काठमाडौँ — मुस्ताङस्थित याक डोनाल्ड्सका सञ्चालक लक्ष्मी गुरुङले सडक पूर्वाधारको पहुँचले पर्यटनका पक्षहरुमा परिवर्तन भइरहेको बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपले पोखरामा आयोजित ‘गन्तव्य गण्डकी’ कार्यक्रमको दोस्रो सत्र ‘साहसिक यात्रा, स्वप्निल गन्तव्य’ मा बोल्दै उनले ट्रेकिङमा मात्रै सिमित पर्यटनमा परिवर्तन आइरहेको बताइन् ।
‘सडक पूर्वाधारको पहुँचले गर्दा पर्यटनको पक्ष पनि परिवर्तन भइरहेको छ, पहिला ट्रेकिङ मात्रै थियो, कम पर्यटक आउथे,’ उनले भनिन्, ‘अहिले बस नै आउँछ, बाइक र साइकलमार्फत पनि पर्यटक आउँछन् भने ट्रेकर पनि आउँछन् ।’ हिमालपारिको जिल्ला मनाङ र मुस्ताङ अहिले सामूहिक पर्यटनदेखि तीर्थयात्रीसम्म आउने गरेको गुरुङले बताइन् ।
होटल उद्योगमा आन्तरिक र विदेशी पर्यटक नभन्ने भदै उनले आउने जति सबैलाई ठाउँ दिइरहेको उनले सुनाइन् । ‘पैसाका लागि विदेशीलाई नदिने, नेपालीलाई दिने वा नेपालीलाई नदिने विदेशीलाई दिने भन्ने हुँदैन्,’ उनले भनिन्, ‘बुकिङअनुसार ठाउँ पाइने हो, अनलाइन बुकिङ हुन्छ ।’
नेपालीहरू रमाइलोका लागि आउने र हल्ला गर्नुपर्ने तर विदेशीहरू प्रकृतिप्रेमी र शान्त वातावरण मन पराउने भएकाले मनाङ/मुस्ताङका होटल व्यवसायीहरूलाई पनि चुनौती रहेको उनले बताइन् ।‘फरक स्वभावका हुने भएकाले नेपाली र विदेशीलाई मिसाएर एकै ठाउँमा राख्न सकिँदैन,त्यसैले पैसाका कारण होटल नपाउने भन्ने होइन,’ उनले भनिन् ।
होटल व्यवसायीहरूले दिने गुणस्तरको मूल्य लिने भन्दै उनले पर्यटन क्षेत्रलाई महँगो, मध्यम र सस्तो भनेर वर्गीकरण गर्नुपर्ने समेत उनको भनाइ छ । ‘हामीले दिने सेवाअनुसार शुल्क लिनु पर्छ, महँगो, ठिक्कको र सस्तो भनेर वर्गीकरण गरेर मात्रै मूल्यांकन गर्न सकियो भने गन्तव्यको पैसा आउँछ,’ उनले भनिन्, ‘हामीले ठाउँको प्रवर्द्धन गर्दा सस्तो भनेर गरेका हुन्छौँ । त्यही सस्तो खोज्छन् । त्यही सस्तोले गर्दा कसैको चित्त बुझ्दैन । ’पर्यटकको आवश्यकताअनुसार गुणस्तरीय सेवा सुविधा दिने र त्यहीअनुसार पैसा लिनु पर्ने उनको भनाई छ ।
