काठमाडौंलाई साँच्चै अनुभव गर्ने हो ? हो भने यें याः अर्थात् इन्द्रजात्रालाई बुझ्नैपर्छ । जबसम्म मज्जाले इन्द्रजात्रा हेरिन्न, काठमाडौं बुझिन्न । इन्द्रजात्राको सबैभन्दा ठूलो पक्ष भनेकै कुमारी–रथ हो । र, नेपाली संस्कृतिकै उल्लेखनीय पक्ष हो– कुमारी–कथा ।
What you should know
काठमाडौँ — जात्राहरू चलुञ्जेल सहर घमाइलो भइरहन्छ । काठमाडौं उपत्यका लोकाख्यान, जात्रा र उत्सवको सहर हो । उपत्यकामा वर्षको पहिलो जात्रा गथांमुगः (गठे मंगल) भर्खरै मनाइएको छ । त्यो जात्राको रौनक नसकिँदै अर्को जात्रा प्रवेश गर्दैछ र अब उपत्यकाको मनसुन–क्यालेन्डरमा जात्रै–जात्रा छ । ‘कोसेली’ को यसपालिको अंकमा उपत्यका र बाहिरका केही जात्राका कथा, मिथक अनि जीवनसँग तिनको साइनो खोतल्ने प्रयास गरिएको छ । जात्रा–शृंखलामा काठमाडौंमा ८ दिनसम्म उत्साह र उल्लासले मनाइने इन्द्रजात्रा सुरु हुनेछ । यो सामग्री ‘कोसेली’मा शनिबार प्रकाशित हुने जात्रा श्रृंखलाको एक लेख हो ।
नामै यें याः । अर्थात् काठमाडौंको जात्रा । नेपाल भाषामा यें भयो– काठमाडौं । याः भयो– जात्रा । त्यसो त यससँग इन्द्र देउता धेरै अर्थमा जोडिन्छन् । त्यसैले इन्द्र जात्रा भन्ने भयो नै । तर, यो पर्वको नाम यें याः भन्नु नै ठीक भन्ने धेरै छन् । सहरकै नामका रहेको जात्रा भनेपछि भनिरहनु पर्दैन, काठमाडौंको सबैभन्दा ठूलो जात्रा नै यही हो । भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोकामा यःसिं उठाएपछि यो जात्रा विधिवत् रूपमा सुरु हुन्छ ।
र, आठ दिनसम्म यो जात्रा चल्छ । यें याः मा के मात्रै हुन्न ? धेरै हुन्छ । यःसिं उठाएपछि टोलटोलमा भैरवको मूर्ति प्रदर्शनमा राखिन्छ । अनि त्यसको भोलिपल्ट इन्द्रचोकको आकाश भैरव बाहिर निकालिन्छ । यस जात्राका क्रममा लाखे नाच हुन्छ, पुलुकिसि नाच हुन्छ । अनि सव भक्कु र महाकाली नाच पनि हुन्छ । वसन्तपुरको कुमारीघर नजिकै रहेको मन्दिरमा दस अवतार पनि देखाइन्छ ।
यें याः को ठूलो आकर्षण त कुमारीको रथ तान्ने परम्परा पनि हो । यो रथ थः नेयाः मा एकपल्ट तानिन्छ । त्यो भनेको माथिल्लो भागतिर । क्वःनेयातिर दुईपल्ट तानिन्छ, तल्लो भागतिर । आश्विन कृष्ण पञ्चमीको दिन नानिच याः हुन्छ र यो नै यें याः को अन्तिम दिन हो । अन्तिम दिन रथ यात्रा समाप्तिसँगै राष्ट्र प्रमुखले कुमारी, गणेश र भैरवको हातबाट टीका थाप्छन् अनि यससँगै इन्द्र जात्रा सकिन्छ ।
काठमाडौंलाई साँच्चै अनुभव गर्ने हो भने प्रश्न छ– यो सहर सांस्कृतिक रूपमा हो चाहिँ के त ? यति बुझ्ने हो भने यें याः लाई अनुभव गर्नुपर्छ । जति बेलासम्म यो पर्वलाई मज्जाले हेरिन्न, काठमाडौंलाई बुझे नभन्दा हुन्छ । यो पर्वको सबैभन्दा ठूलो पक्ष भनेको कुमारीको रथ तान्ने नै हो । खासमा नेपाली संस्कृतिको सबैभन्दा उल्लेखनीय पक्षकै रूपमा कुमारी प्रथा रहेको छ, विशेषतः यो पर्वसँग जोडिने वसन्तपुरको कुमारी ।
तर, यो पर्व योभन्दा पनि धेरै ठूलो र विशाल छ । अझ यो पर्वको सबैभन्दा ठूलो विशेषता भनेको समयअनुसार परिवर्तन हुँदै आएको छ । जति बेला यो पर्वको आधार तयार हुने क्रममा थियो, देउताहरू आम मान्छे जस्तै काठमाडौं झर्थे । ती आम मान्छेसँग मान्छेकै भाषामा कुरा पनि गर्थे । अब आएर यो आधुनिक समयअनुसार झन् नयाँ र आकर्षक हुन थालेको छ ।
जस्तो, महिलाले मात्रै एक दिन कुमारी रथ तान्ने परम्परा सुरु भइसकेको छ । हनुमानढोकामै रहेको श्वेत भैरवको मुखबाट झर्ने प्रसाद खाने एक अवसर अब त महिलाकै लागि मात्र पनि छुट्याइन्छ । यी पछिल्ला एक दशक जति समयको परिवर्तन हो । यें याः का आठै दिनलाई नजिकबाट हेर्ने हो र त्यसलाई सांस्कृतिक, दर्शन र अरू धेरै फरक दृष्टिकोणबाट बुझ्ने हो भने त्यसले अदभुत अनुभव दिने निश्चित छ ।
यी आठ दिनका आठ ठूला विशेषता यिनीहरूलाई मान्न सकिन्छ ।
पितृ मोक्षको उद्देश्य
यें याः को पहिलो दिन ‘उपाकु वनेगु’ पर्छ । यसको उद्देश्य हो, पितृ मोक्ष । एक वर्षभित्र जति पनि मर्छन्, तिनीहरूका आफन्तले भित्री काठमाडौंमा दियो बालेर घुम्ने गर्छन् । यही हो, ‘उपाकु’ जाने । यसक्रममा पालामा बत्ती बालेर निश्चित स्थान घुम्ने गरिन्छ । काष्ठमण्डप क्षेत्रको मरु क्यबबाट सुरु हुने यो यात्रा त्यहीं आएर टुंगिन्छ । जति घुमिन्छ, कुनै समय यो नै वास्तविक काठमाडौं थियो पनि भनिन्छ ।
नगर परिक्रमाका क्रममा दोबाटो, चौबाटो, चैत्य, पीठ तथा मन्दिरमा काँचो दियो बालेर राख्दै जाने गरिन्छ । यसरी काँचो दियो बालेर राख्दै जाँदा पितृ मोक्ष हुने विश्वास छ । अझ भनौं मृतकको स्वर्गमा बास होस् भन्ने नै सुमतिको कामना हो यो । मृतक परिवारका सदस्य विशेष पूजापछि उपाकु यात्रामा सहभागी हुन्छन् । अनि यसै क्रममा विभिन्न श्लोक र भजन गाउने चलन पनि छ ।
नाटक प्रदर्शन
यें याः का बेला नाटक पनि प्रदर्शन गरिन्छ, यो अर्को ठूलो विशेषता हो यसको । यसलाई भनिन्छ, दीप्याखं । यें याः मनाउने प्रमुख क्षेत्र हो, किलाघः । यहाँ किलाको घट रहेको छ, त्यसैले यो किलाघल भयो । यसै क्षेत्रका ज्यापू समुदायले देवी नाच देखाउनुपर्ने चलन छ । कुमारी रथ तान्ने क्रममा यस क्षेत्रमा दीप्याखं निरन्तर चलिरहन्छ । कुमारी रथको यात्रा सकिएपछि यो नाटक इन्द्रचोकको आकाश भैरव अगाडि प्रस्तुत गरिन्छ ।
परम्परागत खिं र धाः बाजाको तालमा दीप्याखं प्रदर्शन गरिन्छ । यसका सात मुख्य पात्र हुने गर्छन् । ती हुन्– भैरव, कुमारी, चण्डी, दैत्य, कवं, वेत्ता र ख्याः । धेरै अगाडि गुणकामदेवका पालामा काठमाडौंमा हैजाको ठूलो प्रकोप भएको रहेछ । राजालाई सपनामा भनियो, हैजाको महामारी टुंग्याउन दीप्याखं प्रदर्शन गर्नुपर्छ । यसपछि यो परम्परा साँच्चै सुरु भयो । दीप्याखंका क्रममा गीत गाउने चलन पनि छ ।
