कर्णालीको पहिलो संक्रमितको ३८ घण्टापछि उद्दार 

'जिल्ला अस्पतालका बिरामी त्रसित हुने डरले विद्यालयमा आइसोलेसन'

जेष्ठ ७, २०७७

ज्योति कटुवाल

दैलेख — कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमण दखिएका युवाको ३८ घण्टापछि उद्दार गरिएको छ । आठबीस नगरपालिका–१ का ३५ वर्षीय युवामा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । 

संक्रमण पुष्टि भएको ३८ घण्टासम्म उनलाई राखिएको लक्ष्मी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा सामाजिक दूरी कायम नहुँदा स्थानीय बासिन्दा त्रसित बनेका छन् । आठबीस नगरपालिकाले संक्रमित भेटिएको वडा नंं १ लाई पूर्णरुपमा सिल नगर्दा गाउँमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको स्थानीय नरेन्द्र विकले बताए । ‘स्थानीय सरकार र प्रहरी–प्रशासन फितलो बन्दा उनीसँगै क्वारेन्टाइनमा बसेकाहरुको गाउँमा आउजाउ बाक्लो छ,’ उनले भने, ‘उनीरुलाई देख्दा आफू भाग्नुपर्ने बाध्यता छ ।’ यो क्वारेन्टाइनमा ३८ जना छन् । 

स्थानीयका अनुसार संक्रमितसँगै क्वारेन्टाइनमा बसेकाले एउटै शौचालय प्रयोग गर्दै आइरहेका छन् भने आफन्तसँग भेटघाट पनि गरेका छन् । संक्रमण पुष्टि भएको ३८ घण्टा बित्दासमेत नगरपालिकाले कुनै निर्णय लिन नसकेको स्थानीय बासिन्दाको आरोप छ । 

१ नम्बर वडाका अध्यक्ष पर्वसिंह विश्वकर्माले पनि संक्रमितलाई आइसोलेसनमा नलैजाँदा स्थानीयबासी त्रसित बनेको बताए । ‘क्वारेन्टाइनमा बसेका व्यक्तिका कारण सिंगो बस्तीमा संक्रमण फैलने सम्भावना देखियो,’ उनले भने, ‘अहिलेसम्म संक्रमितसँग भेटघाट गरेका आफन्तको स्वाब संकलन भएको छैन ।’ 

संक्रमितलाई अहिले दैलेख सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालयको आइसोलेसनमा राखिएको छ । संक्रमित युवालाई सुर्खेतको प्रदेश अस्पतालमा स्थापना गरिएको कोरोना उपचार केन्द्रमा लैजान खोज्दा प्रदेश सरकारले असहयोग गरेको नगर उपप्रमुख दीपा बोहोराले बताइन् । ‘३८ घण्टापछि संक्रमितलाई उद्दारका नाममा एउटा विद्यालयमा लगेर राखिएको छ,’ उनले भनिन्, ‘सुविधासम्पन्न अस्पतालमा लिन सकिए उनको उपचार सहज हुन्थ्यो ।’ 

संक्रमित र क्वारेन्टाइनमा बसेकालाई सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए । उनले क्वारेन्टाइनमा बसेकाहरु आफैं सतर्क हुनुपर्ने बताए । स्वास्थ्य सेवा कार्यालयका प्रम्खु निरन्जन पन्तले जिल्ला अस्पतालमा बिरामी त्रसित हुने भएकाले विद्यालयमा आइसोलोसन बनाउनु परेको जनाए । उनका अनुसार संक्रमित राखिएको आइसोलेसनमा सबै सुविधा उपलव्ध छन् । 

कोरोना भाइरस

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully