भूमध्यरेखामा उभिएर

वालेसले १९ औं शताब्दीको मध्यमा ‘वालेस लाइन’ भनिने रहस्यको व्याख्या मात्रै गरेनन्, संसारमा प्रजाति उत्पत्तिसम्बन्धी चार्ल्स डार्बिन सिद्धान्तलाई पनि सहयोग पुर्‍याए । तिनै वालेस हिाडेको इन्डोनेसियाका टापु पछ्याउँदा नेपालका संरक्षण–वैज्ञानिकको मस्तिष्कमा पनि प्रकृति र जीवका सम्बन्धबारे अनगिन्ती प्रश्न थपिएका छन् ।

पुस २७, २०८१

कुमार पौडेल

Standing on the equator

काठमाडौँ — भूमध्यरेखामा अडिएर र ‘वालेस लाइन’ को एकापट्टि उभिएर अचम्मलाग्दो वास्तविकतामा गम खाइरहँदा प्रकृति अनि जीवको सम्बन्धबारे अनगिन्ती प्रश्न मभित्र थपिएका छन् । 

१९ औं शताब्दीको मध्यतिर ब्रिटिस खोज–अनुसन्धानकर्ता अल्फ्रेड रसेल वालेसले संसारको एउटा रहस्यको जवाफ वालेस लाइन कोरेर दिएका थिए । म बाली टापुको तटमा छु । त्यहाँबाट पारिपट्टि क्षितिजमा घुर्मैलो लोम्बोक टापुको दृश्य देखिन्छ । आँखाले देख्दैमा वा समीप हुँदैमा सबै आफूजस्तै हुँदैन भन्ने त्यो करिब ३५ किलोमिटरबीचको दूरीले बताउँछ । लोम्बोक मैले टेकेभन्दा प्राकृतिक रूपमा पूरै फरक विश्व हो ।

इन्डोनेसियाको बाली टापुदेखि पश्चिमी फिलिपिन्सबीचको समुद्रमा एउटा काल्पनिक जैविक रेखाको रूपमा वालेस लाइन छ, जसले त्यस वारपार दुई फरक संसार बनाएको छ । उत्तर पश्चिमपट्टि एक खाले जनावर र वनस्पति छन् भने पूर्वदक्षिणपट्टि पूरै अर्कै । पौडिने र उड्ने जीवहरू पनि उक्त लाइन काट्दैनन् ।

सदीयौंदेखि त्यहाँको समुद्री रेखामा त्यसलाई रोक्ने विचित्रको उछाल रहनु र आसपासका टापुमा बसाइँसराइ गर्ने चरा नै नहुनुले त्यो जैविक चक्रको अचम्मको स्थापित प्रवृत्ति देखिन्छ । वालेस लाइनको एसियापट्टि पाइने गैंडा, हात्ती, बाघ, काठफोर, वाटर बफलोजस्ता प्रजाति कसैगरी पनि अस्ट्रेलियापट्टिको भागमा छैनन् । र, अस्ट्रेलियातिर भएका कंगारु, कोआला, इकिडनाजस्ता जीव–प्रजाति वारिपट्टि आएका छैनन् ।

१९ औं शताब्दीमा चार्लस डार्विनकै समकालीन जीवशास्त्री वालेसले करिब एक दशक इन्डोनेसियामा बिताएर संसारलाई चकित पार्ने वालेस लाइनबारे आफ्नो दलिल पेस गरेका थिए । डार्बिनसँगको सहकार्यमा ‘नेचुरल सेलेक्सन’ को सिद्धान्त सिर्जना गर्ने वालेसले सीमित स्रोत र ज्ञान हुँदाको पृथ्वीको तत्कालीन समयमा थोरै वारपारको अथाह भिन्नता प्रस्ट्याउने जवाफ दिएका थिए । डार्बिनले प्रतिपादन गरेको उत्पत्तिको सिद्धान्तलाई समेत ‘वालेस लाइन’ ले साथ दिन्छ । वालेसको मृत्यु भएको एक शताब्दीपछि पनि संसारमा रहस्यहरूको कमी छैन । प्रश्नहरू अनगिन्ती छन् । र, हरेक आममानिस आफ्नो सानो रहस्यलाई संसार मानेर कुदिरहेकै छन् ।

स्नातकोत्तर पढ्दा म एक साँझ क्याम्ब्रिज विश्वविद्यालयको संग्रहालयमा तिनै वालेसले उतिबेला इन्डोनेसियामा संकलन गरेको वनस्पतिको नमुनाहरू हेर्न पुगेको थिएँ । त्यसबेला हाम्रो विश्वविद्यालयमा उनिउँ (फर्न) को एउटा नयाँ प्रजाति वालेसले उतिबेलै संकलन गरेको हजारौं नमुनाको भरमा पत्ता लागेको शोध प्रकाशित भएको चर्चा निकै चलेको थियो ।

वालेसले स्वर्णिम जवाफ दिएको शताब्दीपछि पनि मानिसहरूलाई यस्तै अनगिन्ती प्रश्नले छाडेको छैन ।

...

सोही यात्रामा वालेस लाइन पछ्याउँदै गत बसन्त–याममा म बालीपछि बोर्निओ द्वीपको उम्बो गाउँ पुगें । त्यो मेरा लागि दुर्लभ गन्तव्य थियो, जहाँ जीवनमा सायदै म कहिल्यै पुगुँला भन्ने सोचेको थिएँ । संसारकै तेस्रो ठूलो यस द्वीपलाई तीनवटा देशले भाग लगाएका छन्, जसको एक चौथाइ भाग मलेसिया र बाँकी अधिकांश इन्डोनेसिया हुनुका साथै करिब एक प्रतिशत हिस्सामा ब्रुनाईसमेत पर्छ । 

नेपालका चुरे र माथिल्लो पहाडमा दुलोभित्र कमिला–धमिरा खोतल्दै–खाँदै बस्ने स्तनधारी प्राणी सालकको अवस्था केलाउँदा केलाउँदै म इन्डोनेसियाली बोर्निओको कालिमान्थान क्षेत्रको यस गाउँमा पुगेको थिएँ । एसियामा पाइने चार प्रजातिका सालकमध्ये त्यहाँको ‘सुन्दा’ प्रजातिको सालक अहिले तस्करहरूको ठूलो निसानामा छ । नेपालमा त व्यस्त काठमाडौं नजिकका स्थानहरूमै पनि सालक अझै छन् । तर, उम्बोमा आधुनिकताको छाप दुर्लभ हुँदा पनि सालक संकटमा छन् । गाउँलेले सामान्य दैनिकी जसरी त्यसको सिकार गर्ने र तस्करहरूले त्यसको खपटा किन्न कुना कन्दरासम्मै पुग्ने चिन्ताजनक परिस्थितिको मूल्यांकन गर्नु म त्यहाँ पुग्नुको एक कारण थियो । 

तर, त्यो मेरो जीवनकै एक दुर्लभ अनुभव थियो । म त्यहाँ यसरी एक्लिएँ कि बेलाबखत आफैंलाई प्रश्न गर्थें– कतै म टाइम ट्राभलमा हिँडेको यात्री त होइन ? मलाई स्थानीय आदिवासी डायाकहरूसँग दोहोरो कुरा गर्न निक्कै मुस्किल थियो । त्यस भेगको एउटा सहर पोन्टियानकबाट मसँगै गएका मेरा मित्र मैले अंग्र्रेजीमा सोधेको प्रश्न स्थानीय दोभासेलाई सुनाउँथे । अनि उनी स्थानीय भाषामा सो कुरा त्यहाँका डायाकहरूलाई सुनाउँथे । मैले अध्ययनका क्रममा तीन तहको अनुवाद कहिल्यै गरेको थिइनँ । त्यसले मलाई त्यहाँ झन् उत्सुक बन्ने बहाना दिएको थियो । त्यहाँका रूखबिरुवा, मान्छे र पखेटा फैलाई उडिरहेका धनेश चरा हेर्दा मनमनै सोच्थें– करिब १७० वर्ष अगाडि यी जीवहरू कस्ता देखिन्थे होलान् ? तर, यी प्रश्न भने दोभासेलाई होइन, आफ्नै मनलाई थियो ।

त्यहाँको समुदाय र प्रकृति अझै आफ्नो चरम स्वरूपमै छ । कसावा त्यस ठाउँको मुख्य खानाका रूपमा रहेछ । कसावा दक्षिण अमेरिकाबाट गर्मी क्षेत्रमा संसारभर फैलिएको एक झाडीदार बुट्यान हो । तरकारीमा कसावाको मुन्टा, खाजामा उसिनेको कसावाको तरुल र साँझमा गफ गर्दै रम्न कसावाको तरुलबाटै बनेको निगारको झोल, जसलाई उनीहरू तुवाक भनेर खान्छन् ।

गाउँबीच एउटा चौर छ । साँझ परेपछि युवाहरू भलिबल खेल्न जम्मा हुने रहेछन् । म पनि उनीहरूसँग खेलमा सामेल हुने निर्णय गरेर मैदानमा उत्रिएँ र नमज्जासँगै थलिएँ पनि । सडक नपुगेको त्यहाँ बिजुलीबत्ती थिएन, फोनमा कसैको न चासो थियो न त्यसका लागि चाहिने नेटवर्क नै । ती आदिवासीहरू प्रायः खेतीपाती गर्दैनन् । उनीहरूले सिकार गर्न नसक्ने लगभग कुनै जनावर छैन । प्रकृतिको त्यो कठोर अवस्थाबीच अस्तित्वकै लागि उनीहरू शारीरिक रूपमा फुर्तिलो हुनुको विकल्प छैन ।

त्यहाँ राज्यको उपस्थिति शून्यप्रायः छ । आदिवासी र बाहिरका मानिसहरू खुलमखुला घरेलु बन्दुक बोकेर हिँड्ने दृश्य त्यहाँ असामान्य होइनन् । बाटोमा धेरै समूह हतियारसहित हिँडेको भेटिन्थे । उनीहरू केको खोजमा हिँडेका छन् ? अनुमान गर्न कठिन थिएन । मेरो सहायता र सुरक्षामा गएका साथीहरू मलाई उनीहरूको फोटो नखिच्न र सामान्य हाउभाउमै रहन सुझाउँथे । तर, मेरो मन र मस्तिष्क हजार सवालले उकुसमुकुस थिए ।

वन्यजन्तुका लागि त्यति क्रूर ठाउँमा बाटोमा देखिने एक अनौठो दृश्यले मेरो ध्यान तान्यो । अधिकांश घर, पसल र कार्यालय भवनहरूमा धनेस चराका आकृतिहरू राखिएको थियो । त्यो पनि मूल गेट वा धुरीमै । कुनै–कुनै त धेरै मिहिनेत र लगानी गरेर बनाइएका जस्ता देखिन्थे । कुनै पनि जनावर मारेर खान नछाड्ने ठाउँका मानिसमा किन एक पक्षीप्रति त्यति धेरै लगाव ?

डायाक आदिवासीहरू धनेश चरालाई प्रेम, साहस, पवित्रताको प्रतीक र आफ्नो पुर्खासँग संवाद गर्ने माध्यमका रूपमा लिँदा रहेछन् । मानिसले के कुरालाई मूल्य दिन्छ ? केलाई बेवास्ता गर्छ ? यसको अन्तर निकै मसिनो हुन्छ । तर, त्यसको आधार खोट्याउन कठिन भए पनि विश्वासले हामी सबै मानिसलाई अचम्मको शक्ति दिइराखेको हुन्छ । किन एउटै जंगलमा हुर्कने कुनै चरा मान्छेलाई भगवान्को स्वरूपमा पवित्र हुन्छ त कुनै चरा भान्साका लागि सिकार ? 

अरू नै केही कुराको जवाफ खोज्न हिँडेको मलाई त्यसबेला कसैले नसोधेको प्रश्नले खल्बलाइरहेको थियो । मेरो मन बिथोल्ने विषयहरू जंगलबीचको त्यो सानो बस्तीमा निकै कम थिए । त्यसैले प्रकृति र स्वयंसँग मेरो संवाद ज्यादा भइरहेको हुन्थ्यो । 

त्यहीं जंगलमा हिँडिरहँदा मेरा स्थानीय सहयात्रीले एक फल चखाए । त्यो फलको स्वाद लिचीजस्तै थियो, तर बास्ना भने फरक । उनले उक्त फलको बोक्रा मलाई देखाए । त्यो सालकको खपटाजस्तो देखिन्थ्यो । संयोग कस्तो भने त्यसको नाम नै सालक रहेछ त्यहाँको भाषामा । इन्डोनेसियाली भाषामा संस्कृतको प्रभाव छ । र, हामीले भन्ने ‘सालक’ संस्कृत शब्द ‘शल्लक’ बाट उत्पत्ति भएको रहेछ । कतै त्यो सम्बन्ध त्यही इन्डोनेसियातिर त जोडिएको होइन ?

...

प्रकृति विज्ञानमा तथ्यको लेखाजोखा गरी निकालिने निष्कर्षको आयु निकै लामो हुन्छ । कुन जनावर कहाँ बस्छ ? आनीबानी, प्रजनन प्रक्रिया कस्तो ? आयु कति हुन्छ ? के खान्छ ? यस्ता तथ्य सितिमिति फेरिँदैन । जस्तै, वालेसले स्थापित गरेका तथ्य र व्याख्याहरू पृथ्वीमा अर्को ठूलो उथलपुथल नहुँदासम्म वा नयाँ वैज्ञानिक तर्क प्रस्तुत नहुँदासम्म फेरिनेवाला छैन । तर, मानिस र प्रकृतिबीचको सम्बन्ध भने ठाउँपिच्छे फरक र तीव्र गतिमा परिवर्तनशील छ ।

भूमध्यरेखाको आसपासमा बस्ने उम्बोका आदिवासीहरू नेपाली राउटेको झल्को दिने खालका छन् । सन् १९५० को दशकमा त्यहाँ ठूलो महामारी आएपछि उनीहरू अन्यत्र सरे । सन् १९८० को दशकमा आफ्नो थातथलोमै फर्कन खोज्दा त्यो प्रकृति संरक्षण क्षेत्र बनिसकेको थियो र त्यसभित्र उनीहरूलाई जान रोकियो । तर, उनीहरू त्यसको छेउमै बस्ने निधो गरे र नयाँ उम्बो गाउँ बन्यो । अब नचाहेरै पनि उनीहरूले केही खेतीपाती गर्न सिक्नैपर्ने भयो । जर्काता, सुमात्राजस्ता ठाउँबाट बसाइँसराइ गरी त्यहाँ आउन खोज्नेका लागि सरकारले निःशुल्क जग्गा दिने नियम ल्याएसँगै मिश्रित समुदायबाट धेरै सीप हस्तान्तरण हुने आशा गरिएको छ । जैविक विविधता संरक्षणका लागि काम गर्ने ‘प्लानेट इन्डोनेसिया’ जस्ता संस्थाले उनीहरूको खेती सीप विकास गर्दै सिकारमा प्रयोग हुने बन्दुक किनिदिने योजना ल्याएका छन् । सयौं घरधुरीले आफूसँग भएको बन्दुक पैसा लिएर सरकारलाई बुझाइसकेका पनि छन् । तर, मान्छेको सोच र आनीबानी बदल्ने विषय त्यति सहज कहाँ हुन्छ र ?

...

नेपालमा पनि लोम्बोक स्ट्रेटको वालेस लाइनकै झल्को आउने गरी पहाडहरू बीच गहिरो–गहिरो खोंचहरू बनेका छन् । यी पहाडका चुचुराहरू र गहिरा खोंचहरू छिचोल्न नसकेका कति प्रजातिहरूले स्थानीय वातावरण अनुकूल आफ्नै स्वरूप विकास गरेका पनि हुन सक्छन् । जस्तै, कालीगण्डकी खोंचले नेपालका पूर्वी र पश्चिमी हिमालयमा पाइने प्रजातिहरू भनेर छुट्याएको छ । पूर्वतिर अन्नपूर्ण र पश्चिमतिर धवलागिरि रहने गरी छुट्टिएको यस खोंच वारपार धेरै वनस्पति एकै तवरमा विस्तार हुन सकेका छैनन् । नेपालको गहिरोमध्येको 

उक्त खोंच वारपारका जंगल नै अर्कै देखिन्छन् । मनाङतिर 

रूख हुर्कने क्षेत्र मुस्ताङको तुलनामा माथिल्लो भेगसम्मै छ । पूर्वका क्षेत्रमा हरिया जंगल पाइन्छन् भने पश्चिमपट्टि केही फुस्रा छन् ।

जसरी लामो समय अन्य क्षेत्रका मानिससँग घुलमिल नभई एउटा समुदायमा बोलीचालीकै प्रक्रियाबाट नयाँ भाषा अनि लवज बनेका हुन्छन्, त्यसरी नै प्रजातिहरूको निश्चित स्वरूप र आनीबानी बदलिँदै जान्छ । इन्डोनेसियामा ७०० भन्दा बढी भाषाहरू बोलिन्छन् । त्यति धेरै भाषा विकास हुनुमा एक टापुबाट अर्को टापुमा आवतजावत र कुराकानी ज्यादै कम हुने भएकाले सम्भव भएको हो । तुलनात्मक सानो मुलुक नेपालमा १०० भन्दा धेरै भाषा विकास भएका छन् । नेपालका कुना कन्दराले सयौं‌ भाषा उमारेजसरी लाखौं वर्षमा धेरै जीवका प्रजाति र उपप्रजातिले आफ्नो विकास गरेको हुनुपर्छ । भाषा र प्रजातिहरूको विकास तुलना गर्न मिल्ने कुरा होइन, तर सजिलोसँग बुझ्नका लागी एक बिम्ब भने अवश्य हो ।

...

बोर्निओको उम्बो द्वीपका जंगलमा फुर्सद पाउनासाथ मेरा मनमा दिनहुँ लम्बे मनोवाद चलिरहे । एकफेर लाग्थ्यो– कहिलेकाहीँ संसार अज्ञानतामै सुन्दर छ, जहाँ एउटै जवाफ अन्तिम भइदिन्छ । तर, यथार्थबाट लुकेर पाइने चैन मिथ्या हो । एउटा तथ्यको जवाफ भेटिँदा त्यससँगै अनगिन्ती नयाँ प्रश्न जोडिनु संसारको रित हो र संसार प्रगतिशील हुनुको एउटै सूत्र त्यही हो । कि त त्यही जटिलताको तथ्यलाई सुन्दर काव्यिक बिम्ब मानेर मुस्कुराउँदा पनि भयो ।

फेरि वालेस लाइनमै फर्कौं । सदियौंदेखि त्यस काल्पनिक रेखा आसपासका जीवजन्तु र वनस्पति आपसमा अन्तरर्क्रिया हुन सकेनन् र मौलिक वातावरण अनुकूल नै तिनले आफ्नो स्वरूप र पहिचान बनाए । डार्बिन र वालेसले विकास गरेको ‘नेचुरल सेलेक्सन’ को सार त्यही हो । 

यही एक–डेढ शताब्दीबीचमा मानिसको उत्पत्ति ईश्वरको सिर्जनाबाट नभई जीवका रूपमा परिस्कृत हुँदै आएको तथ्यमा बदलियो । संसारलाई मानव विकासक्रम र प्रजातिहरूको उत्पत्तिबारे बलियो प्रमाण पेस गरेको कालिमान्तानको उम्बोजस्ता बस्ती आफ्नै सामाजिक र आर्थिक विकासक्रममा कसरी छुट्यो ?

...

हिन्दकुश हिमालयबाट धेरै परको बाली टापु सम्भवतः हिन्दुधर्म विस्तार भएको दक्षिणी भेग मान्न सकिन्छ । तर, धर्म जति पर पुग्यो त्यति फेरिएको छ । त्यहाँका हिन्दुमा सामाजिक–धार्मिक हिसाबले संगुरको मासु वर्जित छैन । मसलामा मोलेको सुंगुरको मासुलाई सेकुवा जसरी झिरमा उनेर तातो तावामा सेकाएर बनाइने बालीनिज पोर्क सटेय त्यहाँ पुग्ने पर्यटकमाझ निक्कै लोकप्रिय छ । मुस्लिमबहुल इन्डोनेसियामा करिब दुई प्रतिशत हिन्दु छन् । बालीमा भने अधिकांश हिन्दु छन् । त्यहाँ कतैकतै पाटन र भक्तपुरका साघुरा गल्लीको झल्को दिने बसोबास शैली भए पनि मन्दिरहरूको आकृति दक्षिण एसियाका हिन्दु धार्मिकस्थल जस्तो छैन । कसरी कोसौ परको त्यो एक्लो ठाउँमा दुर्लभ धार्मिक जमघट भयो ?

हुन त प्रकृतिमा ठूलो परिवर्तन देख्न हजारौं–लाखौं वर्ष लाग्ने भए पनि मानिसको स्वभाव, बसाइँसराइसँगै देखिने सांस्कृतिक परिवर्तनको झल्को छिटोछिटो देख्न पाइन्छ । व्यापक रूपमा मिश्रित बनिरहेको संसारमा अहिले मानिसहरू विगतमा कहिल्यै नभएको स्तरमा बसाइँसराइ गरिरहेका छन् । अबका वर्ष, दशक र शताब्दीसँगै संस्कृति र संस्कारमा कस्तो परिवर्तन देखिएला ?

विभिन्न प्रजातिका भविष्य प्राकृतिक सीमाले सीमित गर्न सक्ने अवस्था अब छैन । वालेस लाइनले दुई संसारलाई अझै व्यावहारिक रूपमा अलग्गै राख्न सक्छ ? कम्तीमा अब सम्भव छैन । अस्ट्रेलियामा मासुका लागि पूर्वी एसियाबाट वालेस लाइन कटाएर भित्र्याइएका ‘वाटर बफलो’ ले अहिले त्यहाँको मिचाहा जीवको स्वरूप नै लिएको छ । अहिले उक्त जीवको संसारमै सबैभन्दा बढी संख्या उत्तरी अस्ट्रेलियामै छ ।

आजभोलि तपाईं अस्ट्रेलिया पुग्नुस् वा न्युजिल्यान्ड वा आफ्नो जैविक पहिचानको संरक्षणमा संवेदनशील अन्य कुनै देश, त्यहाँ तपाईंका लगेजसहित जुत्तामुनिका माटोसम्म जाँचिन्छन् । धेरैलाई नेपालबाट लगेको अचार, तरकारी फाल्नुपर्दा वा जरिवाना तिर्नुपर्दा दुःख लागेको हुन सक्छ । हजारौं कोस परका वनस्पति आएर मिचाहा स्वरूप लेलान् कि भनेर उनीहरूले सचेतना र शून्य सहनशीलता अपनाइरहेका हुन्छन् ।

कतैको हावापानीमा रैथाने हुने वनस्पति र जनावर अर्को ठाउँमा पुग्दा मिचाहा बनिदिन सक्छन् र त्यहाँ आफू अनुकूलका परिस्थिति तयार पार्छन् । नेपालमै पनि संसारका विभिन्न कुनाबाट आइपुगेका मिचाहा प्रजातिहरूको प्रकोप निक्कै ठूलो छ । विभिन्नथरीका वनमारा, जलकुम्भी, काँडे झार, कुरो झारहरूले अन्य वनस्पति र वन्यजन्तुको बासस्थान र आहारमा समस्या पारको छ । बालीनाली तथा पशुचरणका खर्कहरूमा समेत असरहरू देखिन थालेका छन् । एक्वारियममा पाल्न भित्र्याइएको माछा र कछुवा प्रजाति खोलामा भेटिएको अध्ययनहरू सार्वजनिक भएका छन् । समयमै नियन्त्रण नगरे यसले रैथाने जलीय जीवलाई संकट पार्ने निश्चित छ नै । त्यसले आफ्नो नयाँ बासस्थानको संसारै फेरिदिन सक्छ ।

...

बालीको समुद्री तटमा टहलिइरहँदा मेरो खुट्टा घिस्रिने बालुवा अन्यत्रका समुद्री किनारका जस्ता थिएनन् । ती निकै काला थिए । त्यो बलौटे कण मध्यएसियादेखि लामो समयक्रममा त्यहाँ पुगेका हुन सक्छन् ।

पृथ्वीको स्वरूप सधैं यस्तो थिएन । बाली र लोम्बोक पनि ३५ किलोमिटरको दूरीमा सधैं थिएनन् । हजारौं–लाखौं वर्षअघि लोम्बोक अस्ट्रेलियासँग र बाली एसियासँग जोडिएको थियो । पृथ्वीको सतहमुनि कैयौं ठूला–साना प्लेटहरू छन् । ती आफ्नै गतिमा चलिरहँदा पृथ्वीले आफूभित्रको स्वरूप फेरिरहेको हुन्छ । इन्डियन प्लेट र तिब्बतीयन प्लेटको घर्षण हुँदा हाम्रा हिमाल बने । आपसमा रहेका तिब्बतीयन प्लेटको घनत्व इन्डियन प्लेटभन्दा बढ्ता हुँदा इन्डियन प्लेट धसिन्छन् र ज्वालामुखिको माध्यमबाट दक्षिणी गोलार्धतर्फका कमजोर भाग हुने समुद्रमा निकास हुँदै ससाना टापु बन्छन् । इन्डोनेसियामा धेरै ज्वालामुखी विस्फोटन भइरहने र त्यहाँ धेरै टापुहरू हुने एउटा मुख्य कारण त्यही हो । 

...

संसार विज्ञानले मात्र चलाएको छैन । अन्धविश्वास र परम्परागत विधि संसारमा उत्तिकै मानिसहरूको मनमा छ । सन् २०२३ को एउटा अनुमानित विवरणमा १७० अर्ब अमेरिकी डलरभन्दा बढीको अन्तर्राष्ट्रिय बजार परम्परागत औषधिको रहेको कोहेरेन्ट मार्केट इन्साइट्सले आँकडा निकालेको थियो । त्यो बर्सेनि बढ्दो क्रममा रहेको उसले जनाएको थियो । 

परम्परागत तिब्बती औषधिमा मात्रै हजारौं वनस्पतिका प्रजाति र सयौं जंगली र घरपालुवा जनावर प्रयोग हुने गरेका पाइन्छन् । संसारभर हुने अधिकतम कडाइबीच पनि चीन र उसको सांस्कृतिक प्रभाव भएका ठाउँमा ती पुगिरहेका हुन्छन् । बैठक कक्ष वा सयनकक्षमा जंगली जनावरका शिर वा अन्य अंग राखेर विभिन्न अन्धविश्वासको आनन्द लिने अर्को प्रवृत्ति समेत संसारमा भित्रभित्रै फैलिरहेको छ । 

केही समयअघि हङकङ पुग्दा मैले त्यहाँ नेपालबाट समेत गैरकानुनी सिकार र तस्करी गर्दै पुर्‍याइएका बग्रेल्ती वन्यजन्तुको अंगहरूको खुलमखुला बिक्री देखें । यो भयावह चित्रको बजार हामीले देख्नेभन्दा निकै ठूलो छ । पश्चिमी कालीमान्तानकै मुख्य सहरको बीचमा संरक्षण संस्था वाक गटकले तस्करहरूले विभिन्न मुलुक लैजान जम्मा पारिएका जिउँदा चराहरूको पक्राउपछि उद्धार र पुनःस्थापना केन्द्र सञ्चालनमा छ । त्यहाँ भएका हजारौं चराले बताउँछन् कि आदिवासीका स्थानीय मागका लागि मात्र कालीमान्तानमा वन्यजन्तुको सिकार भएका छैनन् ।

परम्परागत ओखतिमूलोलाई विश्व स्वास्थ्य संगठनले पनि पूर्णतः नकारेको छैन । तर, धेरै हकमा लामो समयदेखि मानिसमा गडेको अन्धविश्वास चिर्ने काम त्यति सहज छैन । संसारमा त्यसैले अब दुर्लभ वन्यजन्तुहरूको व्यापारिक प्रयोजनका लागि नियन्त्रित प्रजनन गराउने होड सुरु भएको पाइन्छ । मानवजातिले प्राकृतिक बाटो छाडिरहेको यस्तो रफ्तारले कहाँ पुर्‍याउला भन्ने जवाफ कसैसँग छैन ।

पृथ्वीको आयुको तुलनामा आधुनिक मानिस होमो सेपियन्स प्रजातिको उत्पत्ति भएको धेरै समय भएको छैन । वैज्ञानिक खोजहरूले करिब ३ लाख वर्ष अगाडिका मात्र प्रमाणहरू भेटेका छन् । यो छोटो समयमा मान्छेको संख्याजसरी तीव्र गतिमा कुनै प्रजातिको विस्तार भएको छैन । पृथ्वी मान्छेका लागि निक्कै उर्वर ठाउँ भएको छ । किनकि, मान्छेले अन्य धेरै प्रजातिलाई नियन्त्रणमा राख्न सक्ने ज्ञान र सीप विकास गरेको छ । कहिलेकाहीं त लाग्छ, जुनै जनावर र वनस्पति मरे पनि मान्छे नै भएर जन्मन्छन् । यसरी हेर्दा संसारको प्रमुख मिचाहा प्रजाति त मान्छे नै पो हो ।

इतिहासमा मानिसका कैयौं अप्राकृतिक व्यवहारले महामारी निम्त्याएका छन् । धेरै प्रजातिको अस्तित्व मेटिएको छ । स्वर्गजस्ता सुन्दर ठाउँ कुरूप बनेका छन् । मानिसलाई आफैंप्रति प्रश्न गर्न बाध्य पारेका छन् । जबजब संसारमा मान्छेको नियन्त्रण क्षमता बाहिरका संकट आउँछ तब मानवजातिले स्वयंलाई कैयौं प्रश्न सोध्ने गरेको छ । र, फेरि छिट्टै सबै सत्यतथ्य बिर्सन्छ पनि । उसले पृथ्वी सबैको भन्ने विषय पनि स्वीकार गरे जस्तै लाग्दैन । तर, हरेक प्रश्नको उत्तर आफूले चाहेको बेला वा चाहँदैमा भेटिँदैन र आफ्नो अनुकूल नै हुन्छ भन्ने पनि छैन । 

वालेसकै शब्दमा भन्नुपर्दा सत्य यो संसारमा पीडा र दुःख कष्टका साथ मात्रै जन्मिन्छ । र, हरेक नयाँ सत्य अनिच्छासाथ स्वीकार गरिन्छ । संसारले कुनै नयाँ सत्य वा पुरानो सत्यलाई पनि सजिलै स्वीकार गर्ने अपेक्षा गर्नु भनेको चमत्कार खोज्नु जस्तै हो, जुन कहिल्यै हुँदैन ।

(लेखक वातावरण संरक्षण अनुसन्धानदाता हुन्)

कुमार पौडेल लेखक वातावरण संरक्षण अनुसन्धानदाता हुन् ।

Link copied successfully