इन्द्रध्वज उठाउने
इन्द्रध्वज उठाउने काम भएपछि यें याः औपचारिक रूपमा सुरु भएको मानिन्छ । हनुमानढोकाको कालभैरव अगाडि यःसिं ठड्याउने गरिन्छ । यःसिं नै इन्द्रध्वज हो । अनि यो हो, काठको लिंगो । नालाबाट ल्याइएको यःसिंलाई भोटाहिटीमा चार दिन राखिन्छ । साइत हेरेर यसलाई भोटाहिटीबाट हनुमानढोका पुर्याउने काम हुन्छ । यसमा मानन्धर समुदायको विशेष जिम्मेवारी हुन्छ ।
यसको यात्रामा गुरुजु पल्टन सँगसँगै सेनाको पनि सहभागिता रहन्छ । अनि राज्यको प्रतीकका रूपमा हनुमानढोका हेरचाह कार्यालयबाट एक जनाले खड्ग बोकेर त्यसमा सहभागी हुन्छन् । शाहवंशीय राजा प्रतापसिंहले कालभैरव अगाडि नै यःसिं ठड्याउने परम्परा सुरु गरेको मानिन्छ । यस अगाडि अट्कोनारायणमा यःसिं ठडाउने गरेको भाषा वंशावलीमा उल्लेख छ ।
इन्द्रकी आमाको प्रतीक दागीं
सबैभन्दा बढी सुन्ने/सुनाउने कथा यही हो, यें याः बारे । जनश्रुतिअनुसार भएको के थियो भने इन्द्र भेष बदलेर मरुहिटीमा पारिजात फूल टिप्न आएका थिए । स्थानीयले चोर भनेर समाते । पछि इन्द्रकी आमा नै आउनुपरेको थियो, आफ्ना छोरालाई छुटाउन । त्यही बेला स्थानीयले त्यस वर्ष निधन भएका आफन्तलाई स्वर्गमा भेट्न पाउनुपर्ने इच्छा व्यक्त गरेका थिए ।
त्यसैअनुसार रथ यात्रा समाप्त भएपछि तल्लो भेगमा दागीं निकालिन्छ । दागींलाई इन्द्रकी आमाको प्रतीकका रूपमा लिइन्छ, उनले लगाउने मुखौटा सेतो हुन्छ । यसरी दागींसँग पछिपछि लाग्दा स्वर्ग पुग्ने विश्वास छ । अनि यसका लागि मरुदेखि इन्द्रचोकसम्म यो यात्रा गरिन्छ । आफूहरू फेरि जन्मेर आउनु नपरोस् भनेर शतबीज छर्कंदै जाने चलन पनि छ । यस्तै दागींसँगै हिँड्नेहरूले मरुहिटीमा पुगेर मुख धुने परम्परा पनि छ ।
जनउद्धारका लागि बौमत
दागीं निकाल्ने क्रममा यो यात्रा माथिल्लो क्षेत्रमा पुग्दा बौमत निकाल्ने चलन हुन्छ । यो यें याः को अर्को महत्त्वपूर्ण परम्परा भयो । यसलाई निकाल्ने काम पनि मानन्धर समुदायकै हुन्छ । लामो बाँसको टुप्पामा राखिएको बत्तीलाई नै बौमत भनिएको हो । लामो नर्कटलाई बाँधेर त्यसमाथि गोबर लिपिन्छ । त्यसैमाथि पाला राखेर बत्ती बालिन्छ । भनिन्छ, जनउद्धारका लागि बौमत निकालिन्छ ।
जब दागीं यात्रा माथिल्लो क्षेत्रको परिक्रमा गरेर तल्लो क्षेत्रमा लगिन्छ, त्यही बेला बौमत लैजाने चलन रहेको छ । जनधारणा के छ भने दागीं र बौमतको एकआपसमा भेट हुनुहुन्न, यो विपरीत ध्रुवबाट परिक्रमा गर्नुपर्छ । त्यसैले बौमत ल्याउने माथिल्लो क्षेत्रको यात्रा सकिएपछि मात्रै तल्लो क्षेत्रमा परिक्रमा गर्ने गर्छन् । विश्वास के पनि छ भने यें याः मा सहभागी भएमध्ये कसैलाई केही भएको छ कि भनेर बत्ती बालेर हेर्ने चलन पनि थियो ।
सव भक्कु नाच
हलचोकका पुतवार समुदायले सव भक्कु नाच प्रदर्शन गर्ने गर्छन् । उनीहरू यसका लागि किलागल पुग्ने गर्छन्् । यो खासमा तीन देवीको नाम हो र हलचोकका पुतुवार समुदायको जीवन्त संस्कृति । नाचमा मुख्य रूपमा तीन पात्र हुन्छन् । त्यसमध्ये आकाश भैरव नीलो मुखौटाको हुन्छ । यस्तै रातो मुखौटामा भने कुमार र चण्डी हुने गर्छन् । यसलाई यें याः को मुख्य आकर्षण मान्न सकिन्छ ।
सव भक्कु खासमा भैरव देउताकै प्रतीक हुन् । यिनीहरूलाई हनुमानढोकाको नासल चोकमा लगेर राँगा दिने चलन रहेको थियो । सुरुमा उनीहरूलाई नारायणहिटीमा राँगा दिने परम्परा थियो । पूरा यें याः का क्रममा उनीहरू हनुमानढोकाको वरिपरि नाच्ने गर्छन् । यसै क्रममा पूजा राख्ने चलन पनि छ । यें याः बाहेक उनीहरूको १२ वर्षको एउटा अलग्गै जात्रा पनि छ ।
लाखे नाच
उत्तिकै आकर्षण लाखे नाचमा पनि छ । यःसिं ठड्याएको दिन जैसीदेवलको लाखे घरमा मुकुटलाई तान्त्रिक विधिअनुसार पूजा गर्ने गरिन्छ । त्यसपछि यें याः को पहिलो दिनदेखि नै लाखे नाच सुरु हुन्छ । सव भक्कु र लाखेले एकआपसको नाचलाई जुदाउन खोज्दैनन् । त्यसैले उनीहरू एकअर्कोबाट फरक ठाउँमा रहने चलन पनि छ । कुमारी रथसँगै लाखे नाच पनि राख्ने चलन राणाकालमा सुरु भएको मानिन्छ ।
यसलाई पनि यें याः को एउटा महत्त्वपूर्ण सांस्कृतिक पक्ष मान्न सकिन्छ । लाखे नाच देखाउने काम भने रञ्जितकारहरूले गर्दै आएका छन् । लाखेको रातो कपाल हुन्छ भने मुखौटा पनि आकर्षण हुन्छ । लाखेसँग एउटा सानो बच्चा पनि जोडिन्छ । उनी हुन्– झ्यालिञ्चा । यो झ्यालिञ्चाले नाचका क्रममा लाखेलाई जिस्क्याउने गर्छ । लाखेले पनि त्यस क्रममा ती झ्यालिञ्चालाई लखेट्ने गर्छन् ।
चिरागको पछिपछि पुलुकिसी
किलागलबाट पुलुकिसी निस्कन्छन् र उनको अगाडि–अगाडि हुन्छ, चिराग । किसी अर्थात् हात्ती हो, यो । यससँग जोडिएको कथा पनि मज्जाकै छ । इन्द्र एकपल्ट ऐरावत हात्ती चढेर तल झरेका थिए । यो त उनको वाहन थियो । पछि यहीं रहे । नरहुन् पनि किन ? खासमा इन्द्र पारिजात फूल चोर्न आएका थिए । समातिए र एक प्रकारले यहीँ नराम्रोसँग फसे ।
त्यस अगाडि उनले आफ्नो हात्तीलाई किलागलमा बाँधेर गएका थिए । तर, इन्द्र फर्केनन् । हात्ती कुरेको कुर्यै भयो । पछि आफ्नो मालिक खोज्न निस्क्यो । यसैको प्रतीकका रूपमा पुलुकिसी निकाल्ने परम्परा बसेको थियो । यो किलागलकै ज्यापू समुदायले निकाल्ने गर्छन् । पुलुकिसीको आफ्नो नाच पनि हुन्छ । यें याः मा धेरैलाई लाग्छ, पुलुकिसी नै सबैभन्दा आकर्षक परम्परा हो ।
इन्द्र जात्रासँग सम्बन्धित अन्य सामग्रीहरु पनि पढनुहोस् :
