सुर्खेतमा खोप अभियान स्थगित

पुस ५, २०७८

चाँदनी कठायत

सुर्खेत — सुर्खेतमा पुस १३ गतेदेखि सञ्चालन गर्ने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लागाइने फाइजर खोपको कार्यतालिका केही दिनका लागि स्थगित भएको हो ।

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेका अनुसार अभियानको मिति तय भएपछि पुन: सूचना सार्वजनिक गरिनेछ । तर स्वास्थ्यकर्मीहरूको तालिम पूर्वसूचना अनुसार नै हुनेछ ।

कर्णालीका अन्य ९ जिल्लामा भने बालबालिकाका लागि मोडर्ना खोप अभियान सञ्चालन भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ ।

कर्णालीका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा आजदेखि मोर्डना खोपको पहिलो मात्रा दिन थालिएको हो । निर्देशनालयका सूचना अधिकारी पदम केसीले मोडर्ना खोपको पहिलो मात्रा आइतबारदेखि आगामी पुस १४ गते र दोस्रो मात्रा आगामी माघ २ देखि १० गतेसम्म लगाइने जानकारी दिए ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका नौ जिल्लाका एक लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ । सुर्खेतमा यही उमेर समूहका दुई हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धकै ‘फाइजर’ खोपको पहिलो मात्रा दिइएको छ ।

कोरोना भाइरस

चाँदनी

Link copied successfully