जब म यो धरामा अन्तिम सास फेर्नेछु र मेरो भौतिक देह पञ्चतत्त्वमा विलिन हुनेछ– तमाम मानिसले मलाई जसरी सम्झिए पनि मरिसकेको मेरा लागि त्यसले के नै अर्थ राख्छ र ? मलाई सम्झिनुको साँचो सार्थकता त जीवितै रहँदा पो हुनेछ ।
What you should know
म झस्किएँ, जब मृत्युमाथि सोच्न थालें । जीवन बाँच्ने प्रयोजनका अनेकन भागदौडमा मस्त–व्यस्त रहिरहँदा मैले मृत्युबारे आफू आफैंतिर फर्किएर चिन्तन–मनन र मनोविमर्श गरेकै रहेनछु । सोचिबसें, मृत्यमाथिको चिन्तन पनि आखिर जीवन चिन्तन नै त हो !
मानव सभ्यताले सदैव जीवनको अर्थखोज गरिरह्यो । त्यो अर्थमाथि घोत्लियो मान्छे र प्रकृति–शक्तिसामु झुकिरह्यो । आखिर प्रकृतिको निरन्तरतामाथि ऊ सधैं निर्बल–दुर्बल साबित भइरह्यो । यो चराचर जगत्बाट अन्ततः मान्छे र जीवित प्राणीहरू विलिन हुनु शाश्वत सत्य हो– मृत्युमाथिको विजय फगत एक स्वप्न !
जीवन र मृत्युमाथि मान्छे चिन्तन गरिबस्छ । उसको निष्कर्ष छ– मृत्यु सत्य हो । तर, मान्छे उसैले निकालेको सार अर्थात् त्यो अकाट्य सत्य स्वीकार्न असाध्यै डराउँछ । कतिसम्म डराउँछ मान्छे भने मृत्यु–चिन्तनबाट समेत भाग्छ । ‘एक दिन मर्नैपर्छ’ भन्ने स्मरण मात्रैले पनि ऊभित्र कम्पन पैदा गर्छ । आखिर यही त हो जीवन–स्वभाव । र, जीवनले कहिल्यै मृत्यु–कल्पना गर्दैन ।
०००
म यात्रालाई जीवनको सबैभन्दा उत्तम आविष्कार सोच्छु । यदि लेखक एक दस्ताबेजकर्ता हो भने यात्रामाथि लेख्नु इतिहास लेख्नु पनि हो– तत्समयको प्रकृति र संस्कृतिको । मलाई लाग्छ– यात्रीले यात्रालाई जीवनकै एक पाठशालाका रूपमा ग्रहण गर्छ ।
लामो यात्राबाट घर फिरेकै दिन मित्र दीपक सापकोटाको अनुरोध आएको थियो– ‘कोसेली’ का लागि ‘मृत्यु–चिन्तन’ माथि केही शब्द लेख्न । हो त्यसपछि नै म झस्किएको थिएँ, जब मृत्युमाथि सोच्न थालें । लाग्यो, जीवन पनि सत्य हो, मृत्यु पनि सत्य । त्यसैले सत्य र असत्य जोड्ने डोरी असाध्यै झिनो छ, जो जुनै बेला पनि चटक्कै चुँडिन सक्छ । कवि हरिभक्त कटुवालले शक्तिशाली कविता ‘यो जिन्दगी खै के जिन्दगी’ मार्फत भव्य मृत्यु–चिन्तन गरेका छन्–
बन्दुकको नालमा टाउको राखेर निदाउनुपर्छ यहाँ
खुकुरीको धारमा पाइताला टेकेर जिउनुपर्छ यहाँ
आँखा चिम्लनु पनि जगजगी, आँखा उघार्न पनि जगजगी
यो जिन्दगी खै के जिन्दगी !
...रबरको सस्तो चप्पलजस्तै यो जिन्दगी !
बाटामा हिँड्दाहिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी !
जीवित हामीले मृत्यु भोगेका छैनौं । मृत्युवरण गरी अनन्त यात्रामा गएका हाम्रा पुर्खाले फर्किएर हामीसामु आई मृत्यु–बोधको बयान गरेका छैनन् । सायद त्यसैले हो– हामीभित्र उत्पन्न भइरहने ‘मृत्यु भय’ खास मृत्युको होइन, जीवन भोगाइमा आफैंले सञ्चय गरेका विषय–वासनाका सुखानुभूति, सम्बन्धका जालो अनि पद, पैसा र प्रतिष्ठाका पोकालाई चटक्कै छाड्नुपर्दाको ग्लानि मात्रै हुन सक्छ । फगत रिक्तताबोधको एक पीडा । सबै सुख, सम्बन्ध, अनुभूति, ज्ञान र बोध छोडेर मान्छे यो लोक छाडी जानुपर्छ एक दिन । र, हरिभक्तले भनेझैं ‘च्याट्ट टुट्न सक्छ यो जिन्दगी !’
०००
मेरो मृत्युपछि मानिसले मलाई कसरी सम्झिएलान् ? घाट, जीवन र मृत्युमाथि चिन्तन गरिबस्ने लेखक कुमार नगरकोटीको ब्रान्डेड शब्द सापटी लिन्छु– हु केयर्स ? मान्छेले मलाई कसरी याद गर्लान् ? त्यसबारे मलाई चासो छैन । अनुमान गर्छु, मेरो मृत्युपछि सायद केही मानिस स्तब्ध हुँदा हुन् । सामाजिक सञ्जालहरूमा केही हितैषी मित्रहरूको समवेदना र श्रद्धाञ्जलीका शब्द आउलान् । मेरा छोराहरू, पत्नी, दाइ–भाइ–दिदी र स्वजन–प्रियजनलाई चाहिँ केही लामै समयसम्म सायद मेरो अभाव खट्किइरहला । जस्तो कि बुबा बित्नुभएको ११ वर्ष भइसक्यो, अझै मलाई बुबाको अभाव खट्किइरहन्छ, यादले सताइरहन्छ । अब त म आफैं पनि अधबैंसे भइगएँ, तर अभिभावक गुमाउनुको पीडा खिल बनेर मन–मस्तिष्कमा जमिरहँदो रहेछ, असाध्यै गहिरो दहझैं । तर, जगत्मा बाँचेकाहरूले समयसँग सम्झौता गर्दै जानुपर्ने रहेछ ।
मान्छेको स्वभाव कस्तो रहेछ भने ओइलाउँदै जानेरहेछन् उसका स्मृतिहरू । ‘टाइम हिल्स’ भनिन्छ नि ! खासमा समय नै औषधि रहेछ– शोक र समवेदनाको । यात्राहरूमा निर्विचार रहेका बेला अन्धकार रातहरूमा आकाश हेर्छुर् । देख्छु, टिल्पिलाएका–टिम्टिमाएका ताराहरू । म सानो छँदा पुस–माघका चिसा, अन्धकार साँझहरूमा अँगेना वरिपरि बसेर पाकाहरू लोक–कथाहरू हाल्थे– बितिगएका मान्छेहरू आकाशका तारा बनेर जीवित आफन्तलाई हेरिरहन्छन् । आकाशका ताराहरूमाझ बुबा कुन तारा होलान् ? कहिलेकाहीँ उही बालक बन्छु ।
जसरी बुबा अब स्मृतिबाट धुमिल–धुमिल हुँदै हुनुहुन्छ, म सोच्छु– मृत्युपछि मेरा ती तमाम आफन्तले पक्कै मेरो अभाव महसुस गर्लान् तर समयसँगै बिर्सिंदै पनि जालान् । र, अर्को अध्याय सुरु होला– उनीहरूको स्मृतिको । यसरी हेर्दा, मेरो या जो कसैको मृत्यु पनि केही समयका लागि शोक, सन्ताप र रिक्तता–बोधको कारण हुन सक्ला । तर, जीवन नित्य नभएझैं मृत्यु, भय र शोक पनि अनित्यै हुन्छ, जुन समयको तीव्र दौडमा हराइजान्छ/हराउनुपर्छ ।
०००
थाहा छ– मृत्यु शाश्वत हो । तर, मरेर पनि कसरी बाँच्न सकिन्छ ? त्यो मोहमा मग्न–मग्न छ मान्छे । कवि/लेखक/वैज्ञानिक र तमाम स्वप्न मान्छेहरू आफ्ना कृतिमा अमर हुने चाहनाले जीवनको गल्लीहरूमा अनवरत यात्रारत रहन्छन् । तर, उसले छाडिगएको कृतिले ऊ पछिको पुस्तालाई कुनै प्रेरणा दिएको भए पो त्यो केही समय जीवित रहला त । कृतिहरूको महिमा पनि समयका दाँतीहरूमा हराएर जान्छन्/असान्दर्भिक हुन्छन् । यत्ति बोध भए कृतिकारको मृत्यु सहज, शान्त र सुन्दर हुनेछ । अहिले मैले पाइरहेको वाहवाही, प्रशंसा वा भनौं ख्याति– ती सबै क्षणभंगुर हुन् र मेरो शेखपछि ती सबै छिट्टै हराएर जानेछन्, यसमा म सम्पूर्णतः स्पष्ट छु । प्र्रियजनहरू ! म भ्रममा बाँच्न चाहन्न !
जब म यो धरामा अन्तिम सास फेर्नेछु र मेरो भौतिक देह पञ्चतत्त्वमा विलिन हुनेछ– तमाम मानिसले मलाई जसरी सम्झिए पनि मरिसकेको मेरा लागि त्यसले के नै अर्थ राख्छ र ? सम्झिनुको साँचो अर्थ त म मरिसकेपछि होइन, म जीवितै रहँदा पो राख्छ । अनि पो ‘सम्झनु’ मा सार्थकता हुन्छ । तर, ‘मृत्युवरणपछि मलाई एक असल मानिसका रूपमा मानिसले सम्झिऊन्’ भन्ने चाहनाचाहिँ जीवितै छँदा राख्नुपर्छ, जसले मलाई जीवनको असल मार्ग र कर्मतर्फ डोहोर्याउनेछ ।
त्यसैले प्रियजन ! म मरेपछि लेखिने ममाथिको श्रद्धाञ्जली लेख, स्मृति आलेख वा अबिच्युरीले मलाई के अर्थ राख्छ र ?
०००
मानिसले कस्तो जीवन जिउनुपर्छ ? क्रान्तिकारी सोभियत लेखक निकोलाई अस्त्रोभस्कीको प्रख्यात उपन्यास ‘अग्निदीक्षा’ मा यसको सानदार उत्तर पाइन्छ, ‘मानिसको अमूल्य सम्पत्ति हो जीवन । यो यसरी जिउनुपर्छ कि उत्तरार्धमा गएर आफूले निरुद्देश्यपूर्ण ढंगले बिताएका क्षणहरूले आफैंलाई पीडा नहोस् । आफ्नै जीवन आफैंलाई दुर्गन्धको कुण्ड नलागोस् र पश्चात्ताप नबनोस् । विगतका क्षणले आफैंलाई लज्जित बनाएर नजलाओस् । मृत्युशय्यामा पनि उसले आफ्नो सारा जीवन र सारा ऊर्जा संसारको सबैभन्दा सुन्दर पक्ष मानव जातिको हितका लागि अर्पण गरें भनेर गर्व गर्न सकोस् ।’ के सार्थक जीवनको योभन्दा सुन्दर परिभाषा अर्को हुन सक्छ ?
जीवनका यावत् विषय र वासनाबाट मुक्त हुन सफल वैरागी, साधु, सन्त र सिद्ध पुरुषहरू हाँसी–हाँसी यसरी मृत्युवरण गर्छन्, मानौं तिनका लागि मृत्यु कुनै आयाम नै होइन । कतै पढेको थिएँ– स्वामी रामकृष्ण परमहंस परिवारलाई पूर्वसूचना दिएरै आनन्द भावमा समाधिस्थ भएका थिए । ओशोले ‘मृत्यु नै छैन’ भनेका छन् । ओशो–विचारमा मृत्यु जीवनको अन्त्य होइन, रूपान्तरण मात्रै हो । नवजात शिशु समय क्रममा बालकमा रूपान्तरित हुन्छ, बालक तन्नेरी, अधबैंसे र वृद्धमा । अन्ततः उसले शरीर त्याग्छ र जन्मिनुअघि जुन अवस्थामा थियो, त्यही अवस्थामा पुग्छ । मृत्युलाई अत्यन्तै सहज प्रक्रिया ठान्ने ओशो–पथिक ‘स्वजन’ को देहावसानमा नाच्दै–गाउँदै र उत्सव मनाउँदै अन्तिम संस्कारमा सहभागी भएको देखेको छु ।
मृत्युलाई उत्सव मान्न ओशो, बुद्ध वा कृष्णजस्ता सम्बुद्धहरूलाई सहज होला । तर, मजस्ता आम सांसारिक मानिसका लागि मृत्यु हो– एउटा त्रासदी, जीवनको परम अभाव, दुःखको चरम उत्कर्ष र भयंकर पीडादायी क्षण ! किनभने मानिस मर्न चाहँदैन, सदैव बाँच्न चाहन्छ । तर, मृत्यु–दुःख उसले भोग्नैपर्छ । बुद्धले भनेकै थिए– जन्म, जर (बुढ्यौली), व्याधि (रोग) र मृत्यु चार आर्यसत्य अर्थात् दुःख हुन् । सदा बाँचिरहन चाहने मानिसको स्वभाव नै दुःख हो ।
पुनर्जन्मका आख्यानले मान्छेमा आशा जगाउँछ । भौतिकवादी र खासगरी पूर्वकै चार्वाक दर्शनले पुनर्जन्मको अवधारणा मान्दैन । चार्वाक दर्शनले भन्छ– ‘यही मानव जीवन नै प्रथम र अन्तिम हो । जे गर्ने, यही जुनीमा गर्नुपर्छ ।’ यसले भोगवादी सोचलाई बढावा दिन्छ । तर, हिन्दु र बौद्ध परम्परामा पुनर्जन्मको चर्चा छ । खासमा यो अवधारणाको गर्भमा ‘मानिसले जीवनलाई सार्थक बनाउनुपर्छ र परोपकार, मानव कल्याण खातिर आफूलाई समर्पित गर्नुपर्छ’ भन्ने महान् दर्शन लुकेको छ ।
पूर्वीय मान्यता छ– यो जुनीमा राम्रो कर्म गरे परत्र सुध्रिने मात्रै होइन, अर्को जुनीमा त्यसको सकारात्मक प्रारब्ध फल प्राप्त हुन्छ । ‘जुनी सपार्नु’ अर्थात् लोककल्याणमा आफूलाई समर्पित गर्नु ! यही बोधले म आफूलाई सोही मार्गमा हिँडाउन प्रयत्नरत छु । पुनर्जन्म हुन्छ कि हुँदैन ? मेरा कर्महरूको सञ्चित प्रारब्ध फल भोग्नुपर्ला कि नपर्ला ? मलाई थाहा छैन । त्यो विमर्श ज्ञानीहरूले गरून् ।
तर, सत्य के भने यो जुनीमा कसैलाई दुःख, पीडा दिएका छौं/सताएका छौं भने हामीले यही जुनीमै पश्चात्ताप गर्नुपर्नेछ । कुनै न कुनै दिन अभ्यन्तरले भन्नेछ हामीले जे गर्यौं, गलत थियो । मृत्यु–चिन्तनरत मलाई लाग्छ– जीवन सार्थक बनाउनेतर्फ आफूलाई ध्यानस्त पार्नुपर्छ । ‘जीवन सार्थक बनाउनु’ अर्थात् परोपकार र लोककल्याणमा आफूलाई समर्पित गर्नु ।
अर्को जुनीका लागि भगवान्सँग के प्रार्थना गर्ने ? ‘अथर्ववेद’ मा लेखिएको छ– अर्को जुनीमा मलाई स्वस्थ इन्द्रिय प्राप्त होस् र म शक्तिशाली बनूँ । आध्यात्मिक सम्पदा, ईश्वर र वैदिक ज्ञान प्राप्त होस् र म अर्को जन्ममा विश्व कल्याणका लागि निःस्वार्थ भावले काम गर्न सकूँ । मेरो मन र कर्मको पवित्रताले मलाई मोक्ष प्राप्त गरोस्, जन्म र मृत्युको चक्रबाट म मुक्त हुन सकूँ ।’
जीवन हिँडिआएको दुःखका–सुखका आँखिझ्यालतिर फर्किहेर्छु र सोच्छु– कमजोरी त मेरा पनि कैयौं भए होलान् तर आजसम्म कसैलाई जानी–जानी दुःख दिइनँ, अन्याय गरिनँ ।
म चाहन्छु– लोकले मलाई ‘एउटा असल मानिस थियो’ भन्ने रूपमा सम्झिऊन् । मरेपछिको मेरो पात्रता र सान्दर्भिकता त समाप्त भइहाल्नेछ । तर, सम्झिनेहरूले मलाई यसरी सम्झिऊन्, जसबाट तिनलाई जीवन सार्थक बनाउन थोरै भए पनि प्रेरणा मिलोस् ।
जीवन–मृत्युका कथा र विमर्श–चिन्तन खासमा समयको अन्त्यहीन बहस हो । जीवनमा कथैकथा छ, जसको तार जोडिएको हुन्छ– सन्तोष, अवसाद र प्रेरणामा । प्रियजन ! म त छिरुँला– मृत्युको अँध्यारो र अनन्तः ‘टनल’ मा, तैपनि मेरो सार्थक जीवन–आलोकले बाँच्नेलाई केही प्रेरणा मिलिरहोस् भन्नुबाहेक मैले अरू चाहना राख्नुको के अर्थ छ ?
