कोरोना संक्रमणबाट एकको मृत्यु, श्रीनगर बजार सिल

कार्तिक २३, २०७७

विप्लव महर्जन

सल्यान — कोराना संक्रमणका कारण शारदा नगरपालिका–१ का ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको मृत्युलगत्तै श्रीनगर बजार सिल गरिएको छ ।

संक्रमितको दाङमा उपचारको क्रममा शनिबार मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन रिखाराम पुनका अनुसार मृत्यु भएपछि मात्र उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । अस्पतालमा मृत्यु भएका उनलाई घर ल्याएर हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको थियो । उनको दाहसंस्कारको क्रममा मलामी गएका धेरैमा कोरोना संक्रमण हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि श्रीनगर बजार सिल गरेको हो । 

थप संक्रमण फैलन नदिन एक साताका लागि बजारक्षेत्र सिल गरिएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । उनका अनुसार मलामी गएका सबैको स्वाब संकलन गर्ने तयारी गरिएको छ भने आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । 

कोरोना भाइरस

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully