सल्यान (दार्मा) — जिल्लाको दार्मा गाउँपालिका-२ लिरापाजाका उदयराम खत्रीलाई आफ्नै घर पराई जस्तै बनेको छ । घरभित्र जाउ भत्किएला भन्ने डर, नजाउ अन्नपातदेखि लत्ताकपडा भित्रै छन् । घरपरिवारलाई के खुवाउने भन्ने उनको पिरलो छ ।
गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि खत्रीको ५ जनाको परिवार खुला आकाशमुनि दिनरात कटाउन बाध्य छ । 'राति भए पनि कसरी बाँचियो थाहा छैन, अहिले रात कसरी कटाउने भनेर चिन्ता छ,' उनले भने साना छोराछोरी छन् । बाहिर सुतिरहेका छौं, छोराछोरीले जाडो भयो । घरभित्र जाऔं भन्छ्न् । घर भत्किन्छ कि भन्ने डरले त्रिपालमुनि रात काट्न बाध्य छौं ।'
घर भत्किएको तीन दिन भइसक्दासमेत एक त्रिपालबाहेक केही नपाएको उनको गुनासो छ । घरभित्र अन्नपात भए पनि केही अन्नपात परिएको र नपुरिएको पनि निकाल्न नसेको पीडितको भनाइ छ ।
खत्रीजस्तै टेकबहादुर केसीको परिवार पनि शनिबारदेखि खुला आकाशमुनि बस्दै आइरहेका छन् । ५ लाख ऋण कारेर २ वर्ष पहिले बनाएको घर भूकम्पले पुरै भत्काएपछि उनी अहिले घरबारविहीन भएका छन् । पुरानो ऋण तिर्न नपाउँदै भूकम्पले घर पूर्णरूपमा भत्काइ दिएपछि त्रिपालमुनि बस्नु परिरहेको उनको भनाइ छ । उनले भने, ‘अब साना छोराछोरीलाई खुवाउने पैसा खोजौं कि ऋण तिर्ने पैसा खोज्नु ।’
यस्तै लिला खत्रीका तीनवटै घर भूकम्पले भत्काइदिएको छ । भएका घरहरु भूकम्पबाट भत्काएपछि उनको परिवार पनि खुला आकाशमा रात काट्दै आइरहेको छ ।
'चिसो सिजनमा खुला आकाशमा रात काट्नुको पीडा अरु के होला र !', उनले भनिन्, 'त्यो भन्दा अब अन्नपात पुरिएपछि अब के खाने भन्ने चिन्ताले सताउन थालेको छ ।'
दार्माका चार सयभन्दा बढी घरपरिवार शनिबारदेखि खुला आकाशमुनि बस्न बाध्य छ्न् । भौतिक क्षति जाजरकोट र रुकुम पश्चिमबराबर नै भएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए । दार्माका १, २, ५ र ६ वडामा बढी क्षति भएको उनले जानकारी गराए । उनका अनुसार मानवीय क्षति नभए पनि धेरै भौतिक क्षति भएको छ ।
भौतिक क्षतिको विवरण जाजरकोट र रुकुममात्र आउँदा दार्मा देशभर ओझेलमा परेको छ । भूकम्प गएको ४ दिन भइसक्दा समेत रेडक्रसबाहेक कुनै पनि निकायबाट सहयोग नपाएको गुनासो गरे । पीडितको घरमा गएर सान्त्वना दिने काममात्र भइरहेको उनले बताए ।
कर्णाली प्रदेशले दार्माका लागि आवश्यक राहत सामग्री पठाइसकेको जनाएको छ । सुर्खेतबाट पठाएको राहत सामग्री मंगलबार राति दार्मा पालिकामा पुगिसकेको र नेपालगन्जबाट पनि आजै सामान पुग्ने कर्णाली प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिए ।
