सल्यान — जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राती गएको भूकम्पले घर भत्किएपछि दार्मा गाउँपालिका-२ लिरापाजाका २३ वर्षिय टेकबहादुर केसीका पाँच जनाको परिवार शुक्रबार रातीदेखि नै भत्किएको घर नजिकै त्रिपाल टाँगेर बस्दै आएका छन् ।
चिसोले गर्दा उनका तीन बच्चामा निमोनियाको समस्या देखिएको छ । उनकी श्रीमती वर्ष २२ की सीता केसीलाई रुघाखोकी र ज्वरोको समस्या देखिएको छ ।
दार्मा गाउँपालिका-५ लिरेडाँडाकी बर्ष १९ की विन्दु खड्का सुत्केरी भएको जम्मा १९ दिन भयो । लगातार शुक्रबार रातीदेखि त्रिपालमुनि बस्नुपर्दा उनलाई पनि ज्वरो र रुघाखोकीको समस्या देखिएको छ भने उनकी सानी छोरीलाई समेत स्वाँ-स्वाँ बढेको छ ।
यस्तै भालुखोलाकी वर्ष २३ की तीन महिने सुत्केरी पुष्पा केसी पनि ज्वरोले थलिएकी छिन् । उनको तीन महिने बच्चालाई पनि ज्वरो आईरहेको छ भने स्वाँ- स्वाँ हुने को समस्या देखिएको छ ।
स्वास्थ्यकर्मीहरूकाअनुसार उनलाई निमोनियाको समस्या देखिन थालेको छ ।यी तीन मात्र नभई दार्मा गाउँपालिकामा ४ सय सुत्केरी, ४ सय ३७ बालबालिका रहेका छन् । अधिकांश सुत्केरीमा ज्वरोको समस्या देखिएको छ भने बालबालिकामा निमोनिया देखिएको छ । 
त्रिपालमा एक सातादेखि बास बस्दा चिसाले गर्दा आफ्ना घरका चार बालबालिकामा समेत ज्वरोको समस्या देखिएको बछेलाका वर्ष ५० का वीरबहादुर खड्काले बताए । ज्वरोले थलिएका सबैलाई स्वास्थ्यसंस्थामा लगेर उपचार गरिरहेको उनले जानकारी दिए । उनका अनुसार स्वास्थ्यसंस्थाका स्वास्थ्यकर्मीले दिएको जानकारीअनुसार दुई जनालाई निमोनियाले छोएको छ । घरमा १२ जना सदस्य रहेकामा सबै रुघाखोकी र ज्वरोबाट ग्रसित छन । ‘भूकम्पले घर भत्किँदा भएका लत्ताकपडा घरमा पुरिएका छन् । भित्र पसेर निकाल्न सक्ने अवस्था छैन । गतिलो ओढने ओछयाउने छैन । त्रिपाल टाँगेपनि राती परेको शीतले ओढेको कपडा भिजेको हुन्छ । सम्बन्धित निकायले उपलध गराएको त्रिपाल, कम्मल प्रयाप्त छैन । 'त्रिपालका कुनाकुनाबाट हावा छिर्छ । जमिनबाट त्यत्रिकै चिसो आउँछ । चिसोका कारण बिहान उठने बेला हातखुटटाका जोर्नी पुरै दुख्छन् । चिसोले नै सबै विरामी भएका हुन्’ उनले भने । 
दार्मा गाउँपालिका ५ भालुखोलाकै ३ महिने सुत्केरी वर्ष २३ की पुष्पा केसीले त्रिपाल टाँगेर बस्नु पर्दा चिसोले तीन दिनदेखि लगातार टाउको दुख्ने मात्र नभई शरिर सुन्निन थालेको र बच्चालाई खोकीको समस्या देखिएको बताईन् । शरिर सुन्निएकाले कामकाज गर्न गाह्रो हुने गरेको उनले जानकारी गराईन् । ‘त्रिपाल टाँगेर के गर्नु हावा छिर्छ । चिसो त्यत्तिकै बढेको छ । २४ सै घन्टा आगो बाल्न सकिँदैन । के गर्नु कष्ट उठाउँदै बस्नु परेको छ’ उनले भनिन्,' ‘सम्बन्धित निकायले एक थान कम्मल र त्रिपाल दिएपनि त्यसले खासै राहत भएको छैन । बच्चालाई निमोनिया होला भन्ने डर लाग्न थालेको छ’ । भूकम्पका कारण त्रिपालमा बस्नुपर्दा आफु र बच्चाले स्याहार पाउन नसकेको र पौष्टिक खानपानमा पनि कठिनाई भएको उनको भनाई छ ।
भालुखोलाकै बर्ष २० की दुई महिने सुत्केरी नविना खड्काले आफनो बच्चामा पनि निमोनियाको समस्या देखिएको बताईन् । चिसोले गर्दा आफूलाई पनि विभिन्न किसिमको समस्या देखिएको उनले जानकारी गराईन् । उनले भनिन्, ‘बच्चा विरामी परेपछि रातभरी रुन्छ, सुत्दैन, नसुत्दा आफूलाई पनि समस्या देखिएको छ । विरामी परेको बच्चालाई स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार गराईरहेको छु तर ठिक भएको छैन’ ।
पालिका भरी एक वर्षमुनिका ४ सय सुत्केरी रहेका, ४ सय ३७ बालबालिका रहेकामा चिसोका कारण विरामी पर्दा तीन दिनमा स्वास्थ्यसंस्थामा अभिभावकले ७० भन्दा बढि बालबालिकालाई उपचराका लागि ल्याएकामा अधिकांशमा निमोनियाको समस्या देखिएको दार्मा गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । उनले सुत्केरी महिला लगायत अन्यमा रुघाखोकी र ज्वरोको समस्या देखिएको जानकारी गराए । उनका अनुसार वृद्धवृद्धामा दमको समस्या देखिएको छ । चिसोका कारण बालबालिकामा निमोनिया, सुत्केरी तथा गर्भवतीमा ज्वरोको समस्या देखिएपछि प्रदेस सरकारबाट औषधि माग गरेर सबैको उपचार गरिरहेको उनको भनाई छ ।
चिसोका कारण बालबालिकालाई निमुनिया र सुत्केरीलाई ज्वरो, रुघाखोकी तथा बृद्धबृद्धालाई दम जस्ता रोगबाट बचाउन विभिन्न निकायले उपलब्ध गराएको कम्मल ,त्रिपाल उपलब्ध गराईरहेको र पछिल्नो समयमा चिसोबाट बचाउनका लागि अस्थायी टहरा समेत निर्माण गर्न थालिएको दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए ।
रोगबाट ग्रसित भएका थप समस्यामा नपरुन भनि उनीहरुलाई विभिन्न किसिमका स्वास्थ्य सल्लाह दिदै आएको र विरामी परेका घरमा स्वास्थ्यकर्मी खटाएर उपचार गर्दै आएको उनले जानकारी गराए । उनले भुकम्पबाट पिडित भएका परिवारलाई खानपानका साथै बालबालिका र सुत्केरीको स्याहारमा ध्यान दिन आग्रह गरेका छन् ।
जिल्ला विपद व्यवस्थापन समितिको तथ्यांकअनुसार अहिलेसम्म जिल्लाका विभिन्न स्थानीयतहमा २ सय पूर्ण सहित १ हजार ९० घरमा क्षति भएको छ । दार्मा गाउँपालिकामा मात्र ९ सय बढीको घर बस्नै नमिल्ने गरी क्षति भएको छ । जसका कारण दार्मामा मात्र २ हजार ४ सय विस्थापित भएका छन् । विस्थापित भएका सबै त्रिपाल टाँगेर बस्न बाध्य छन् ।
