गरिबीको मारमा सदा टोल, हैजाले थप पीडामा

सदा टोलको करिब ६ सय मिटर दक्षिण–पश्चिममा सदा समुदायकै अति विपन्न २७ परिवारको बसोबास रहेको छिमेकी टोलमा पनि कसैका घरमा शौचालय छैन । गरिबीको मार खेपिरहेको उक्त टोलमा यतिबेला झाडापखाला फैलिएको छ ।

कार्तिक २३, २०८२

विद्यानन्द राम

Villages are suffering from poverty, cholera is causing more suffering

What you should know

राजविराज — सप्तरीको छिन्नमस्ता–५ को सदा टोलका दुई बालबालिकासहित तीन जनाले झाडापखालाबाट ज्यान गुमाए । बस्तीमा पखालाले ग्रस्त बिरामी बढिरहेका छन् । सुरुमा ९ जनाको आरडीटी (र्‍यापिड डायग्नोस्टिक टेस्ट) र कल्चर परीक्षण गर्दा ५ जनामा हैजा पुष्टि भएको थियो । ९० परिवार रहेको यस बस्तीमा मात्र तीनवटा चापाकल छन् भने तीन टोलमा एउटै शौचालय छैन । 

सदा टोलको करिब ६ सय मिटर दक्षिण–पश्चिममा सदा समुदायकै अति विपन्न २७ परिवारको बसोबास रहेको छिमेकी टोलमा पनि कसैका घरमा शौचालय छैन । गरिबीको मार खेपिरहेको उक्त टोलमा यतिबेला झाडापखाला फैलिएको छ ।

मजदुरी गरी गुजारा चलाउँदै आएका उनीहरू बिरामी पर्दा उपचार गर्न सक्ने स्थितिमा छैनन् । पाँच वर्षअघि यही टोलकी ६२ वर्षीया समतोलियादेवी सदाको बायाँ हात चल्न छोड्यो । आर्थिक अभावमा तत्काल उपचार हुन सकेन । मजदुरी गर्न भारत पुगेका जेठो छोरा शंकर र कान्छो शिवनारायण घर फर्किएपछि समतोलियादेवीलाई डेढ महिनापछि गाउँकै क्लिनिकमा लगियो । सञ्चो नभएपछि भारत विहारको खरैया लगेर उपचार गर्दा दाजुभाइले कमाएको १७ हजार रुपैयाँ सकियो । 

तीन दिनसम्म काम नपाउँदा परिवारका सात सदस्यले जसोतसो छाक टारेको शिवनारायणले दुखेसो पोखे । पछि काम पाउन थालेपछि उनीहरूको दैनिकी त सहज भयो । तर, भएभरको पैसा खर्च गरेर उपचार गराएकी समतोलियादेवीलाई एक वर्ष नबित्दै पुनः त्यस्तै हुन थाल्यो ।

उनले त्रैमासिक पाइरहेको वृद्धभत्ता पनि औषधि र छाक टार्दै सकिने गरेको छ । अहिले उनको शरीरका बायाँ भाग नै चल्न छाडेको छ । समतोलियादेवी चार वर्षदेखि ओछ्यानमै थला परेकी छन् । ‘आमाको यो अवस्थाले कमाउन जानै सकेको छैन,’ शिवनारायण भने । 

अशिक्षा र आम्दानीको स्रोत नहुँदा सदा टोलका बासिन्दाको अवस्था सुधार हुन सकेको छैन । बस्तीका अधिकांश बालबालिका पनि विद्यालय जाँदैनन् । यो समुदायमा बालबालिकाको उमेर नपुग्दै बिहे गर्ने चलन छ । वडाध्यक्ष जयप्रकाश ठाकुरले सदा टोलका बासिन्दाले खानपिनमा बढी पैसा खर्च गरिरहेका कारण आर्थिक रूपले सबल हुन नसकेको बताए ।

‘दिनभरि मिहिनेतका साथ मजदुरी गर्छन् अनि साँझ परेपछि कमाएको सबै पैसा गलत खानपान (मदिरा) मै खर्च गर्ने प्रवृत्ति व्याप्त छ,’ उनले भने, ‘अभिभावकले त्यसो गरिरहँदा बालबच्चाले पनि देखासिकी गर्छन् ।’ चाहेर पनि उनीहरूको व्यवहार परिवर्तन गर्न कठिन भइरहेको वडाध्यक्ष ठाकुरले बताए । ‘विद्यालय जान पनि रुचि राख्दैनन्, उमेर नपुग्दै विवाह गर्छन् र जिम्मेवारी थपिएपछि मजदुरी गर्न पञ्जाब र मुम्बईतिर जान्छन्’, उनले थपे । 

पोखरी र खोलाको पानीमा हैजाका जीवाणु

सदा टोलका बासिन्दाले नुहाउने र भाँडा माझ्न प्रयोग गर्ने पोखरी र भलुवाही खोलाको पानीमा हैजाको जीवाणु भेटिएको छ । गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा गत बुधबार चापाकल, पोखरी र खोलाको पानीको नमुना परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर पठाएको थियो ।

शनिबार रिपोर्ट आउँदा पोखरी र भलुवाही खोलाको पानीमा हैजाको जीवाणु भेटिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब दीपेन्द्रप्रसाद यादवले बताए । ‘पोखरी र खोलामा भाँडा नमाझ्न र कुनै पनि किसिमले त्यहाँको पानी प्रयोग नगर्न स्थानीयलाई सचेत गराइरहेका छौं,’ उनले भने, ‘त्यस कार्यमा अन्य संघसंस्थाबाट खटिएका २० जना स्वयंसेवकले पनि सघाइरहेका छन् ।’ उनका अनुसार पखाला लागेका बिरामीहरूको अवस्था सामान्य छ भने स्थिति नियन्त्रणमा रहेको छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully