अहिले ‘चल्न’ गीत गाइन्छ, रमाइलोका लागि त त्यो ठीक छ । तर, जो संगीतमा टिकिरहन चाहन्छन्, उसँग संगीतको गहिरो ज्ञान हुनैपर्छ– निशा देशार
करिब ५ सय गीत रेकर्ड भइसकेका छन्– गायिका निशा देशारका । दुई सय हाराहारी त नेवा: भाषाकै छन् । नेवा: भाषाका उनका गीत सुपरहिट छन् । ती गीत विशेषगरी नेवारी पर्व, नाच, जात्रामा घन्किन्छन् । नेवारी परिकारको स्वाद चाख्न रेस्टुरेन्ट पुग्नेहरू नेवा: भाषामा गाइएका निशाका गीत ‘डिमान्ड’ गर्छन् ।
जस्तो पछिल्लो समय निशाले गाएको बहुचर्चित गीत हो– ‘ऐला लुवया..’ । त्यो गीतको अर्थ हुन्छ– रक्सी पिलाउन आएँ...। दशकौंदेखि निशा गीतको ‘ऐला’ पिलाइरहेकी छन् ।
‘ऐला लुवया..’ गीत युट्युबमा मात्रै १ करोड ६५ लाख बढीले हेरिसकेका छन् । गीतमा रोजमान महर्जनको शब्द छ, संगीत र स्वरमा निशा र रोजमान छन् । त्यो गीतिभिडियो पनि दर्शकले असाध्यै रुचाएका छन्, यो गीतमा बनेको टिकटक त कति कति !
...
घरमा सांगीतिक माहोल हुन्नथ्यो त आज ललितपुर, गोदावरी बज्रबाराहीकी निशा देशारलाई चिन्ने सायदै भेटिन्थे । उनका बाजे रामलाल भजन गाउँथे । उनी गुरु थिए, जो अरूलाई गाउन सिकाउँथे । रामलालले भजनमै परिचय बनाएका थिए ।
बुवाकै पथमा छोराहरू ज्ञानलाल र प्रेमबहादुर पनि हिँडे, गायकीको सिको गरेर अनि गीत–भजन गाएर घरगाउँ, समुदायलाई मन्त्रमुग्ध बनाए । निशाले थाहा पाएदेखि नै घरमा सांगीतिक माहोल थियो । त्यो पर्यावरणले कुन क्षेत्र रोज्ने ? उनी विकल्पको खोजीमा हिँड्नु परेन । बालापनदेखि नै निशाले स्वरलाई निखार्दै गइन्, हार्मोनियममा हातका औंला अभ्यस्त बनाउँदै गइन् । तर, उनको स्वर माझिन नपाउँदै काका प्रेमबहादुर बिते ।
प्रेमबहादुरका धेरै गीत रेडियो नेपालमा रेकर्डिङ भएका छन् । भजन, गजल र नेवा: भाषाका गीत एकपछि अर्को गाएर परिचय उँचो बनाउँदै गर्दा पाँच वर्षअघि बुवा ज्ञानलालले पनि सदाका लागि छोरीको साथ छाडे । बुवा बितेको दुई वर्षमै आमा चिरिमाया गइन्, नफर्किने यात्रामा ।
‘घरमा सांगीतिक माहोल भएकै कारण सानैदेखि मेरो ध्यान यतै गयो,’ निशा भन्छिन्, ‘बाजे–बुवा र काकाले अँगालेकै क्षेत्र रोजेकाले सबैमाझ चिनिने भएको छु ।’ उनको गायनीको संघर्ष कथा केही भिन्न छ । पहिले रेडियो नेपालको एक सय मेघाहर्जमा एफएमहरू बज्थे । ती एफएममा बज्ने प्राय: कार्यक्रम उनी सुन्थिन् । रेडियोमा फोनिङ कार्यक्रम चल्थे । साथीहरूको लामो नामसहितको लिस्ट पढेर मन परेको गीत फर्माइस गर्न पाइन्थ्यो । कुनै–कुनै कार्यक्रममा फोनबाटै गीत गाउने प्रतियोगिता हुन्थ्यो । २०५७ सालतिरको कुरा हो । रेडियो नेपालकै एक सय मेघाहर्जमार्फत चल्ने एफएममध्ये एउटाले नेवा: भाषाको गीत प्रतियोगिता गर्यो, त्यो पनि फोनमै । त्यसमा निशाले पनि सहभागिता जनाइन् ।
‘मैले प्रतियोगिता जितें, सित्तैमा गीत रेकर्ड गर्न पाएँ,’ उनी पुरानो कुरा स्मरण गर्छिन्, ‘प्रतियोगिता कलश मिडियाले आयोजना गरेको थियो, कार्यक्रम चलाउने पवित्रा क:सा हुनुहुन्थ्यो ।’ उनले प्रतियोगिता जितेर पहिलो पटक रेकर्ड गराएको नेवा: भाषाको गीत हो, ‘त्वता वम्हं यजुयात...’ ।
‘गीत त रेकर्ड भयो, कस्तो बन्यो, बनेपछि कस्तो सुनिएला भन्ने लागिरह्यो,’ उनी भन्छिन्, ‘जुन गीत पछि रेडियोहरूमा नेवा: कार्यक्रममा बज्न थाल्यो, सबैले कस्तो मिठो स्वर भन्दै प्रशंसा गर्दा दंग परें ।’ रेडियोमा त्यो गीत बजाइदिन माग गर्दै चिठीपत्र आउँथ्यो । हौसला बढ्दै गयो । बाजे–बुवाका उमेरका सर्जकहरू गीत सुनेर घरमै भेट्न पुग्थे । ‘मलाई भेटेपछि सबै छक्क पर्नु हुन्थ्यो, कतिले त कति सानी रैछौ, यही उमेरमा कति राम्रो गाएको भन्नुहुन्थ्यो,’ उनी पुराना कुरा सम्झिन्छिन्, ‘भजन गायनसम्बन्धी कार्यक्रमहरू गर्दा प्राय:ले बोलाउनुहुन्थ्यो ।’
यसरी कैयौं पटक बज्रबाराहीबाट गीत र भजन गाउन उनी पाटनढोका, नागबहाल पुगिन् । उनले २०५७ सालमै नेपाली भाषामा भजन पनि रेकर्ड गराइन् । न्हुय बज्राचार्यको जमलमा रहेको डोरेमी म्युजिक सेन्टरमा संगीत सिक्दै गर्दा उनलाई भजन रेकर्डको अफर आएको थियो । ईश्वर अमात्यको संगीत र राधिका श्रेष्ठको शब्द रहेको ‘प्रभु तिम्रै एक दर्शन पाए...’ गीत रेकर्ड भयो । यसको भिडियो नेपाल टेलिभिजनले बनाइदियो । त्यो टेलिभिजनमा दैनिकजसो प्रसारण भइरहन्थ्यो । पछि उनले एकपछि अर्को गर्दै नेवा: भाषाका गीत रेकर्ड गराउँदै गइन् ।
...
२०६२ सालसम्म उनले धेरै गीत गाइनन् । नेवा: भाषाका गीत मात्रै फाट्टफुट्ट गाइरिहन् । संगीतको नशा र घरको अवस्थाले उनले ६ कक्षासम्म मात्रै पढिन् । छोरीले नपढे पनि खासै वास्ता हुँदैनथ्यो । त्यही बेवास्तामा उनी पनि परिन् । पछि २०५९ सालमा विवाह गरेपछि उनलाई श्रीमान्ले पढ्न हौस्याए । त्यसपछि सातदोबाटोस्थित प्रेरणा महिला माध्यमिक विद्यालयमा सात कक्षामा भर्ना भएर पढ्न सुरु गरिन्, जहाँ उनीजस्तै पढाइ छुटेका दिदीबैनीहरू भर्ना भएर पढिरहेका थिए ।
निशाको विवाहको प्रसंग रोचक छ । उनले सञ्चारकर्मी युमाश शेर्पासँग प्रेम–विवाह गरिन् । ‘म रेडियोहरूमा फोन गर्थें, चिठी पठाएर गीतहरू फर्माइस गर्थें, उहाँले पनि रेडियोमा कथा, कविता पठाउनु हुन्थ्यो,’ उनी भन्छिन्, ‘यस्ता कार्यक्रममा चिठी पठाउँदा कहिलेकाहीं मेरो नाममा पनि रेडियोमा गीत बजाइदिन फमाईस गर्नुहुन्थ्यो ।’ पछि २०५७ सालतिर डोरेमीमा संगीत सिक्न जाँदा युमाशसँग उनको भेट भयो । गुरुदेव कामत र ईश्वर अमात्यको अन्तर्वार्ता गर्न डोरेमी पुगेका थिए– युमाश । पुर्ख्यौली घर सोलुखुम्बुको खुम्जुङ भए पनि युमाश ठमेलको ज्याठामा जन्मिएका हुन् ।
‘विवाहपछि मलाई श्रीमान्ले नै पढ्न प्रेरित गर्नुभयो,’ उनी भन्छिन्, ‘ढिलो पढे पनि अहिले ललितकला क्याम्पसबाट मानविकी संकायअन्तर्गत फाइन आर्ट्सबाट संगीतमा स्नातक गरें ।’ अहिले युमाश–निशाको साथमा २० वर्षकी छोरी छन् । उनलाई एसएलसी परीक्षा आउने बेलैमा रेडियो नेपालको वार्षिकोत्सवका अवसरमा आयोजित आधुनिक गीत गायनमा भाग लिन भनेर अनुरोध गर्दै फोन आयो । ‘यो पटकको प्रतियोगितामा सहभागी हुनुपर्छ भन्दै रेडियो नेपालबाट फोन गर्नुभयो मनोराजा नकर्मीले, तर मेरो एसएलसी परीक्षा छ भन्न एकदम लाज लाग्यो, हार्दिकतापूर्वक गरिएको आग्रह नकार्न सकिन,’ उनी भन्छिन्, ‘यति ठूलो भएर बल्ल एसएलसी दिँदै छौ भन्नु होला भन्ने लाग्यो ।’ परीक्षा प्रभावित नहुनेगरी उनले अडिसन दिइन् ।
‘अडिसनमा देशभरबाट ६२ जना छनोट भयौं, सिंहदरबार बाहिरको भित्तामा छनोट हुनेहरूको नाम टाँसिएको थियो,’ उनी भन्छिन्, ‘माथिदेखि नाम हेर्छु, देख्दिनँ, हेर्दै जाँदा सबैभन्दा अन्तिम ६२ नम्बरमा मेरो नाम रैछ ।’ नाम निस्किएपछि रेडियोमा संगीतका मुर्धन्यहरूको अघिल्तिर उभिएर गाउनुपर्थ्यो, डर थपियो । बिजेता भइन्छ कि भइँदैन ? कसरी गाउने ? भयले निशालाई सताइरह्यो । प्रतिस्पर्धाका बेला गायिका मीरा राणा, संगीतकार दीपक जंगम, गायक फत्तेमान निर्णायकका रूपमा थिए ।
‘२०६६ चैत १६ मा सबैजना बिहानै रेडियोमा पुगेर एकपछि अर्को गर्दै गीत गायौं । साँझ ६ बजेको समाचारमा प्रतियोगितामा को–को विजेता भए, रिजल्ट आयो, विजेताको नाम चौथो हुनेबाट क्रमश: समाचारवाचकले भन्दै गए,’ उनी भन्छिन्, ‘चौथो, तृतीय, द्वितीय कुनैमा पनि नाम नपरेपछि म केही भइन भन्नेभयो, आशै मरिसकेको थियो । अन्तिममा प्रथम भएकी छन् निशा देशार भन्दा चकित परें, सपना जस्तै लाग्यो ।’ त्यो बेला अभिनेता दयाहाङ राई पनि साथै थिए । उनी संघर्षकै चरणमा थिए ।
‘उहाँकी श्रीमती बेनुका राई मेरो साथी हो, उहाँ पनि मसँगै प्रतिस्पर्धी हुनुहुन्थ्यो, दयाहाङ गीतसंगीत एकदमै मनपराउनु हुन्थ्यो,’ उनी भन्छिन्, ‘म प्रथम भएकोमा उहाँ यति धेरै खुसी हुनुभयो कि मलाई बोकेर तीन फन्का नै घुमाउनुभयो, उहाँजति खुसी कोही देखिनँ ।’ प्रथम हुँदा उनले ७ हजार रुपैयाँ पुरस्कार पाइन् । त्यो पैसाले हार्मोनियम किनिन् । २०६६ सालपछि उनको उपस्थिति गीतसंगीतमा बाक्लिँदै गयो ।
...
रेडियो नेपालले आयोजना गरेको प्रतियोगितमा प्रथम भएपछि उनलाई संगीतकार सुरेश गैरेले गजल गीत गाउन प्रस्ताव गरे । माधव ढकालको शब्द ‘तिम्रो मेरो सम्बन्धको चर्चा..’ बोलको गीत महिलाको स्वरमा उनले रेकर्ड गराइन् । त्यो गीत गायक दीपक लिम्बूको स्वरमा भने पहिल्यै आइसकेको थियो । त्यसपछि उनले कृष्णहरि बरालको शब्द र गैरेकै संगीतमा ‘जमाना खराब छ...’ बोलको गीत गाइन्, जुन गीतले राम्रो चर्चा बटुल्यो । धेरैले रुचाए । फेरि सबैको जनजिब्रोमा झुन्डिने गरी बरालकै शब्द र महेश खड्काको संगीतमा ‘तिमी कुन जमानामा छौं...’ बोलको गीत उनको स्वरमा रेकर्ड भयो ।
यो गजल–गीतले झन् चर्चा बटुल्यो । उनको स्वर रहेका गीत एकपछि अर्को हिट हुँदै गए । आनन्द रत्न बज्राचार्यको शब्द रहेको ‘म त अजनबी भए छु..’ गीतमा पनि उनकै स्वर छ । यो गीतबाट उनले इमेज अवार्ड पनि जितिन् । यो अवार्ड उनका लागि पहिलो भने थिएन । उनको स्वर नेपाली फिल्ममा पनि सुन्न पाइन्छ । ‘राहदानी’ फिल्मको उनकै स्वर रहेको मारुनी भाका ‘साउनको ठूलो झरी....’ निकै चल्यो । ‘अधकट्टी’ फिल्मको आइटम गीत ‘चाल मेरो नागबेली...’ मा पनि उनकै स्वर छ । दीपक जंगमको संगीत र आनन्दराज खनालको शब्दमा ‘तिमि बिनाको...’ बोलको गीत पनि रेकर्ड गराइन् । गीतकार राजुबाबु श्रेष्ठको शब्दमा ‘तिम्लाई माया..., आनन्द अधिकारीको ‘राष्ट्र देवो भव:...’ गीतमा पनि उनको स्वर छ ।
‘ऐला लुवया..’ कै कुरा गरौं न ! ‘रोजमानले एउटा दोहोरी खालको नेवा: भाषाको गीत बनाएको छु, तपार्इंले एकचोटि सुनिदिनु र मनपरे गाइदिन भन्नुभयो, मलाई एकदमै मनपर्यो,’ उनी भन्छिन्, ‘फेरि यही वरिपरिको काँठ भाका बच्चैदेखि सुन्दै आएको मान्छे परें म, मन परेर गाएँ, दर्शक–श्रोताले यत्ति मन पराइदिनुहोला भन्ने लागेकै थिएन ।’
स्वर, शब्द, संगीत र भिडियो सबै राम्रो भएकैले गीत धेरैले मन पराएको उनको बुझाइ छ । ‘नेवा: समुदायमा नाच्ने खालका गीत कम भए, हिजोआज भोजहरूमा हिन्दी, अंग्रेजी गीत धेरै नै बज्छन्,’ उनले भनिन्, ‘भोजहरूमा नेवा: गीत बज्नुपर्छ, त्यसका लागि नाच्ने गीत चाहिन्छ भनेरै यो गीत तयार भयो ।’
हिजोआज प्राय:जसो नेवा कार्यक्रममै व्यस्त हुन्छिन् उनी । ‘मेला महोत्सवमा जाँदा दर्शकदीर्घाबाट हिजोआज ‘ऐला लुवाय.. ’ गाउन माग हुन्छ,’ उनी भन्छिन्, ‘नेवा: समुदायको कार्यक्रमबाहेक अलि अघि चितवन महोत्सवमा पनि दर्शकले यही गीत गाइदिन आग्रह गरे ।’ निशा र रोजमानकै स्वर रहेको ‘माया मदुला..’ गीत पनि युट्युबमा ४८ लाख बढीले हेरिसकेका छन् । यी दुवैको स्वर रहेको अर्को गीत ‘मखं त्वा : या ग्वा :...’ पनि हिट छ । निशाले कृष्ण, शिवभजन पनि धेरै गाएकी छन् ।
‘संगीतको सात सुर हुन्छ, फेरि यो एकदमै गहिरो विषय हो, अहिलेको समयमा जस्तो गाएर पनि चलिन्छ भनेर गीत गाइन्छ, रमाइलोका लागि त्यो ठीक छ,’ निशा भन्छिन्, ‘तर, जो सर्जक संगीतमा टिकिरहन चाहन्छन्, उसले संगीतको ज्ञान लिनैपर्छ ।’
