहिरो, चट्याङजस्ता पानीजन्य विपत्ति निम्त्याउन सक्ने भएकाले त्यस्तो विपत्ति ननिम्त्याओस् भन्ने कामनासहित गुँला पर्व मनाइन्छ,’ सुरेश भन्छन् ।

गुँला पर्वको पाँचौं दिन नागपञ्चमी मनाइन्छ । असलमा नागपञ्चमी ‘नाग (सर्प) ले दुःख नदेओस्’ भन्ने कामनाले होइन, नागलाई जल–देवता सोचेर मनाइने पर्व हो । धानबालीमा जलको ठूलो महत्त्व हुन्छ । त्यसैले जल–देवता अर्थात् नागलाई पूजा गरिन्छ । लिखित कथाहरू भन्छन्– काठमाडौं जुनबेला ताल थियो, नाग नै यहाँका प्रमुख बासिन्दा थिए, त्यसैले नाग–पूजा पूर्वजको सम्मानमा गरिने विशिष्ट अनुष्ठान हो । यसरी उपत्यकावासी एकातिर धानबालीका लागि वर्षाको आह्वान गर्दै आराधना गर्छन्, सँगै वर्षाले विपत्ति ननिम्त्याओस् भन्दै गुँला पर्व मनाउँछन् । 

Pilgrimage to the Valley: Where Myths Come to Life, Society Celebrates

गुँला पर्व चलिरहेकै बखत ‘दिवंगत आफन्तहरूको स्वर्ग–बास होस्’ भन्ने कामना गर्दै उपत्यकावासी गाईजात्रा मनाउँछन् । श्रावण पूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्ण प्रतिपदाका दिन गाईजात्रा आरम्भ हुन्छ, जसमा परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता गाँसिएको छ । गाईजात्राको मिथ छ– पुत्रवियोगमा रहेकी रानीलाई वियोगबाट निकाल्न राजा प्रताप मल्लले यो जात्रा चलाउन सुरु गरेका थिए । भन्न त संस्कृतिविद्हरू यसो पनि भन्छन्– प्रताप मल्ल शासनकालको ३०० वर्षअघिदेखि नै गाईजात्रा मनाइन्थ्यो । उपत्यकामा घिन्ताङ्–घिसी नाच्दै गाईजात्रा मनाइरहेका जात्रालुहरू बितिगएका आफन्तको मृत्यु याद गर्छन् । व्यंग्यमार्फत राजनीतिक–सामाजिक विसंगतिमाथि प्रहार पनि गाईजात्रामै गरिन्छ । 

गुँला पर्व चलिरहेकै बखत मनाइन्छ– नागपञ्चमी, कलकी जयन्ती, गौरा पर्व, ऋषितर्पणी, रक्षाबन्धन, कृष्ण जन्माष्टमी, नृसिंह जात्रा, भीमसेन जात्रा, पितृऔंसी...। 

उपत्यकामा बाली लगाइएको डेढ महिनापछि धान पाकिसकेको हुन्छ । र, पानीको अवश्यकता हुँदैन । त्यसैले अब इन्द्रजात्रा सुरु हुन्छ– ‘पानीको आवश्यकता छैन, वर्षा रोके पनि हुन्छ’ भन्दै । 

त्यो इन्द्रजात्रा नै थियो, जतिबेला गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौं हमला गरेका थिए, महिनौंसम्म नाकाबन्दी गरेर– वि.सं. १८२५ मा । महँगी अकासिएको त्यसबेला इन्द्रजात्रा मनाउने/नमनाउने ? विमर्श चलिरहेकै थियो । अन्ततः जयप्रकाश मल्लले आदेश दिए– जात्रा चलाउनू ! इतिहासकार बाबुराम आचार्यका अनुसार, त्यस वर्ष जात्रामा मानिसहरू उति सहभागी भएनन् । 

Pilgrimage to the Valley: Where Myths Come to Life, Society Celebrates

काठमाडौंमा ८ दिनसम्म भव्य उत्साह र उल्लासले यो जात्रा मनाइन्छ– वर्षाका देवता इन्द्रको आराधना गर्दै, जहाँ हिन्दु र बौद्ध नेवार दुवै हर्षोल्लास गर्दै जात्रामा सहभागी हुन्छन् । भाद्र शुक्ल द्वादशीका दिन काठमाडौं दरबार स्क्वायरमा कालभैरवछेउको इन्द्रपुर मन्दिरअघि लिंगोत्थान गरेपछि इन्द्रजात्रा सुरु हुन्छ, जहाँ जीवित देवी कुमारीको रथयात्रादेखि विशिष्ट लाखेनाचसम्म चल्छ । मजिपाटको लाखेलाई सहरका विभिन्न चोक–डबली र गल्लीमा प्रदर्शन गरिन्छ । लाखे, पुलुकिसि, दी प्याखं, महाकाली प्याखं, सवःभकु प्याखं आदि नाटक र नाचहरूले झनै उल्लास थप्छ । सहरैभरि धिमे, नाय्खिंहरू बजिरहन्छन् ।

धिमे–धुन, दाफा–भजन, कुमारी–रथयात्राले काठमाडौं संगीतमय, जात्रामय बनिरहन्छ । इतिहासकार महेशराज पन्तले भनेका थिए, ‘भादगाउँको खास जात्रा बिस्केट, पाटनको रातो मच्छिन्द्रनाथ र काठमाडौंको ब्रान्ड इन्द्रजात्रा हो ।’ 

इन्द्रजात्राका बेला प्रकृति र संस्कृतिको छटा सर्वोत्तम हुन्छ । संसारैभर दिन र रात बराबर– न गर्मी, न जाडो, न वर्षा, न खडेरी ! ‘प्रकृति, वातावरण र संस्कृतिको सन्तुलनबिदुको केन्द्रमा इन्द्रजात्रा पर्छ,’ वनस्पतिविद्, संस्कृति अध्येता तीर्थबहादुर श्रेष्ठले भनेका थिए, ‘शरद ऋतुको यो सुन्दर मौसमले काठमाडौंलाई जात्रा, नाचगान र संगीततिर डोर्‍याउँछ ।’

त्यसैले इन्द्रजात्रा हो– एक विशद् महाउत्सव । झोंछे बस्ने पत्रकार सपना महर्जनको स्मृतिमा उस्तै छ– कालो भुइँ र रातो किनारायुक्त हाकुपतासीमा सजिएर, कपालको गुजुल्टोमा फूल सिउरिएकी उनी कुमारी रथको पूजा–पंक्ति पछिपछि हिँडिरहेका पुराना दिनहरू । बुबाको हात समाएर इन्द्रचोक छेउछाउका गल्लीमा उभिएर इन्द्रजात्रा हेरिरहेकी हुन्थिन् उनी । त्यसबेला सहर चिसो र हुस्सुमय हुन्थ्यो । अहिले सहर फेरिएको लाग्छ, किनकि त्यस्तो हुस्सुमय सहर उनी देख्दिनन् । प्रतीकात्मक इन्द्रलाई थाममा बाँधिएको हुन्थ्यो, बुबा देखाउँथे । हुस्सुले छोपिएका इन्द्र देखिन्नथे । सपना प्रश्न र जिज्ञासाले घेरिन्थिन्– किन बाँधेर राखेको इन्द्रलाई ? बुबा किंवदन्ती सुनाउँथे– नीलो लुगा लगाएका, स्वर्णजस्तो अनुहार, निधारमा तेस्रो आँखा, गहनाहरूले सुसज्जित, देब्रेतिर पत्नी शची र ऐरावत हात्तीसहित बसेका स्वर्गका राजा हुन् इन्द्रदेव । इन्द्रकी आमा बसुन्धरालाई व्रत बस्न पारिजात फूल चाहियो । स्वर्गमा नपाइने त्यो फूल टिप्न इन्द्रले काठमाडौं यात्रा गरे । विष्णुमती र मरुटोलबीचको ख्यः क्यब (बगैंचा) मा पारिजात टिप्दै गरेका इन्द्रलाई उपत्यकावासीले समाते । मान्छेहरूले थाहा पाए– इन्द्र रैथाने होइनन् ।

Pilgrimage to the Valley: Where Myths Come to Life, Society Celebrates

त्यसपछि उनलाई पाता कसेर सार्वजनिक स्थानमा उभ्याइयो । छोरा नफर्केपछि चिन्तित आमा दागिं (डाकिनी) भेषमा काठमाडौं झरिन् र देखिन्– मरुटोलमा बाँधिएका छोरा इन्द्रलाई । इन्द्रदेवता भएको थाहा पाएपछि मान्छेहरूले उनलाई मुक्त गरे । छोरा मुक्त गरेको खुसीमा इन्द्रकी आमाले काठमाडौंवासीका केही सर्त मानिन्– धान पाक्न सहयोग गर्न कुहिरो दिने, काठमाडौंवासीलाई मरेपछि स्वर्ग लैजाने र दिवंगत आफन्तसँग भेटाउने । यसरी बसुन्धराले कुहिरोसँग इन्द्र साटिन् ।

काठमाडौंवासी इन्द्रजात्राको तयारी निकै अघिदेखि गर्छन्— जात्रा भव्य बनाउन । ‘दुई महिना अघिदेखि नै हामी तयारीमा छौं,’ सपना भन्छिन्, ‘महिला समूह र अरू समूहहरूमा मिटिङ चलिरहेकै छ– कसरी सामूहिकता देखाउने ? सबै व्यवस्थापन कसरी गर्ने ?’ 

स्वर्गे आफन्तका सम्झनामा पितृसँग सम्बन्धित कर्महरू पनि यहीबेला गर्छन् काठमाडौंवासी । इन्द्रजात्रा सकिएलगत्तै सोह्र श्राद्ध गरी पितृलाई सम्झिने गरिन्छ । 

असोजमा धानबाली काटिन्छ । धान भित्र्याएको खुसियालीमा शरद ऋतुमा दसैं मनाइन्छ । ‘उपत्यकामा प्रचलित अरू दसैंभन्दा शरद ऋतुको दसैंलाई प्रमुख मानिन्छ । बालीमा प्रयोग गरिने कुटो–कोदालोलाई दसैंमा पूजा (स्वनेगु) पनि गरिन्छ । ‘स्वनेगु’ गर्नुको अर्थ ती ज्यावलमा शक्ति रिचार्ज गर्नु हो,’ सुरेश भन्छन्, ‘दसैंमा भित्र्याइएको धान सम्पत्तिका रूपमा लक्ष्मीपूजाका दिन महालक्ष्मीको पाउमा चढाइन्छ– ‘अर्को वर्ष बढी आर्जन गर्न सकियोस्’ सोचेर ।’ ‘अर्को वर्ष यसरी नै मिहिनेतपूर्वक काम गर्न सकियोस्, शरीरमा चोटपटक नलागोस्’ भन्ने कामनासहित लक्ष्मीपूजाको भोलिपल्ट आफ्नै शरीर पूजा गरिन्छ– ‘म्ह पूजा’ मा । 

Pilgrimage to the Valley: Where Myths Come to Life, Society Celebrates

‘सेतोपाटी’ का सम्पादक तथा ‘कथायें’ शृंखलाका लेखक सुदीप श्रेष्ठको विचारमा उपत्यकामा मनाइने साना–ठूला सबै जात्राका पछाडि दुइटा तत्त्व अपरिहार्य हुन्छ– जात्रा मनाउने विधि र जात्रा किन मनाइयो भनेर बुझाउने किंबदन्ती । ‘यी विधि र किंबदन्ती दुवै ‘डिकोड’ गरेर त्यसका तिलस्मी पक्ष हटाइदिने हो भने बाँकी जे बच्छ, त्यसले उपत्यकाको सामाजिक र राजनीतिक इतिहास छर्लङ्ग पार्छ,’ सुदीप भन्छन् । उनी तीन सहरका तीन ठूला जात्राको उदाहरण दिन्छन्–

एक– काठमाडौंको इन्द्रजात्रामा साताभरि विभिन्न किसिमका उत्सव मनाइन्छन्, तर तीमध्ये आकाश भैरवको मूर्तिलाई मन्दिरबाट निकालेर सार्वजनिक प्रदर्शन गर्नु यो जात्राको मूल स्वरूप हो । आकाश भैरवलाई नेवारहरू ‘आजु द्यः’ भन्छन्, जसको अर्थ पितापुर्खा भन्ने हुन्छ । त्यसैले यो जात्रासँग नेवार समुदायको उत्पत्तिको सम्बन्ध जोडिएको छ ।

दुई– पाटनको रातो मच्छिन्द्रनाथ त एक मात्रै यस्तो जात्रा हो, जोसँग यो सिंगो उपत्यकाका हरेक ठाउँ कुनै न कुनै रूपमा गाँसिन्छन् । यसका कथा–उपकथा र पूजा विधिले पनि यो जात्रालाई पूरै उपत्यकासँग जोड्छ । जात्राको आयु र नेपाल संवत्को अवधि मिल्दोजुल्दो पनि छ । यत्ति ठूलो जात्रा मनाउनु, त्यो जात्रामा सिंगो उपत्यका जोडिनु र नयाँ संवत् पनि सुरु हुनुले पुरानो राजकीय सत्ता ढलेर नयाँ सत्ता उदयको उत्सव मनाउन यो जात्रा रचिएको हो कि भन्ने अनुभूति गराउँछ ।

तीन– भक्तपुरको बिस्काः जात्रालाई पनि किराँतहरूमाथि लिच्छविहरूको विजय उत्सवका रूपमा लिइन्छ । जात्रासँग जोडिएका किंवदन्ती ‘डिकोड’ गर्ने हो भने त्यसले युद्ध र विजयको कथा भन्छ ।

सुदीपको अध्ययनमा उपत्यकाभरि नै ‘भैरव’ लाई विभिन्न नाममा पूजा गरिएको छ र ती हरेक भैरवसँग एउटा अजिमाको कथा जोडिएको हुन्छ । ‘विभिन्न नामका यी भैरव र अजिमाले किराँती राजा र रानीको झलक दिन्छ,’ उनी भन्छन्, ‘ती सबै भैरवको कथाभित्र किराँतकालको इतिहास खोतल्न सकिन्छ ।’ 

सूर्यमास र चन्द्रमासमा आधारित नेपाल मण्डलका जात्राहरूको मेनु निकै लामो बन्न सक्छ, जो कुनै टोलसँग जोडिन्छन् त कुनै नगर–सहरसँग । जात्राहरू चलुञ्जेल काठमाडौं घमाइलो भइरहन्छ ।

ती जात्रा मनसुन र कृषि मात्रै होइन, स्वास्थ्यसँग पनि जोडिएका छन्, जस्तो– क्वाँटी वा घ्यू–चाकु खाने पर्व । जात्राहरूको परिक्रमा गर्दा देखिन्छ, तिनको नामै परिकारबाट राखिएको छ– जनैपूर्णिमामा क्वाँटी खाइन्छ, त्यो दिन नै क्वाँटी पुन्हि ! इन्द्रजात्रामा समयबजी खाइन्छ, त्यो दिन समयपुन्हि ! ‘यःमरी’ खाने दिन यःमरी पुन्हि ! 

भकारीमा नयाँ धान भण्डार गर्ने दिनलाई यःमरि पुन्हिका रूपमा मनाइन्छ । यःमरि अर्थात् नयाँ धानले बनाइने मरी अर्थात् रोटी । त्यसपछि उपत्यकामा अन्य प्रयोजन (रोगव्याधि, गाउँ–ठाउँ र मुलुकको सुरक्षा) सँग सम्बन्धित जात्रा–पर्वहरू पाहाँचः ह्रे (लुकमाःद्य अर्थात् लुकेको महादेवलाई पूजा गरी मनाइने पर्व) आदि मनाइन्छ । र, जेठको सिथि नखःलाई अन्तिम जात्राका रूपमा लिइन्छ । 

पाहाँचः ह्रे अर्थात् घोडाजात्राको लोकाख्यानले मायावी गुरुमापा सम्झाउँछ । भनिन्छ– गुरुमापा लोककथा पनि हुन्, इतिहास पनि । इतुमबहालका केशचन्द्र जुवाका लती थिए । हार्दै गएपछि एक दिन उनी दिदीकहाँ पुगे । दिदीले सुनको थालमा खाना दिइन् । खाना खाइसकेपछि केशचन्द्रले थालको लोभ गरे । दिदीको आँखा छलेर थाल लिएर भागे, जुवामा हारे । क्रमशः दिदीकहाँ गएर चाँदी, काँसको थाल चोर्दै जुवामा हारिरहे । दिदी दिक्क भएपछि एक दिन भुइँमै भात दिइन् । केशचन्द्र कपडामा भात पोको पारेर त्यहाँबाट हिँडे । रूखको छहारीमा सुस्ताएका बेला एक राक्षस आइपुगे र उनलाई खान खोजे । केशचन्द्र चलाख थिए, राक्षसलाई मामाको साइनो लगाएर आफ्नै घर पुर्‍याए । तर, अचानक छरछिमेकका बालबालिका गायब हुन थाले...। नेवाः बस्तीमा नानीहरू तर्साउन अझै भनिन्छ– रूखको छेउछाउ बच्चाहरू जानुहुन्न, गुरुमापाले खायो भने ?

Pilgrimage to the Valley: Where Myths Come to Life, Society Celebrates

इतिहासमा लामो समयसम्म ललितपुर राज्यको अंग वा उपराज्य सरहको हैसियतमा रहेको सहर कीर्तिपुरमा चलिरहने जात्राहरूलाई नजिकैबाट हेरिरहेका छन्– लेखक राजेन्द्र महर्जनले । कीर्तिपुरमा ठूलो स्तरमा मनाइने सापारु (गाईजात्रा), मोहनी (दसैं) नखः, स्वन्ति नखः, बुद्ध पूर्णिमा पछि न्हय्गां जात्रा (सातगाउँले जात्रा) हरूमा उपस्थित भइरहने राजेन्द्रको बुझाइमा नेवाः समुदायका जात्राहरू सिकार, पशुपालन, खेतीपाती र व्यापार व्यवसायसँग आबद्ध छ । ‘जस्तो सापारुको अघिल्लो दिन ‘ब्याँचा जा नकेगु’ (भ्यागुतालाई भात खुवाउने) काम गरिन्छ, खेत–खेतमा गएर । त्यही दिन राति मृतकका परिवारजनले बहाःहरूमा घुम्दै श्रद्धा व्यक्त गर्छन् । भोलिपल्ट साया वा सापारु मनाइन्छ, जसलाई गाईजात्रा नामकरण गरिएको छ । खेतीपातीका लागि अनुकूल मनसुन संस्कृतिको उत्सवको साया वा सापारु मनाइन्छ,’ राजेन्द्र भन्छन्, ‘यसमा खेताला र परिवारजनलाई खेतमा गएर खाजा खुवाउने र शासकहरूलाई हास्यव्यंग्य गर्ने काम हुन्छ । यस जात्राको बाह्य आवरणमा अनेक राजा–महाराजाका कथासँगै धार्मिक मुलम्मा पनि चढाइएको देखिन्छ, तर अन्तर्यमा भने हिन्दु र बौद्ध धर्मको प्रभाव अघिदेखिका स्वनिगःका उत्पादक शक्ति मानिने किसानहरूको जीवन र उत्पादनसँग जोडिएको पाइन्छ ।’

जात्रा–अनुष्ठानका कथाहरूले काठमाडौं उपत्यका नै मायावी र तिलस्मी लाग्छ । अंग्रेजी साहित्यका प्राध्यापक अरुण गुप्तोले आफ्नो किताब ‘सिजन्स अफ द डिभाइन’ मा नेवार समुदाय र उपत्यकामा मनाइने जात्रा–पर्वका साथै काठमाडौंका सांस्कृतिक मिथक र ऐतिहासिकतामाथि गहन विमर्श गरेका छन्, जो भनिरहन्छन्, ‘काठमाडौं मिथकीय सहर हो ।’ उपत्यकाका जात्रा–पर्वमाथि ‘कान्तिपुर’ सँगको कुराकानीमा उनले भनेका थिए, ‘नेवा संस्कृति बुझ्न यसभित्रको मिथकीय संरचना अध्ययन गर्नुपर्छ । नेवार संस्कृतिको विशेषता उसको ‘सिम्बोलिजम’ मा छ । मिथकलाई धार्मिक अनुष्ठानका रूपमा लिनु, कलाका रूपमा प्रतिनिधित्व गर्नु नेवार संस्कृतिको चेतनशीलताको उदाहरण हो ।’ 

Pilgrimage to the Valley: Where Myths Come to Life, Society Celebrates

‘मिथकीय’ उपत्यकामा जात्राहरूले रफ्तार लिँदै छन्, यिनको जवानी तीव्रसँग कुदिरहेकै छ । तर, सँगै कुदिरहेकै छ– तीव्र सहरीकरण । उपत्यकाका धान फल्ने हरिया फाँटमा क्रंक्रिटको चाङ उठेपछि कृषि–कर्म लोपोन्मुख हुँदै छ, तर जात्राको रोमाञ्च, रौनक, विधिविधान र संरचना उस्तै छ ।

संस्कृतिको लौरो नटेकी दह्रोसँग उभिन सक्दैन– सहर । यसको सास संस्कृतिमै अडिएको छ । जात्रा–वैभव र कलाहरू उपत्यकाका मेरुदण्ड हुन्, जसले अग्लो संस्कृति निर्माण गर्छन् । जात्राहरू सहरका जीवनपद्धति र मान्छेहरू हिँडिआएका समयका तस्बिर हुन् ।

के हामीले उपत्यकावासीको जात्रा उत्साहको पृष्ठभूमि बुझेका छौं ?

दीपक सापकोटा कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully